शिख समुदायले ‘खालसा साजना दिवस’ भब्य रुपले मनाए


शिख समुदायले ‘खालसा साजना दिवस’ भब्य रुपले मनाए

३२३ औं खालसा साजना दिवस तथा बैशाखी पर्वका अवसरमा आयोजित झाँकसिहितको शोभा यात्रा । तस्विर:रवि कनोजिया /सेतोखरी

नेपालगन्ज ३ बैशाख : शिख समुदायले ३२३ औं खालसा साजना दिवस तथा बैशाखी पर्व भब्यरुपले मनाएकाछन् ।

देशमै सबैभन्दा बढि बाँकेमा शिख समुदायको बसोबास रहेकोछ । खालसा साजना दिवसका अवसरमा शिख समुदायले शनिबार नेपालगन्जमा विविध कार्यक्रमको आयोजना गरेर भव्य रुपमा मनाएका हुन् ।

नेपालगन्जको सुर्खेतरोडस्थित गुरुद्धाराबाट सुरु भएको ३२३ औं खालसा साजना दिवस तथा २०७९ सालको बैशाखी पर्वको अवसरमा आयोजित विभिन्न झाँकसिहितको शोभा यात्राले नगर परिक्रमा गरेको थियो ।

सोक्रममा शिख समुदायका कलाकारले परम्परागत कलाकौशल प्रर्दशन गरेका थिए । कोरोना भाईरसको महामारीका कारण तीन वर्षसम्म मनाउन नपाएको दिवसका अवसरमा बैशाख १ गतेदेखि आज ३ गतेसम्म मनाइएको खालसा साजना दिवसको अन्तिमदिन झाँकीसहितको ¥याली भव्य रुपमा मनाईएको गुरुद्धारा श्री गुरुनानक सिंह सभा नेपालगन्जका अध्यक्ष राजेन्द्र सिंह सरदारले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital

गुरुनानक देव सेवा सोसाइटी इन्टरनेसनल युएसएको आयोजनामा तीन दिनसम्म विविध कार्यक्रमको आयोजना गरेर खालसा साजना दिवस र बैशाखी पर्वलाई भव्य रुपमा मनाइएको सरदारले बताए ।

खालसा साजना दिवस तथा बैशाखी पर्व आयोजक संस्था गुरुनानक देव सेवा सोसाइटी इन्टरनेसनल युएसएका प्रतिनिधि दलजित सिंह सरदारले खाल्साको अर्थ बारे प्रष्ट पार्दै भने शिख समुदायको धर्म उत्पती भएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

उनले भने –‘खाल्साले सबै शिखहरुलाई पाँच निसानी दिएको छ त्यो हामीले जन्मेदेखि लगाउँदै आएका छौं ।’ हातमा लगाएको कडा, टाउकोमा पगरी भित्र कंगी, कम्मरमा सानो चक्कु, एउटा भित्री बस्त्र र दाह्री कहिल्यै नकाट्ने खाल्साको पाँच निसानी रहेको उनले प्रष्ट पारे । यो निसानी सिख समुदायका सबैले लगाउने गरेको उनले बताए ।

दिवसका अवसरमा बैशाख १ गतेदेखि ३ गते विहानसम्म गुरुद्धारामा अखण्ड पाठको आयोजना गरिएको थियो । सो अवधी भर ‘लंगर’ र भण्डाराको समेत व्यवस्थापन गरिएको थियो ।

सो यात्रामा भारतबाट आएका युवाले लठ्ठी, तलवारसहितको मार्शल आर्ट(गतका) देखाएको श्री गुरुनानक सिंह सभा नेपालगन्जका अध्यक्ष राजेन्द्र सिंह सरदारले जानकारी दिए ।