खजुराका स्थायी नागरिकलाई निःशुल्क ओपिडी सेवा दिन्छौं : अध्यक्ष थापा


खजुराका स्थायी नागरिकलाई निःशुल्क ओपिडी सेवा दिन्छौं : अध्यक्ष थापा

नेपालगन्ज २५ फागुन : सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराले खजुरा गाउँपालिकामा स्थायी बसोबास गर्ने नागरिकको लागी ओपिडी सेवा निःशुल्क गर्ने निर्णय गरेको छ ।

नवनियुक्त खजुरा क्यान्सर अस्पताल बिकास समितिको निर्णय अनुसार खजुरा गाउँपालिकाबासिको लागी ओपिडी सेवा निःशुल्क गर्ने निर्णय गरेको हो ।

बुधबार पदभार ग्रहण गर्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराका अध्यक्ष किशोर थापाले खजुराबासीको आर्थिक तथा अन्नदानबाट शुरु भएको अस्पतालको सेवामा खजुराबासीको हक भएको भन्दै ओपीडि सेवा निःशुल्क प्रदान गर्न पहिलो निर्णय गरेका अध्यक्ष थापाले बताए ।

पदभार ग्रहण गर्दै अध्यक्ष थापाले लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशको एकमात्र क्यान्सर अस्पतालको रुपमा रहेको यो अस्पताल चितवनपछिको नमुना अस्पताल निर्माणमा सबैको योगदान र सहयोग आवश्यक भएको बताए ।

अस्पतालको सेवा प्रवाहलाई निरन्तरता दिदैँ केही नयाँ गर्न सकिने सम्भावना र सेवाको लागि आफ्नो टिम तत्पर रहेको अध्यक्ष थापाले प्रतिबद्धता जनाए ।

नवनियुक्त अध्यक्ष थापाले क्यान्सर रोग उपचारको लागी चितवन, काठमाडौं तथा भारतका विभिन्न स्थान जानुपर्ने अवस्थाको अन्त्य गर्न खजुराबासीले क्यान्सर अस्पताल निर्माणमा पु¥याएको योगदानलाई अझैँ उचाईमा पु¥याउने अठोटका साथ अघि बढेको बताए ।

पदभार कार्यक्रममा स्वागत मन्तव्य राख्दै अस्पताल बिकास समितीका सदस्य शिव श्रेष्ठले प्रखर परोपकार मिसनको लागि छुट्टै कार्यालयको ब्यवस्था र केही बजेटको आवश्यक समेत महसुस भएको र सोको लागी नयाँ ब्यवस्थापन समितिले ध्यानदिन सुझाव दिएका थिए ।

खजुरा क्यान्सर अस्पतालका मेसु डाक्टर कृष्ण प्रसाद आचार्यले क्यान्सर विशेषज्ञ अस्पतालको रुपमा पुर्णरुपमा अस्पताललाई सञ्चालनको लागी केही इक्युपमेन्ट आवस्यक रहेको भन्दै अविलम्ब ब्यवस्था गरे सेवाग्राही लाभावन्ति हुने बताए ।

समितिको पदाधिकारीहरुको पहिलो बैठकले कार्यालयबाट प्रभाव भइरहेका सेवा, सुविधा, समस्या र चुनौतीका विषयमा छलफल गरेको थियो ।

बाँकेको खजुरा गाउँपालिकामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बिकास समितीको अध्यक्षमा किशोर थापा सहित अस्पताल बिकास समितिको सदस्यहरुमा दीपा केसी, इमरान खा, सुर्यलाल यादवले पदभार ग्रहण गरेका छन् ।