नेपालगन्ज २१ चैत्र : टाईफाईड रोग विरुद्ध बाँकेसहित देशभर एकैसाथ खोप अभियान सञ्चालन गरिने भएको छ । यही चैत २३ गतेदेखी २८ गतेसम्म अभियान सञ्चालन गरिनेछ । उक्त खोप १५ महिनादेखी १५ वर्षसम्मका बालबालिकालाई दिइने जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले जानकारी दिए ।
जिल्ला खोप समन्वय समितिका पदाधिकारी र सञ्चारकर्मीसँग सोमबार बिहान गरिएको अभिमुखिकरणमा यस्तो जानकारी दिइएको हो ।
खोप अभियान सञ्चालन गर्न स्वास्थ्यकर्मी बिद्यालयमै पुग्ने भएका छन् । बिद्यालयमा ८० प्रतिशत र स्वास्थ्य संस्थामा २० प्रतिशत खोप केन्द्र सञ्चालन हुने स्वास्थ्य कार्यालयका नरेश श्रेष्ठले बताए ।
उनका अनुसार जिल्लाका १५ महिनादेखी १५ वर्ष सम्मका एक लाख ४८ हजार ९ सय ३३ जना बालबालिकालाई खोप लगाइनेछ । यसका लागि जिल्लाभर २ सय ६४ खोप केन्द्र राखिने भएको छ ।
कोभिड, हेपाटाइटिस लगायत अन्य खोप लगाएको १४ दिनपछि मात्र टाईफाईड रोग विरुद्धको खोप लगाउन मिल्ने श्रेष्ठले प्रष्ट्याए । ‘यो खोपले स्वास्थ्यमा कुनैपनि असर पुर्याउँदैन, विश्व स्वास्थ्य संगठनले नै प्रमाणित गरिसकेको खोप हो,’ उनले भने । तर, ज्वरो आएको र टाईफाईडको लक्षण देखिएको समयमा यो खोप लगाउन नमिल्ने श्रेष्ठले सुनाए ।
सो क्रममा वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर बिनोद खेतानले खोप बालबालिकाको लागि अनिवार्य भएको अवस्थामा टाईफाईड विरुद्धको खोप अभियान प्रभावकारी भएको बताए । ‘यो खोप अत्यन्तै राम्रो हो, यसले कुनैपनि साईड इफेक्ट गर्दैन,’ उनले भने ।
उक्त कार्यक्रम जिल्ला खोप समन्वय समितिका संयोजक समेत रहेका जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजयकुमार श्रीवास्तवको सभापतित्वमा भएको थियो ।
यसैबीच, टाईफाईड रोग विरुद्धको खोप अभियानमा नेपालगन्ज उपमहानगरपालिका क्षेत्रका ३९ हजार २ सय २६ जना बालबालिकालाई खोप दिइने भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाले सोमबार दिउँसो नेपालगन्जमा गरेको पत्रकारसँगको अभिमुखिकरण यस्तो जानकारी दिइएको हो ।
बाँकेसहित देशभर एकैसाथ सञ्चालन हुन लागेको खोप अभियान अन्तरगत नेपालगन्ज उपमहानगरपालिकाले पनि आफ्नो तयारी गरिरहेको जनाएको छ ।
स्वास्थ्य शाखामा कार्यरत तेज ओलीका अनुसार खोप अभियान सञ्चालनका लागि उपमहानगरपालिका क्षेत्रमा मात्रै ५५ वटा खोप केन्द्र राखिएको छ । यसका लागि प्रत्येक वडाका बिद्यालय र स्वास्थ्य संस्थासँग स्वास्थ्य शाखाले समन्वय गरेको ओलीले बताए ।
उपमहानगरपालिकामा चैत २३ गतेदेखी २८ गतेसम्म अभियान सञ्चालन गरिनेछ । उक्त खोप १५ महिनादेखी १५ वर्षसम्मका बालबालिकालाई दिइने ओलीले जानकारी दिए ।
स्वास्थ्यकर्मीका अनुसार कोभिड, हेपाटाइटिस लगायत अन्य खोप लगाएको १४ दिनपछि मात्र टाईफाईड रोग विरुद्धको खोप लगाउन सकिन्छ । तर, ज्वरो आएको र टाईफाईडको लक्षण देखिएको समयमा यो खोप लगाउन नमिल्ने स्वास्थ्यकर्मी बताउँछन् ।
पत्रकार अभिमुखिकरणमा बोल्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाईले खोप अभियानलाई सफल बनाउन पत्रकारले आफ्नो तर्फबाट कलम चलाउने बताए ।
थप समाचार
बाँकेका करीब डेढ लाख बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिइने
डुडुवामा टाइफाइड रोगविरुद्ध खोप अभियान शुरु
खजुराका २१ हजार ८४ बालबालिकालाई टाइफाइड विरुद्ध खोप दिइने