१० हजार स्वास्थ्यकर्मी परिचालन
नेपालगन्ज २२ चैत्र : सरकारले आगामी चैत्र २५ देखि देशभरका ७५ लाख बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिने भएको छ ।
नेपालमा पहिलो पटक बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिन लागेको हो । मङ्गलबार पत्रकार सम्मेलन गरि सरकारले आगामी चैत्र २५ देखि बैशाख १८ गतेसम्म टाइफाइड विरुद्धको खोप अभियान आम अभियानका रुपमा चल्ने जनाएको छ ।
त्यसपछि १५ महिनाका बालबालिकाका लागि नियमित रुपमा प्रयोग गरिने छ । २४ दिने राष्ट्रव्यापी खोप अभियानको अवधिमा सरकारले १५ महिनादेखि १५ वर्ष मुनिका झण्डै ७५ लाख बालबालिकासम्म पुग्ने लक्ष्य राखेको छ ।
अभियानको क्रममा टाइफाइड खोप स्थानीय तहको प्रत्येक वडामा तोकिएको विद्यालयहरूको खोप केन्द्रमा उपलब्ध हुनेछ । विद्यालय नभएका वा कम भएका वडाहरूमा आवश्यकता अनुसार बाह्य खोप केन्द्र सञ्चालन गरिनेछ । अभियानको अन्तिम दिन स्वास्थ्य संस्थामा खोप सेवा सञ्चालन गरिनेछ ।
टाइफाइड खोपबाट यो रोगको संक्रमणमा उल्लेखनीय रुपमा कमी ल्याउन सकिने पुष्टि गरेकोले राष्ट्रिय खोप सल्लाहकार समितिबाट १४ अगष्ट, २०२० मा टाइफाइड खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्न सिफारिस गरिएको थियो ।
विश्व स्वास्थ्य संगठनले टाइफाइड खोपलाई नेपालसहित सबै टाइफाइड प्रभावित देशहरूमा प्रयोगको लागि सिफारिस गरेको छ । यो खोप अभियानसँगै टाइफाइड खोपको सुरुवात गर्ने नेपाल दक्षिण एसियामै पहिलो राष्ट्र रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतको परिवार कल्याण महाशाखाले जनाएको छ ।
थप समाचार
नेपालगन्जका ३९ हजार बढी बालबालिकालाई टाईफाईड विरुद्धको खोप दिइने