उपप्रमुखहरुको दावी अब प्रमुखमा


उपप्रमुखहरुको दावी अब प्रमुखमा

नेपालगन्ज २ वैशाखः पाँच वर्षअघि बर्दियाको गुलरिया नगरपालिकाको मेयरमा दावी गरेकी सुशीला गिरी महिला भएकै कारण उपमेयरमा सिमित हुनुपरेको तितो अनुभव सुनाउँछिन् । आगामीे निर्वाचनमा भने मेयरको उम्मेदार नछोड्ने उनको अडान छ । उपप्रमुख गिरि भन्छिन्, ‘महिलालाई उपप्रमुखको भुमिका दिनुपर्छ भन्ने कहिँ कतै छैन, तर महिलाहरु निर्णायक पदमा नेतृत्व गर्न सक्दैन् भनेर राजनीतिक दलहरुले उपप्रमुखमै सिमित राखे, यो भनेको पितृसतात्मक सोंच हावी हुनु हो ।’

पालिकाको जिम्मेवारी पाए सजिलै आफ्नो भूमिका निभाउन सक्ने उनको जिकिर छ । पाँच वर्षअघि नेपाली काँग्रेस पार्टीको तर्फबाट उपप्रमुखमा निर्वाचित हुन सफल गिरि केही दिन अघिमात्र नेकपा एमालेमा प्रवेश गरेकी छिन् । बारबर्दिया नगरपालिकाकी उपप्रमुख अञ्जु दहितले पहिलो स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट प्रमुखमा दावी गरे पनि टिकट पुरुषले पाएको बताईन् । पार्टीले पाँच वर्षअघि दिएको आश्वासनअनुसार यसपटक प्रमुख पदमा उम्मेदवार बन्ने तयारीमा जुटिसकेको उनी बताउँछिन् ।

आफु १४ वर्षको हुँदा २०५३ सालमा भूमिगत भएर पार्टीमा निरन्तर सक्रिय रहँदै आएको बताउने दहित प्रमुख पदको टिकट पाउनेमा आफु विश्वस्त रहेको बताउँछिन्  । ‘अहिले पनि पार्टीले नेतृत्व नदिए कहिले पाउने ?, अब त पार्टीसँग लडेर पनि नेतृत्व लिन पछि पर्दिन’, उनले भनिन् ।

नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापामगर भने यसअघिको निर्वाचनमा आफ्नो ईच्छाअनुसार नै उपप्रमुखकोे अवसर पाएकोे बताउँछिन् । स्थानीय सरकार सञ्चालनको पहिलो अभ्यासको सुरुवात भएकाले उपप्रमुखमै दाबी गरेँ । उनले भनिन्, –‘पाँच वर्षसम्म धेरै अनुभव बटुलीसकें, अबको मेरो दावी मेयरको लागि हो ।’

Kids Festival 2022
kanti aarogya hospital
add

उपमेयर भएपछिको अनुभव र क्षमताको हिसाबले महिलाहरुले मेयरको टिकट पाउन सके कानुनमा ब्यवस्था भएअनुसार नेतृत्व विकास र महिला सहभागिताको कुराहरुलाई संस्थागत गर्न एउटा ईट्टा थपिने उनी बताउँछिन् । ‘मेरो उम्मेद्वारी अब मेयरमै हुन्छ’, नेपाली काँग्रेसबाट उपप्रमुख भएकी थापा भन्छिन् ।

खजुरा गाउँपालिकाको उपाध्यक्ष एकमाया बिकले पनि आगामी कार्यकालमा प्रमुखको लागि पार्टीमा निरन्तर लविङ गरिरहेको बताइन् । महिलाहरु प्रमुख भएको स्थानीय तहहरु पुरस्कृत भएको उदाहरण दिँदै उपाध्यक्ष बिकले यो पक्षलाई मध्यनजर गर्दै राजनीतिक दलहरुले क्षमतावान महिलालाई प्रमुखको जिम्मेवारी दिनुपर्ने बताइन् ।

‘महिलाहरु कमजोर होइनन्, महिलाको नेतृत्व स्वीकार गर्न नसकेर उनीहरुलाई पछाडी पारिएको हो,’ उपप्रमुखमा नदोहरीने बताउँदै एमालेबाट उपप्रमुख भएकी विकले भनिन्, ‘संविधानमा ब्यवस्था भएअनुसार ४० प्रतिशत महिला नेतृत्व तहमा आउनैपर्छ । त्यस हिसावले पनि मेरो उम्मेदवारी प्रमुखमा नै हुन्छ ।’

कोहलपुर नगरपालिकामा आधा दर्जन पुरुष आकांक्षीको बीचमा कोहलपुर नगरपालिकाकी उपप्रमुख सञ्जु कुमारी थारुले यसपटक प्रमुखमा दावी गरेकी छिन् । नगरपालिकाको मेयरमा प्रतिस्पर्धा गर्ने मनस्थितिका साथ उपप्रमुख थारु केही समय अगाडिदेखि नै तयारीमा जुटिसकेकी बताउँछिन् ।

‘म मेयरको स्वभाविक दाबेदार हुँ, उपमेयर भएर मैले हाँसिल गरेको अनुभवले मलाई मेयर भएर काम गर्न अझ सहयोग गर्नेछ’, युवा नेतृ थारुले भनिन्, ‘उपमेयरका हैसियतमा मैले खेलेको भूमिकाको पार्टीले अवश्य मूल्यांकन गर्नेछ ।’

यसअघिको निर्वाचनमा पालिकाको प्रमुखमा सम्भावना नदेखेका कतिपय महिलाहरु वडा अध्यक्षको दावी गरेको बताउँछन् । तर, वडामा पनि राजनीतिक दलहरुले पुरुषलाई नै अगाडी सारेपछि पालिकाको उपप्रमुखमा चित्त बुझाउन बाध्य भएको उनीहरुको भनाई छ ।

दाङको लमही नगरपालिकाकी उपप्रमुख देवका बेलवासेले वडाअध्यक्षमा टिकट नपाएर उपप्रमुखमा बस्न बाध्य भएको बताईन् । अब हुने निर्वाचनमा प्रमुखको दावी नछोड्ने उनको जिकिर छ । २०४६ सालदेखि नेपाली काँग्रेस पाटीमा सक्रिय रहँदै आएकी बेलवासेले भनिन्, ‘क्षमता र पार्टीलाई दिएको योगदानको आधारमा पार्टीले मूल्यांकन गरेमा यसपटक मेयरको टिकट अवश्य पाउने छु ।’ यसरी गिरी, दहित, थापामगर, विक, थारु, बेलवासे मात्र होइनन्, अधिकांश उपप्रमुख महिलाहरुले आगामी बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा प्रमुखको लागि दावी प्रस्तुत गरेका छन् ।

त्यसो त विगतमा महिला प्रमुखहरु भएको स्थानीय तहले गरेको कामको आधारमा पनि उपप्रमुखहरुको यो दावी जायज छ । लुम्विनी प्रदेशमै एक मात्र पालिका प्रमुख महिला हुन् कुमारी बराल गौतम । नेकपा माओवादी केन्द्रको तर्फबाट निर्वाचित रुकुम पूर्वको रुकुम कोट, सिस्ने गाउँपालिकाकी अध्यक्ष गौतमले पाँच वर्षको अवधिमा आफु कुशलतापूर्वक नेतृत्व गर्न सफल भएको बताइन् ।

‘महिलाहरुलाई जिम्मेवारी दिएपछि पुरुषभन्दा दोब्बर राम्रो काम गरेर देखाउन सक्छन् भन्ने देशभरीका हामी १८ जना पालिका प्रमुख महिलाले पुष्टि गरिसकेका छौं,’ उनले भनिन्, ‘अब प्रमुख पदहरुमा महिलाहरु नेतृत्व लिनैपर्छ ।’ कोटा पुरा गर्न समावेशी, समानुपातिक तरिकाले केन्द्रमा, प्रदेशमा, स्थानिय तहमा महिलालाई उभ्याउने हिसाबले मात्र नभएर राजनैतिक दलहरुले महिलालाई प्रत्यक्ष निर्वाचन प्रर्णालीमा सहभागी गराउनुपर्ने गौतमको भनाई छ । पार्टीले अवसर दिए आफु फेरी अध्यक्षमा दोहरिने पनि उनले बताइन् ।

फेरी दोहरिने चाहना

कतिपय उपप्रमुख महिलाहरुले चाहिँ फेरी पनि उपप्रमुखमै दोहरिने आकांक्षा पनि देखाएका छन् । ‘अध्यक्षमा पुरुषहरुकै तछाँडमछाड छ, महिलालाई अवसर दिदैनन्’, दाङको राजपुर गाउँपालिका उपाध्यक्ष धनपति देवी यादवले भनिन् । उनले अध्यक्षमा अवसर नदेखेर आगामी निर्वाचनमा पनि फेरी उपाध्यक्षमा दावी गर्ने बताईन् । नेपाली काँग्रेसबाट उपाध्यक्षमा निर्वाचित यादवले भनिन्, ‘महिलाले अध्यक्षको टिकट पाउने सम्भावना पनि छैन, पहिलो पाँच वर्षे कार्यकालमा कोभिडका कारण राम्रोसँग काम गर्न पनि सकिएन, अव फेरी उपाध्यक्ष हुने अवसर पाएँ भने अधुरा योजना आफैले सम्पन्न गर्नेछु ।’

नेपाली काँग्रसबाट निर्वाचित बाँकेको राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष धनी कुमारी खत्री पनि पार्टीले फेरी उाध्यक्षको टिकट दिएमा सहजै स्वीकार्ने बताउँछिन् । उनी भन्छिन्, ‘पाँच वर्षमा गरिएका कामको समिक्षा गर्दै अर्को कार्यकाल फेरी उपाध्यक्ष भएर अधुरा योजनाहरु अझ राम्रो ढंगले सम्पन्न गर्ने ईच्छा छ ।’

उपाध्यक्ष पछि अध्यक्षमा दावी गर्नु स्वभाविक भएपनि वर्तमान अध्यक्ष फेरी अध्यक्षमै दोहरिन चाहेकाले आफुले पनि उपाध्यक्षमै रहन खोजेको उनले बताइन् । ‘हामी दुबैजनाले दोस्रो कार्यकालमा उही पदमा दोहरिन चाहेका छौं,’ उपाध्यक्ष खत्रीले भनिन् ।

नवलपरासी सुस्ता पश्चिम, सुस्ता गाउँपालिकाकी उपाध्यक्ष ईन्द्र कुमारी थरुनीले पनि फेरी पुरानै पदमा दोहरिन चाहेको बताईन् । ‘हाम्रो कार्यकालमा कोभिड–१९ महामारी पनि आयो, पहिलो अभ्यास भएकाले सिक्दासिक्दै समय बित्यो,’ उनले भनिन्, ‘अब त्यही अनुभवका आधारमा अर्को कार्यकालमा अझ राम्रो काम गरेर देखाउनु छ । आफुले थालेका धेरैजसो योजना अधुरै रहेको र फेरी उपाध्यक्षमा दोहरिएर काम गर्ने ईच्छा भएकाले योभन्दा माथिको पदका लागि सोँचेकी छैन ।’

वडा सदस्यहरु वडा अध्यक्ष र उप प्रमुखको दावेदार

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– ४ की वडा सदस्य ईन्दीरा शाही आगामी निर्वाचनमा वडा अध्यक्षको दाबेदार हुन् । वडा सदस्य हुँदा सबैभन्दा सक्रिय भएर काम गरेकाले कयौं पटक अध्यक्ष नभएको समयमा कार्यबहाक वडा अध्यक्षको जिम्मेवारीमा काम गरिसकेको उनको अनुभव छ । अब कार्यकारी पदमा आएर नमुना वडा बनाउने लक्ष्य रहेको उनी बताउँछिन् । पहिलो निर्वाचनमा राप्रपाबाट चुनाव जितेकी शाहीले आगामी निर्वाचनमा वडा अध्यक्षको टिकट पाउने कुरामा आफु बिश्वस्त रहेको बताइन् ।

कतिपय वडा सदस्य महिलाहरुले सिधै पालिका उपप्रमुखमा दावी गरेका छन् । राप्ती सोनारी गाउँपालिका–८ की वडा सदस्य तारा विक, नैनी खत्री तथा वडा नम्बर–९ की वडा सदस्य मिना विष्टले पालिकाको उपाध्यक्षमा दावी गरेका छन् ।

यसअघि नेपाली काँग्रेसबाट वडा सदस्यमा निवाचित भएका तिनै जना आगामी निर्वाचनमा उपाध्यक्ष बन्ने दाउमा छन् । वडा अध्यक्षमा धेरै पुरुषहरु अगाडी सरेको र पार्टीले पनि महिलालाई टिकट दिने सम्भावना नदेखिएकाले गाउँपालिका उपाध्यक्षमा दावी गरेको उनीहरुको भनाई छ ।

पालिका प्रमुख र उपप्रमुखमध्ये एक पदमा संविधानले महिला प्रतिनिधित्व अनिवार्य गरेको छ ।

लुम्विनी प्रदेशका ४ उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका गरी जम्मा १०९ स्थानीय तहमा हाल एक जना महिला मात्र प्रमुखको जिम्मेवारीमा छन् । लुम्बिनी प्रदेशमा रहेका ७३ गाउँपालिकामा ७२ जना पुरुष अध्यक्ष र एक जना मात्रै महिला अध्यक्ष छन् भने उपाध्यक्षमा ४ जना पुरुष र ६९ जना महिला रहेका छन् (विस्तृत विवरणको लागि हेर्नुस तालिका १) ।

यस प्रदेशमा रहेका ४ उपमहानगरपालिका र ३२ वटा नगरपालिका सबैको प्रमुखमा पुरुष रहेका छन् भने उपप्रमुखमा महिला ३१ जना र पुरुष ५ जना रहेका छन् (विस्तृत विवरणको लागि हेर्नुस् तालिका २) ।

तालिका १ः लुम्बिनी प्रदेशमा लैगिंक आधारमा अध्यक्ष र उपाध्यक्षको अवस्था

 

 

राजनैतिक पार्टी

 

अध्यक्ष

उपाध्यक्ष

पुरुष

महिला

पुरुष

महिला

नेपाल कम्युनिष्ट पार्टी -(निर्वाचन हुँदाको नेकपा एमाले र माओवादी केन्द्र)

४०

४४

नेपाली काँग्रेस

२४

 

१८

संघीय समाजवादी फोरम नेपाल

 

 

राष्ट्रिय जनमोर्चा

 

 

मधेशी जनअधिकार फोरम लोकतान्त्रिक

 

 

 

राष्ट्रिय प्रजातन्त्र पार्टी

 

 

 

नयाँ शक्ति पार्टी

 

 

 

स्वतन्त्र

 

 

 

जम्मा

७२

६९

-स्रोतः निर्वाचन आयोग

तालिका २ः लुम्बिनी प्रदेशमा लैगिंक आधारमा मेयर र उपमेयरको अवस्था

 

राजनैतिक पार्टी

प्रमुख

उपप्रमुख

पुरुष

पुरुष

महिला

नेपाल कम्युनिष्ट पार्टी -(निर्वाचन हुँदाको नेकपा एमाले र माओवादी केन्द्र)

२३

२०

नेपाली काँग्रेस

१०

१०

संघीय समाजवादी फोरम नेपाल

 

 

स्वतन्त्र

 

 

राष्ट्रिय प्रजातन्त्र पार्टी

 

 

जम्मा

३६

३१

-स्रोतः निर्वाचन आयोग