File Photo
नेपालगन्ज १० चैत्र : आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिता आजबाट नेपालगन्जमा शुरु भएकोछ ।
बाँके जिल्ला भलिबल संघको आयोजनामा नेपालगन्ज रंगशालास्थित कर्भड हलभित्र भइरहेको उक्त प्रतियोगितामा दुई भारतीयसहित कुल ६ वटा टिमले सहभागीता जनाएकाछन् ।
यसपटक प्रतियोगितामा आयोजक सहित नेपालका शीर्ष चार र भारतका दुई टिमको सहभागिता रहेकोछ । लिगकम नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, न्यू डायमण्ड एकेडेमी, आयोजक लुम्बिनी युनाइटेड, भारतको छत्तीसगढ स्पोर्ट्स एकेडेमी (महाराष्ट्र) र हरियाना स्पोर्ट्स क्लब रहेका छन् । भारतबाट आउने दुवै टिम पहिलो पटक पिएम कपमा सहभागिता जनाउँदैछन् ।
महिला भलिबलमा एक दशकदेखि एकछत्र प्रभुत्व कायम गरेको विभागीय टिम एपीएफले प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल तीनपटक जितेको छ । तर, आजदेखि शुरु भएको आठौं संस्करणमा साविक विजेता एपीएफ सहभागी हुन सकेन । प्रधानमन्त्री कपको दोस्रो, पाँचौं र सातौं संस्करणमा एपीएफ च्याम्पियन बनिसकेकोछ ।
एपीएफका अधिकांश मुख्य खेलाडी चोटग्रस्त बनेपछि च्याम्पियन टोली नै प्रतियोगितामा सहभागी नहुने निर्णयमा पुगेको आयोजक बाँके जिल्ला भलिबल संघका अध्यक्ष टिएस ठकुरीले जानकारी दिए ।
अध्यक्ष ठकुरीका अनुसार एपीएफका सिनियर टिमका पाँच जना खेलाडी चोटग्रस्त रहेकाछन् । उनले भने हामीलाई प्राप्त खबर अनुसार एपीएफका मुख्य खेलाडी सरस्वती चौधरी एसीएल शल्यक्रियापछि फिजियोथेरापी गरिरहेकी छिन् । उषा विष्ट गोलीगाँठाको चोटबाट मुक्त हुँदैछिन् । भेट्रान कप्तान विनिता बुढाथोकी र युवा स्पाइकर निरुता ठगुन्ना पनि पूर्णरूपमा फिट नभएको र पूजा चौधरी आन्तरिक तालिममा रहेकाले यसपटक साविक विजेता एपीएफ प्रतियोगितामा सहभागिता जनाउन सकेन ।
आयोजकका अनुसार हरेक दिन दुई खेल सञ्चालन गरिनेछ । आज पहिलो खेल नेपाल पुलिस विरुद्ध त्रिभुवन आर्मी क्लबले खेल्नेछ भने अर्को खेल न्यू डायमण्ड एकेडेमी विरुद्ध आयोजक टिम लुम्बिनी युनाइटेड हुनेछ । प्रत्येक दिन खेल मध्यान्ह १२ बजे देखि हुनेछ ।
आयोजकका अनुसार नेपाली भलिबलको सर्वाधिक धनराशीको पुरस्कार रहेको प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार, तेस्रो टिमले एक लाख र चौथो हुने टोलीले ५० हजार नगद, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे टिम इण्डिया, पाँचौंमा एपीएफ, छैटौंमा पुलिस र सातौंमा एपीएफ च्याम्पियन बनेका थिए ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’