नेपालगन्ज : बाँके जिल्ला पछिल्लो समय प्रदेशकै स्वास्थ्यको हब बन्दै गएको छरु। बाँकेमा एउटा सघीय अस्पतालसहित ५७ वटा सरकारी स्वास्थ्य संस्था रहेका छन् । तर, बाँकेमा रहेका वडामध्ये अहिले ३७ वटा वडा स्वास्थ्य संस्थाविहीन छन् ।
१८ वटा वडामा अहिले स्वास्थ्य संस्थाका लागि भौतिक संरचना निर्माण हुन थालेपनि १९ वटा वडा भने अझै पूर्ण रुपमै स्वास्थ्य संस्था विहीन रहेको जनस्वास्थ्य कार्यालय बाँकेका अधिकृत रामबहादुर चन्दले बताए । यी वडामा अझै पनि आधारभूत स्वास्थ्य सेवा पुगेको छैन ।
यहाँका धेरै नागरिक आधारभूत तहको निःशुल्क स्वास्थ्य सेवा पाउनबाटै वञ्चित छन । कोही आधारभूत उपचारमै महँगो सेवा लिन बाध्य छन । खर्च गरेर स्वास्थ्य उपचार लिन नसक्ने रोग पालेर बाँच्न बाध्य छन् । नेपालको संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक दिएको छ ।
स्वास्थ्यसम्बन्धी हकको धारा ३५ को उपधारा १, २ र ३ मा कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वन्चित नगरिने र प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने एवं स्वास्थ्य सेवामा समान पहुँचको हक हुने व्यवस्था छ । तर, नजिकमा स्वास्थ्य केन्द्र नहुँदा अझै पनि धेरै नागरिक आधारभूत तहको निःशुल्क स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएको स्थानीय बताउँछन् ।
प्रदेश ५ का १२ जिल्लामा ९ सय ८३ वडा रहेका छन् । जसमध्ये ३ सय २२ वडा स्वास्थ्य संस्थाविहीन छन । ३ सय ७१ वडामा स्वास्थ्य चौकी पुगेका छैनन् । सीमा क्षेत्रमा भारतीय नक्कली र झोले डाक्टरको पनि बिगबिगी छ । स्वास्थ्य संस्थाको आवश्यकता देखिएका वडामा चालु आर्थिक वर्षमा स्वास्थ्य केन्द्र निर्माण गर्ने योजना रहेको अधिकृत चन्द बताउँछन् ।
नागरिकलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य संस्था निर्माण योजना रहेको छ । तर, अहिलेसम्म सुरुआत भएको छैन । जिल्लागत रूपमा रूपन्देहीमा सबैभन्दा धेरै ४४ वटा स्वास्थ्य केन्द्र बन्दै छन् । दाङमा ३९, बर्दियामा २५, नवलपरासी पश्चिममा १९, बाँकेमा १८, अर्घाखाँचीमा १२, पाल्पामा ७, गुल्मीमा ६ र प्यूठान ५ वटा स्वास्थ्य केन्द्र निर्माण हुँदैछन् ।
स्थानीय तहको माग, जनसंख्या तथा मानव विकास सूचकांकका आधारमा भवन निर्माणका लागि स्थान छनोट गरिएको छरु। जनसंख्याका आधारमा दुईथरी भवन निर्माण गर्ने कार्ययोजना बनाएको छ । वडाको जनसंख्या ७ हजार वा त्यसभन्दा बढी भएमा प्रसूति सेवासहितको एकतले आधारभूत स्वास्थ्य केन्द्र निर्माण हुने शाखा अधिकृत चन्दले बताए । यसका लािग ७ हजारभन्दा कम जनसंख्या भएका वडामा अनुमानित ३८ लाख ८६ हजार रुपैयाँको लागतमा एकतले आधारभूत स्वास्थ्य केन्द्र निर्माण हुने उनी बताउँछन् ।