बाँकेका ५ लाख बढिलाई हात्तिपाईले औषधि खुवाइने


बाँकेका ५ लाख बढिलाई हात्तिपाईले औषधि खुवाइने

नेपालगन्ज २३ फागुन : बाँकेका ५ लाख बढिलाई हात्तिपाईले रोग विरुद्धको औषधी खुवाइने भएकोछ । आगामी २८ फागुनदेखि १२ औं चरणको हात्तिपाईले रोग विरुद्धको औषधि खुवाउने अभियान अन्र्तगत बाँकेका कुल ५ लाख ६८ हजार ३९ जनालाई औषधि खुवाइने भएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार बाँकेसहित १० जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रम सञ्चालन गरिदैँछ ।

बाँकेको कोहलपुर नगरपालिकाका ८२ हजार २ सय ६९ जना, खजुरा गाउँपालिकाका ५९ हजार एक सय ९३ जना, जानकी गाउँपालिकाका ४३ हजार ९ सय २८ जना, डुडुवाका ४५ हजार ६ सय ७९ जना, नरैनापुरका ४२ हजार एक सय एक जना, नेपालगन्जका एक लाख ६१ हजार ७ सय ५ जना, बैजनाथ गाउँपालिकाका ६२ हजार ६ सय ७२ र राप्तीसोनारी गाउँपालिकाका ७० हजार ४ सय ९२ जना गरि कुल ५ लाख ६८ हजार ३९ जना नागरिकलाई हात्तिपाईले विरुद्धको औषधि खुवाइदैछ ।

स्वास्थ्य कार्यालय बाँकेले सोमबार नेपालगन्जमा आयोजना गरेको पत्रकारबीच अन्तरक्रियामा सो जानकारी गराइएको हो । स्वास्थ्य कार्यालयका प्रमुख धीरजंग शाहले यसपटकको अभियानमा पोको पारेर औषधि दिइनेछैन । स्वास्थ्यकर्मीको रोहबरमा औषधि खुवाइनेछ ।

Kids Festival 2022
kanti aarogya hospital

बाँकेमा हात्तिपाईले विरुद्धको औषधि अभियानको कभरेज धेरै देखिएपनि वास्तविक नागरिकले औषधि नखाँदा पटक–पटक जिल्ला फेल भएको तितो अनुभव सुनाउँदै स्वास्थ्य कार्यालय प्रमुख शाहले भने अब स्वास्थ्यकर्मीको अगाडी औषधि निलिसकेपछि मात्रै तथ्यांक रजिस्टरमा टिपोट गरिनेछ ।

बाँकेमा ११ औं चरणसम्म दुई थरीका औषधि खुवाइएको थियो । यद्यपी औषधिको कभरेजमात्र बढ्यो अवस्था ज्यूँका त्यूँ, पत्रकारहरुसंगको छलफलमा शाहले भने औषधि खानेले खाइरहने तर नखानेले खाँदै नखादाँ अभियान सफल हुन सकेन ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार यसपटक हात्तिपाइले विरुद्धको औषधिमा उचाईका आधारमा खुवाइनेछ । साथै तीन थरिका औषधि खुवाइनेछ । बाँकेले गरेको सर्वेक्षणमा लगातार पाँचौ पटकसम्म औषधि खानेको ४४ प्रतिशत मात्रै रहेकोछन् ।

स्वास्थ्य कार्यालय बाँकेकी हात्तिपाईले रोगकी फोकल पर्शन दुर्गा गौतमका अनुसार बाँकेमा सबैभन्दा बढि ८७ बैजनाथ गाउँपालिका र सबैभन्दा कम नेपालगन्ज उपमहानगरपालिकामा ४९ प्रतिशत औषधि कभरेज रहेकोछ ।
गौतमका अनुसार गत वर्ष बैजनाथमा ८७, कोहलपुरमा ८४, नरैनापुरमा ८३, खजुरामा ८२, जानकीमा ७७, राप्तीसोनारीमा ७१ र डुडुवा गाउँपालिकामा ७० प्रतिशत कभरेज रहेको थियो ।

हात्तीपाइले रोग निवारणका लागि बाँकेसहित ५ जिल्लामा तीन प्रकार र ५ जिल्लामा दुई प्रकारका औषधि खुवाउन लागिएको छ । तीन प्रकारका औषधि प्रयोग गरिने पाँच जिल्लामा बाँके, दाङ, कैलाली, कपिलबस्तु र मोरङ रहेका छन् ।

यसअघि प्रयोग भइरहेका औषधिहरु डाइथाइलकार्बामाजिन १०० एमजी र ४०० एमजीको अल्बेन्डाजोल हो । ५ जिल्लामा भने यो औषधिसँगै आइभरमेक्टिन नामक औषधि पनि थप गरिएको हो । आइभरमेक्टिन औषधि लुतोको उपचारमा पनि प्रयोग गरिन्छ ।

यस्तैगरी, दुई प्रकारका औषधि प्रयोग गरिने झापा, बारा, लमजुङ, पर्वत र बागलुङमा डाइथाइलकार्बामाजिन १०० एमजी औषधि दिइने छ । भने १० जिल्लामा करिब ६२ लाख ६३ हजार मानिसलाई औषधि दिइने छ ।

बाँकेमा हात्तिपाईले रोग विरुद्धको औषधि खुवाउने अभियान शुरु हुनु खघि सन् २००१ मा २०.८ प्रतिशत रोगी थिए । ११ औं चरणको औषधि अभियानसम्म पुग्दा ५.५ प्रतिशत हात्तिपाईले रोगका संक्रमित रहेकाछन् ।