‘वेष्टर्न ट्राभल मार्ट’ पश्चिम नेपाल चिनाउने प्रयास


‘वेष्टर्न ट्राभल मार्ट’ पश्चिम नेपाल चिनाउने प्रयास

नेपालगन्ज २३ फागुन : पश्चिम नेपालको पर्यटकीय क्षेत्रको ‘गेटवे’ का रुपमा परिचित नेपालगन्जमा पहिलो पटक ‘वेष्टर्न ट्राभल मार्ट’ हुन लागेको छ । प्रदेश स्तरीय पर्यटन व्यवसायीहरुको व्यवसायिक विकास, विस्तार र अन्तर्राष्ट्रिय स्रोत बजारका टुर अपरेटर एबम पर्यटन व्यवसायीसंग व्यवसायीक सम्बन्ध स्थापित गर्न उक्त वेष्टर्न ट्राभल मार्ट हुन लागेको हो ।

यही फागुन २६ देखी २८ गतेसम्म नेपालगन्जमा ‘वेष्टर्न ट्राभल मार्ट नेपाल नेपालगन्ज गेटवे अफ कर्णाली’आयोजना गरिदैँछ । उक्त मार्टको तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्थाले सोमबार पत्रकारसंगको भेटघाटमा बताएकोछ ।

कर्णाली र लुम्बिनी प्रदेशका पर्यटन गतिविधी तथा गन्तब्यको राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा प्रचार–प्रसार तथा प्रर्वद्धन गर्ने उद्धेश्यले नेपाल पर्यटन बोर्ड र नेपालगन्ज उपमहानगरपालिकाको मुल आयोजना, नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस (नाट्टा) बाँकेको आयोजना तथा पर्यटन प्रर्वद्धन मञ्च बाँके, हान बाँके, होटल ब्यवसायी संघ बाँके लगायत यस क्षेत्रका पर्यटन सम्बद्ध ब्यवसायीको सह‐आयोजनामा मार्ट गरिदैंछ ।

प्रदेश सरकारसँगको साझेदारीमा प्रत्येक प्रदेशमा प्रादेशिक ट्राभल मार्टको आयोजना गर्ने नेपाल पर्यटन बोर्डको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम अनुरुप यो मार्ट आयोजन गर्न लागिएको वेष्टर्न ट्राभल मार्ट नेपालका अध्यक्ष श्रीराम सिग्देलले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

उनका अनुसार यो ‘मार्ट’ नितान्त पर्यटन सम्बन्धी ब्यापार आदान‐प्रदान गर्ने मेला हो । मार्टमा पर्यटकीय गतिविधी सम्बन्धी स्टल राखिनुका साथै पर्यटन क्षेत्रसँग सम्बन्धित अतिथीलाई यस क्षेत्रको पर्यटकीय स्थलको अवलोकन गराइने तयारी गरिएको अध्यक्ष सिग्देलले बताए ।

यसका लागि भारतबाट करिव ३० जना पर्यटन अपरेटर, ब्यवसायी आउनेछन् । उक्त मार्टमा नेपाल र भारतका गरी कुल ३ सय बढी पर्यटन ब्यवसायी सहभागी हुने आयोजकले बताएकोछ ।

मार्टमा सहभागि हुनेलाई बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, रारा, शेफोक्सुण्डो लगायत पश्चिम नेपालका पर्यटकीय स्थलको प्लेन तथा हेलिकप्टरबाट भ्रमण गराइनेछ । भने कर्णालीमा र्याफ्टिङ र बर्दिया राष्ट्रिय निकुञ्जमा जङ्गल सफारि समेत गराइने अध्यक्ष सिग्देलले जानकारी दिए ।

वेष्टर्न ट्राभल मार्टमा सहभागि हुने अतिथीका लागि विमान कम्पनी, होटल ब्यवसायी, ट्राभल ब्यवसायी लगायतले विशेष प्याकेज अघि सारेको अध्यक्ष सिग्देलले बताए ।

नेपाल पर्यटन बोर्डका पर्यटन बजार ब्यवस्थापन तथा प्रवन्ध महाशाखाका प्रबन्धक गोविन्द ओलीले वेष्टर्न ट्राभल मार्टले पश्चिम क्षेत्रको पर्यटकीय स्थलको प्रचार–प्रसारमा टेवा पुर्याउने विश्वास ब्यक्त गरे ।

‘पश्चिम नेपालमा थुप्रै पर्यटकीय स्थल हुँदा हुदैपनि लाभ लिन नसकेको अवस्था छ, यो मार्ट सञ्चालनमा आएपछि यहाँको पर्यटकीय स्थलको प्रचार–प्रसारमा टेवा पुग्छ,’ उनले भने ‘भारतीय सिमावर्ती बजारका पर्यटकलाई पश्चिम नेपालका पर्यटकीय सम्पदासँग जोड्न मद्दत गर्छ । यसको निरन्तरताले भारतसंगै तेस्रो मुलुकमा यहाँको पर्यटनको प्रबद्धन हुन्छ ।’

पश्चिम नेपालममै पहिलो पटक नेपालगन्जमा हुन लागेको पर्यटन मार्टले यस क्षेत्रको सिंगो व्यवसाय, पर्यटकीय क्षेत्रको चर्चा हुने भएकोले यसलाई सफल गराउनमा यसक्षेत्रका सबैको बराबर दायित्व भएको वेष्टर्न ट्राभल मार्टका सदस्य एवम् वरिष्ठ पत्रकार झलक गैरेले बताए ।

‘यो नेपालगन्ज क्षेत्रबासीको साझा कार्यक्रम हो, यसलाई सफल बनाउने दायित्व हामी सबैको हो, यसको प्रचार‐प्रसारमा सबै सञ्चारकर्मीले साथ दिन जरुरी छ,’ उनले भने । उक्त मार्ट यसअघि गत मंसिर २८ देखी पुष १ गते सम्म गर्ने तय भएपनि कोभिड–१९ महामारीका कारण स्थगित भएको थियो ।

नेपालगन्जको सिद्धार्थ भ्यू होटलमा हुने वेष्र्टन मार्टको नेपालगन्ज स्थित पश्चिम नेपालको शक्तिपीठ बागेश्वरी मन्दिर दर्शनपश्चात झाँकीसहित नगरपरिकर्मा गरि सुरुवात गरिनेछ । ३ सय वटा स्टल राखिने उक्त मार्टमा स्टल बुकिङ खुल्ला समेत गरिएकोछ । प्रति स्टल १५ हजार रुपैयाँ तोकिएको छ । सो रकममा स्टल बुकिङ गर्ने ब्यवसायीलाई मार्ट आयोजकले ३ रात ४ दिनको विशेष प्याकेज समेत प्रदान गर्नेछ ।