नेपालगन्ज १२ चैत्र : बाँके चम्बर अफ कर्मसले सडक अतिक्रमित संरचना हटाउन दुई महिनाको समयसीमा मागेकोछ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई शनिबार ध्यानाकर्षण पत्र बुझाउँदै बाँके चेम्बरले यस्तो माग गरेको हो ।
नेपालगन्ज–कोहलपुर सडक विस्तार गर्ने क्रममा सडक डिभिजन कार्यालयले पुर्ववत तयारी र आवश्यक प्रक्रिया नअपनाई विषम परिस्थिती सिर्जना गरिरहेको समेत चेम्बरले बताएकोछ ।
कोभिडले बजार, ब्यवसाय धराशायी भएको अवस्थामा सडक विभागले सम्बन्धित क्षेत्र (मापदण्डभित्र परेका संरचनाहरु)मा मार्किङ गर्नुपर्ने, सरोकारवाला (घरधनी)लाई उचित समयावधिसहितको सूचना दिनुपर्ने लगायतको सर्वमान्य सिद्धान्त विपरित गरिएको बल(डोजर) प्रयोगको विरोध गर्दै कम्तिमा पनि २ महिनाको समयसीमा दिनुपर्ने माग गरिएकोछ ।
ध्यानाकर्षण पत्र बुझाउँदै बाँके चेम्बर अफ कमर्सका अध्यक्ष सतिस अग्रवालले भने–‘हामी विकास विरोधी होइन, विकासमा हाम्रो साथ र सहयोग छ । तर, सडक डिभिजनले सर्वमान्य सिद्धान्त र प्रक्रिया विपरित एकाएक संरचना भत्काउनु गलत हो ।’
‘सडक मापदण्ड भित्र परेका अधिकाशं घरधनीलाई पुर्ववत कुनै पनि सूचना जानकारी दिइएको छैन । यो सडक विभागको कमजोरी हो,’ अध्यक्ष अग्रवालले भने–‘सडक अतिक्रमित संरचना हटाउने भन्दै चालिएको कदमले सर्वसाधरण जनतामा आतंक मच्चाइरहेकोछ । डोजर आतंक बन्द गरिनुपर्छ ।’
ध्यानाकर्षण पत्र बुझ्दै बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले उक्त विषय उच्च प्राथमिकताका साथ लिएको बताउँदै यस विषयमा आवश्यक पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
बाँके चेम्बर अफ कमर्स अध्यक्ष सतिश अग्रवालको नेतृत्वमा गएको टोलीमा उपाध्यक्ष गोपाल अधिकारी, नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगर लगायतले बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीलाई भेटेर तत्काल उक्त कार्य रोक्न भन्दै ध्यानाकर्षण गराएको हो ।
थप समाचार