दुई भारतीयसहित ६ टिमले प्रतिस्प्रर्धा गर्दै


दुई भारतीयसहित ६ टिमले प्रतिस्प्रर्धा गर्दै

नेपालगन्ज ९ चैत्र: आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । बुधबार नेपालगन्ज रंगशाला स्थित सचिवालयमा आयोजित पत्रकार भेटघाटमा पिएम कपका संस्थापक अध्यक्ष टीएस ठकुरीले सबै तयारी पुरा भएको जानकारी गराए ।

नेपाल भलिबल संघको स्वीकृतिमा हुने प्रधानमन्त्री कप भोली चैत १० देखि १४ गतेसम्म नेपालगन्ज रंगशालास्थित कभर्ड हलमा हुँदैछ । विगतका वर्षहरुमा भन्दा यसपटक कोरोना महामारीका कारण केही समय ढिला हुन गएको आयोजकले जनाएको छ ।

‘प्रधानमन्त्री कप भलिबल प्रतियोगितालाई नेपालगन्ज (बाँके)को चिनारीको रुपमा विकास गर्ने हाम्रो प्रयास हो ।’ मुल आयोजक समिति संयोजक लुम्बिनी प्रदेश सदस्य कृष्णा केसी ‘नमुना’ले भनिन्–‘दक्षिण एशियाकै नम्बर एक क्लब च्याम्पियनसीपका रुपमा प्रधानमन्त्री कपलाई स्थापित गराउने हाम्रो लक्ष्य रहेको छ ।’

प्रतियोगितामा आयोजक सहित नेपालका शीर्ष चार र भारतका दुई टिमको सहभागिता रहनेछ । लिगकम नकआउट प्रणालीमा सञ्चालन हुने यस प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, न्यू डायमण्ड एकेडेमी, आयोजक लुम्बिनी युनाइटेड, भारतको छत्तीसगढ स्पोर्ट्स एकेडेमी(महाराष्ट्र) र हरियाना स्पोर्ट्स क्लब रहेका छन् । भारतबाट आउने दुवै टिम पहिलो पटक पिएम कपमा सहभागिता जनाउदैछन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

सम्पुर्ण खेलाडीको आवास तथा भोजन कोहलपुरस्थित पाँच तारे होटल सेन्ट्रल प्लाजामा व्यवस्थापन गरिएको छ । खेलाडीको बसोबास कोहलपुर तथा खेल सञ्चालन नेपालगन्जमा हुँदा पुरानो सहर नेपालगन्ज र उदाउँदो सहर कोहलपुरलाई भावनात्मक एकतामा जोड्ने अपेक्षा गरिएको अध्यक्ष ठकुरीले बताए । ‘यसले महानगरको परिकल्पनालाई साकार पार्ने हाम्रो सोँच हो,’ उनले भने ।

प्रतियोगितामा आवश्यक पोशाक युक्यान ब्राण्डको आधिकारिक बिक्रेता सिटिएलले उपलब्ध गराएको छ । आयोजक टिम लुम्बिनी युनाइटेडका लागि लिनिङ ब्राण्डको जर्सी सेट र युक्यान ट्रयाक सुट रहेको छ । पत्रकार भेटघाटमा प्रदेश सभा सदस्य कृष्णा केसी नमुना, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, भारत, रुपैडिहा पत्रकार संघका अध्यक्ष शेरसिंह कसौधन, भलिबलका पुर्व अन्तर्राष्ट्रिय रेफ्री अजितकुमार शर्मा, नेपाली राष्ट्रिय टिमका पुर्व खेलाडी राकेशकुमार श्रीवास्तव, राखेप पुर्व निर्देशक जयन्तकुमार शर्मा, लुम्बिनी खेलकूद परिषद्का सदस्य नरेन्द्र थापा, नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठले सामुहिकरुपमा पिएम कपको टिसर्ट सार्वजनिक गरेका थिए ।

आजै पिएम कप भलिबलको वेभसाइट www.pmcupvolleyball.com पनि लञ्च गरिएको छ । यस प्रतियोगितामा आईक्यासले डिजिटल पेमेन्ट पार्टनरका रुपमा रहेको आयोजकले जनाएकोछ ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय खेलकुद परिषद्, लुम्बिनी प्रदेश सरकार, युएनडिपी, नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, राप्तीसोनारी गाउँपालिका, नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका, जानकी गाउँपालिका, बैजनाथ गाउँपालिका सदा झैं सहयोगी रहेका छन् ।

नेपाल टेलिकम, नेपाल पर्यटन बोर्ड, क्युएफएक्स बागेश्वरी सिनेमा, दराज, दैनिक नेपालगन्ज, मिठो छ ट्रिट, फन्की क्याफे, नेपाली सेनाको भैरव प्रसाद गण, क्रियटिभ ह्याण्ड्स, द हिडेन ट्रेजर लगायत संघसंस्थाले सहकार्य गरेका छन् ।

मिस नेपाल नम्रता श्रेष्ठ यस प्रतियोगिताको सद्भावनादूत रहेकीछन् । भने प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्रीमा महेश्वर गहतराज ‘अथक’ले उद्घाटन गर्ने कार्यक्रम तय गरिएकोछ ।

यस्तै प्रतियोगिताको समापन लुम्बिनी प्रदेश सरकार तथा राष्ट्रिय खेलकूद परिषद्का कामु सदस्य सचिव कुलबहादुर थापा लगायतको सहभागितामा गरिनेछ ।

प्रदेश सांसद कृष्णा केसी ‘नमुना’को संयोजकत्वमा नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापा सहसंयोजक तथा अन्य पालिका उपप्रमुखहरु उपसंयोजक रहनेगरी प्रतियोगिताको तयारी थालिएको थियो ।

आयोजकका अनुसार हरेक दिन दुई खेल सञ्चालन गरिनेछ । पहिलो दिन नेपाल पुलिस विरुद्ध त्रिभुवन आर्मी क्लबले खेल्नेछ भने अर्को खेल न्यू डायमण्ड एकेडेमी विरुद्ध आयोजक टिम लुम्बिनी युनाइटेड हुनेछ । प्रत्येक दिन खेल मध्यान्ह १२ बजे देखि हुनेछ ।

आयोजकका अनुसार नेपाली भलिबलको सर्वाधिक धनराशीको पुरस्कार रहेको प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार, तेस्रो टिमले एक लाख र चौथो हुने टोलीले ५० हजार नगद, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे टिम इण्डिया, पाँचौंमा एपीएफ, छैटौंमा पुलिस र सातौंमा एपीएफ च्याम्पियन बनेका थिए ।