सडक डिभिजन प्रमुखले मच्चाएको बबण्डर

जसले छानीछानी गरिबका घर–टहरा भत्काए, ठुलाबडाका पर्खाल नै भत्काएनन्


सडक डिभिजन प्रमुखले मच्चाएको बबण्डर

सडक डिभिजनले बाँकेको हवल्दारपुर नजिकबाट राँझा चोकसम्म अतिक्रमित संरचना हटाउँदै आएपनि बिचमा कहि नभत्काइ एकैपटक नेपालगन्जको एक घरमा डोजर चलाएको तस्विर ।

नेपालगन्ज १५ चैत्रः सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख होमबहादुर एसीले अतिक्रमित संरचना भत्काउने नाममा छानीछानी घर–टहरा तथा पर्खालहरु भत्काएका छन् । सडक डिभिजन प्रमुख एसीले सरकारको सामान्य नियम समेत पालना नगरी आफुखुशी अतिक्रमित घर तथा टहराहरु भत्काइ दिएकाछन् ।

उनको यो रबैयाले गर्दा अहिने नेपालगन्जमा बबण्डर मच्चिएको छ । जनता आक्रोशित भएका छन्, हरेक दिन तनावग्रस्त भइरहेको छ नेपालगन्ज । सडक डिभिजन प्रमुख एसीले जनतामाझ आगो सल्काई दिएका छन् । यसको सबै भार बाँकेका प्रमुख जिल्ला अधिकारीमाथि परेको छ । चुनावको मुखमा कतिपय राजनीति दलका लागि यो विषय मसला बनेको छ ।

कति मिटरमा अतिक्रमित संरचना भत्काउने भन्ने कुराको निर्णय भएपनि सडक डिभिजन प्रमुख एसीले भत्काउँदा पालना गर्नु पर्ने मापदण्ड नबनाई मनोमानी तरिकाले डोजर चलाउँदा यो विवाद चुलिएको हो । जिल्ला प्रशासन कार्यालय बाँकेले सडक डिभिजनले मापदण्ड पालना नगरी जथाभावि डोजर चलाई अतिक्रमित संरचना भत्काएको निष्कर्श निकालिसकेको छ ।

बाँके सिडिओ सूर्यबहादुर खत्रीले अतिक्रमित संरचना भत्काउँदा सडकले त्रुटी गरेको स्विकारे । ‘अतिक्रमित संरचनामा चिन्ह नलगाई भत्काएपछि विवाद आयो । मैले सडक कार्यालयलाई भनिसकेको छु बनाएका सरंचना अतिक्रमित सडक भित्र कति पर्छन्, नापी गरेर चिन्ह लगाएर नसकिँदासम्म नभत्काउनु भनेर ।’

Kids Festival 2022
kanti aarogya hospital

त्यो त बाँकेका सिडिओ खत्री सडक डिभिजन प्रमुख एसीमाथि पुरै निर्भर रहुनु पनि गलत थियो । सिडिओ खत्रीको आदेशलाई पालना गर्ने नाममा डिभिजन प्रमुख एसीले कोहलपुर नेपालगन्ज सडक खण्डमा अतिक्रमित संरचना सबै भत्काउनु पर्नेमा पावरवाला व्यक्तिका नभत्काई गरिब र पावरलेस व्यक्तिका घर टहरामात्र भत्काइ दिएपछि सर्वसाधारण जनता आक्रोशित भएका हुन् ।

सडक डिभिजन कार्यालयले हवल्दारपुर अगाडीदेखि राझाँ चोकसम्म अतिक्रमित सडक भत्काएको छ । डिभिजन प्रमुख एसीले सो सडक खण्डमा सामान्य मापदण्ड पालना नगरी नापी र चिन्ह नलगाई अनुमानको भरमा डोजर चलाएर संरचना भत्काएको छ ।

सडक कार्यालयले भत्काएका दुवै तर्फका संरचना सेतोखरीको टिमले अवलोकन गर्दा आवाज बोल्न नसक्ने, विरोध गर्न नसक्ने गरिबका संरचनामा जथाभावी डोजर चलाईएको छ भने उद्योग, गाडीका सो रुम, फन पार्क लगाएतका पर्खालहरु सडक अतिक्रमण भित्र परेपनि भत्काइएको छैन ।

घुम्ती, किराना पसल भत्काइएको छ तर, त्यसैसँग जोडिएको गाडी शो रुम, उद्योगका पर्खाल भत्काइएको छैन । यसबाट सडक डिभिजन प्रमुखको नियत प्रष्ट हुन्छ ।

अतिक्रमित संरचना भत्काउने नाममा सडक डिभिजन कार्यालय नेपालगन्जले मनोमानि गरेको नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जिवी ओलीले बताए ।

‘सडकले त्रुटि गरेकोछ, अतिक्रमित संरचना हटाउने भन्दै हाम्रा ब्यवसायीको सम्पत्तिमा क्षति गरिरहेकोछ’ सेतोखरीसंग कुरा गर्दै उनले भने–‘सडक डिभिजनको यो कार्य कानून सम्मत र न्याय सम्मत भएन । समानताका आधारमा न्याय भएन ।’

अतिक्रमित संरचना भत्काउने नाममा मनोमानि तरिकाले डोजर चलाइरहेको सडक डिभिजनका कारण थुप्रै उद्योगी, व्यवसायीले क्षति ब्यहोर्नुपरेको उनले बताए ।

‘गनापुरको पिप्रहवामा रहेको भेरी ट्रयाक्टरको शोरुम सडकले भत्काएकोछ । मापदण्डभन्दा पर नहर पारि गएर सडकले डोजर हानेको छ, ब्यवसायीको सामान क्षति भयो’ महासचिव ओलीले भने–‘सडकले मार्किङ नगरि संरचनामा अन्धाधुन्द डोजर चलायो त्यो गलत हो । अब त्यसो नहोस्, कसैको भत्काउने र कसैको त्यसै छाडिदिने काम पनि नगरियोस् । उद्योगी, व्यवसायीको सम्पत्तीमा क्षति भए संघ मौनता बस्दैन ।’

सडक डिभिजनले मापदण्डभित्र परेका संरचनालाई मार्किङ गरि भत्काउन समय दिएको भए थुप्रै घरधनी, व्यवसायीको सम्पत्तिमा क्षति नहुने महासचिव ओलीले बताए ।

यता सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख होमबहादुर एसीले अतिक्रमित संरचना नापेरै भत्काउन थालेको बताए ।

‘सडक मापदण्ड जतिमिटरको छ त्यती मिटरकै भत्काइन्छ, यो लगातार चलिरहने प्रक्रिया हो । कसैको अवरोधमा रोकेर रोकिने होइन’ उनले भने । सडक डिभिजन प्रमुख एसीले अतिक्रमित संरचना भत्काउने क्रममा कसैमाथि भेदभाव नगरिएको दावि गरे ।

आरोप लगाउनेले जे पनि लगाउनसक्छ तर, त्यसमा सत्यता छैन, सडक डिभिजन प्रमुख एसीले भने–‘अतिक्रमित संरचना हटाउने विषयमा कसैलाई छाड्ने भन्ने हुदैन । पहुँच भएका ठूलाबडाको नभत्काउने र गरिबको भत्काउने भन्ने हुदँैहोइन । सबैको भत्काइनेछ ।’

‘पटक–पटक सूचना प्रकाशन गर्दा पनि अतिक्रमित संरचना हटाउन नमानेपछि भत्काउन शुरु गरिएको हो’ सडक डिभिजन प्रमुख एसीले भने– ‘कोहलपुरमा १६ गतेसम्म समय मागेकाले त्यहाँ छाडेको हो, काम छिटो सकिन्छ भनेर गनापुरमा एउटा टिम र राँझाबाट अर्को टिम खटाइएको हो ।’

अहिले सडक डिभिजनले मापदण्डभित्र रहेका सबै संरचनाहरु ‘मार्किङ’ गरिरहेकोछ । मार्किङ गरेपछि पनि संरचना हटाउन अटेर गरे भत्काइन्छ, त्यसबेला क्षति हुनसक्छ त्यसको जिम्मेवार स्वयम हुने सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख होमबहादुर एसीले बताए ।