भत्काउन थालियो सुर्खेतरोडका अतिक्रमित संरचना


भत्काउन थालियो सुर्खेतरोडका अतिक्रमित संरचना

नेपालगन्ज ११ चैत्र : सडक डिभिजन कार्यालय नेपालगन्जले जमुनाहादेखि कोहलपुरसम्मको सडक क्षेत्रमा अतिक्रमित संरचना हटाउन शुरु गरेको छ ।

सडक डिभिजन कार्यालयले जानकी गाउँपालिका वडा नम्बर–६ पिप्रहवा क्षेत्रबाट सडक अतिक्रमण हटाउन शुरु गरेको हो ।

कोहलपुरबाट अतिक्रमण हटाउन शुरु गर्ने भनिए पनि त्यहाँका स्थानीयले हप्ता दिनको समय माग गरेपछि प्रिपहवाबाट सुुरु गरिएको छ ।

सार्वजनिक सडक ऐन, २०३१ ले तोकेको मापदण्ड विपरित निर्माण भएका, सडक अतिक्रमण गरी बनाइएका संरचना डोजर लगाएर हिजो विहीबारदेखि भत्काउन शुरु गरिएको कार्यालयका डिभिजन प्रमुख होमबहादुर एसीले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

२०६९ असोज ४ गते नेपाल सरकार मन्त्रिपरिषदबाट विल्डर्स एरियाको लागि तोकेको मापदण्ड विपरित रहेका स्थायी अस्थायी संरचनाहरु हटाउने निर्णय गरेबमोजिम कार्यालयले एक्सन लिएको एसीले बताए ।

सडक डिभिजन कार्यालयले विल्डर्स एरियामा ४२ मिटर र अन्य ठाउँमा ५० मिटर फराकिलो सडक रहने बताएको छ । कोहलपुर र नेपालगन्जको केही क्षेत्रलाई विल्डर्स भनिएको छ ।

सोही बमोजिम मनपरी संरचना बनाउँदा सडक अतिक्रमण बढेपछि सडक डिभिजन कार्यालय नेपालगन्जले विहीवार सुरक्षाकर्मीसहित कोहलपुर बजार पुगेर कार्य शुरु गरेको हो ।

अतिक्रमण हटाउन प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीसमेत कोहलपुर पुगेका थिए । सोक्रममा प्रजिअ खत्रीले सार्वजनिक सम्पत्ति मिचेर बाधा अवरोध नगर्न सबैलाई अनुरोध गरे ।

एक दशक अघि एसियाली विकास बैंक (एडीबी) को सहयोगमा सुर्खेत रोडलाई फोरलेन बनाइएको हो । ५० मिटर कै सडक बनाउने भनिए पनि केही टाठाबाठाले सोर्सफोर्स लगाएर ४२ मिटरमा खुम्च्याउन भ्याएका थिए । सबै ठाउँमा त्यही ४२ मिटर पनि छैन ।

दुई दिनअघि बसेको सर्वदलीय सर्वपक्षीय बैठकले सुर्खेत रोडको अतिक्रमण हटाउने निर्णय गरेपछि सडक डिभिजन कार्यालय घर भत्काउन अघि सरेको हो । सो बैठकले नेपालगन्जको सुर्खेत रोड र नेपालगन्जको धम्बोझीदेखि बर्दियाको मैनापोखरसम्मको सडक अतिक्रमण हटाउने निर्णय एकैपटक गरिएको छ ।

थप समाचार

एक दशकपछि सुर्खेतरोड ५० मिटरको बनाईदैँ

एक दशकपछि पुनः भत्काइदैँ सुर्खेतरोडका संरचना

‘सुर्खेतरोड विस्तारका नाममा जनतालाई आतंकित नबनाऔं’