नेपालगन्ज आएर ओलीले नेकपा एस बाँकेको पिल्लर भत्काए

‘एस’ भन्ने पार्टी बाँकेमा ‘फुस’, पाँचदलीय गठबन्धनले जिते विदेशी षड्यन्त्र सफल हुन्छ : ओली


नेपालगन्ज आएर ओलीले नेकपा एस बाँकेको पिल्लर भत्काए

नेपालगन्ज २४ चैत्र : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकिकृत समाजबादी बाँकेको पिल्लर भत्काएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीको प्रमुख आतिथ्यतामा नेपालगन्जमा भएको एक कार्यक्रममा नेकपा समाजबादी पार्टी बाँकेको पिल्लरका रुपमा परिचित युवा नेता किशोर थापा सहित ठूलो संख्या एमालेमा प्रवेश गराइएको हो ।

थापा युवा संघको लुम्बिी प्रदेश अध्यक्ष र समाजवादी पार्टीका जिल्ला उपसचिव थिए । उनको नेतृत्वमा बैजनाथ, खजुरा र जानकी गाउँपालिकाका प्रभावशाली युवाहरु पनि पुरानै पार्टीमा एमालेमा फर्केकाछन् ।

योसंगै नेकपा एकिकृत समाजबादी बाँकेलाई ठूलो झट्का लागेकोछ । स्थानीय तह निर्वाचनको संघारमा नेकपा एस बाँकेको प्रभावशाली युवा नेता एवम उपसचिव थापा सहित ४४ जनाको जिल्ला कमिटि सदस्यसहित ४८७ जनालाई नेकपा एमालेमा समाहित गरिएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

सोही कार्यक्रममा डुडुवा गाउँपालिकाकी नेतृ सरोजकुमारी यादव पनि एमाले प्रवेश गरेकीछन् । पूर्व गाविस अध्यक्ष रहेकी उनी राजनीतिमा शक्तिशाली मानिन्छिन् । उनको एमाले प्रवेशले विशेष अर्थ राख्दछ ।

नेकपा एकीकृत समाजवादीका धेरै नेताहरुलाई एमालेमा प्रवेश गराएका एमाले अध्यक्ष ओलीले ‘एस’ भन्ने पार्टी बाँकेमा ‘फुस’ भएको टिप्पणी गरे ।

पार्टी प्रवेशपछि उत्साहित अध्यक्ष ओलीले गठबन्धनलाई धुलो चटाउने बताए । अहिलेको सरकार विदेशी प्रतिक्रियाबादीहरुको गठजोड भएको उनको आरोपछ ।

विदेशी प्रतिक्रियाबादीको गठजोड गठबन्धन सरकारका विरुद्ध जनताले मत दिनुपर्ने उनले बताए । उनले जतिसक्यो यो सरकारलाई छिटो विदाई गर्नुपर्ने अन्यथा देशलाई खोक्रो बनाउने दावि गरे ।

ओलीले आगामी चुनावमा पाँचदलीय गठबन्धनलाई हराउन सकिएन भने देशी विदेशी प्रतिक्रियावादीको षड्यन्त्र सफल हुने बताए ।

एमाले बाँकेले नेपालगन्जमा बिहीबार आयोजना गरेको अगुवा कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘प्रतिक्रियावादी शक्तिहरु, दलाल पूँजीवाद भने पनि यिनै पाँचदलीय गठबन्धन हुन् । यिनलाई हराउन सकिएन भने देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु सक्रिय हुन्छन् । देश फेरि पछाडि पर्छ ।’

उनले एमाले सरकारबाट हटेको नौ महिनामा देशको अर्थतन्त्र ध्वस्त भएको बताए । उनले भने, ‘एमाले सरकारबाट हटेपछि अर्थतन्त्र ध्वस्त भएको छ । लगानी गर्ने पूँजी छैन । उद्योगी व्यवसायीलाई ऋण दिने पैसा छैन । लगानी भएन भने रोजगारी र उत्पादन अगाडि बढ्न सक्दैन । देशलाई झन् गरीब हुनबाट बचाउन सकिँदैन । देशको लोकतन्त्र र विकास निर्माणको काम ध्वस्त हुनेछ । यी सबै समस्याबाट पार लगाउन आगामी चुनावमा एमालेलाई जिताउनु पर्छ ।’

सोही अवसरमा ओलीले हालै बाँकेको नरैनापुरमा आगलागीमा परेका १६ घरपरिवारलाई जस्तापाता र एक–एक लाख रुपैयाँ दिने घोषणा गरे ।

नेपालगन्जमा भएको कार्यक्रम पश्चात उनी बर्दियाको गुलरियामा आयोजित एमालेको भातृ संगठन नेपाल भूमीहिन सुकुम्बासी संगठनको प्रथम केन्द्रिय महाधिबेशनको उद्घाटन गर्न पुगेका थिए ।

यसअघि कर्णाली प्रदेशका विभिन्न जिल्लामा पार्टीको कार्यक्रमका लागि जाँदा नेपालगन्ज आएका थिए । सो बेला राप्रपका महामन्त्री एवम नेपालगन्ज उपमहानगरपालिकाका मेयर समेत रहेका डाक्टर धवल शम्सेर राणासंग आगामी चुनावी तालमेलाका लागि वान टू वान वार्ता गरेका थिए । नेपालगन्जमा भएको ओली र राणाको भेटवार्ताले राष्ट्रिय राजनीतिमा समेत तरङ्ग ल्याएकोछ ।

थप समाचार

‘निर्वाचनमा एमाले र राप्रपाबीच तालमेल हुने’

एमाले र राप्रपाबीच तालमेल भए नेपालगन्जको कस्तो होला चुनावी नतिजा ?