नेपालगन्ज ९ बैशाख : लोकतन्त्र दिवसको अवसरमा आगामी वैशाख ११ गते हुने भनिएको ‘रारा म्याराथन’ स्थगित गरिएकोछ । आसन्न स्थानीय तहको निर्वाचनका कारण हाललाई म्याराथन स्थगित गरिएको रारा म्याराथन इभेन्ट्स संयोजक चक्रबहादुर चन्दले जानकारी दिए ।
उनले म्याराथन स्थगित भएको सूचना सामाजिक सञ्जालमार्फत समेत सार्वजनिक गरेकाछन् । रारा म्याराथनको पूर्व निर्धारित मितिमा स्थगन गरिएको र अर्को मिति छिट्टै जानकारी गराउने बताउँदै चन्दले म्याराथनमा सहभागिताका लागि नाम दर्ता भएकाहरूको सोही अनुसार हुने बताए ।
यसअघि पश्चिम नेपालको प्रमुख पर्यटकीय स्थल मुगुको रारा तालबाट शुरु हुने म्याराथन जुम्लामा समापन गर्ने तयारी गरिएको थियो ।
अन्तरालको आयोजना र व्यवस्थापनमा हुने यस म्याराथनबा विशेष गरि कर्णाली क्षेत्रको पर्यटन, साहसिक खेलकुद र हाइअल्टिच्युट स्पोर्टसको विकासमा कोशेढुँगा सावित हुने अपेक्षा गरिएको इभेन्ट्स संयोजक चन्दले बताए ।
‘यस क्षेत्रकै प्रमुख पर्यटकीय गन्तब्य रारा ताल र यस क्षेत्रको पर्यटकीय स्थललाई विश्वमा परिचित गराउन रारा म्याराथन महत्वपुर्ण हुनेछ, संयोजक चन्दले भने,‘खेलकुद विकास त मुख्य उद्देश्य हो नै यसले विशेषगरी कर्णाली प्रदेशका प्रतिभावान खेलाडीहरुलाई आफ्नै ठाउँमा क्षमता देखाउने अवसर मिल्नेछ ।’
अन्तराल इभेन्ट व्यवस्थापनमा मोफसलकै अग्रणी संस्था हो । १५ वर्ष देखी अन्तरालले खेलकुद, गीत संगीत, डकुमेन्ट्री निर्माण, पुस्तक प्रकाशन लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।
विश्व किर्तिमानी खेलाडी धावक हरिबहादुर रोकायाको जीवनीमा आधारित डकुमेन्ट्री ‘हरि बहादुर’ निर्माण गरेको अन्तरालले जनआन्दोलन सम्बन्धी पुस्तक ‘जनता उठेपछि’ प्रकाशन गरेको छ ।
नेपालगन्ज गोल्डकप फुटबलको व्यवस्थापन गर्दै आएको अन्तरालसँग अन्तर बैंक फुटबल, इन्डो नेपाल गेम्स, दोस्रो राष्ट्रिय बिच भलिबल लगायतका खेलकुद र ठुला कर्पोरेट इभेन्ट्समा व्यवस्थापन सम्हालेको अनुभव छ ।
यसैगरी पश्चिम नेपालको पर्यटन, फोटोग्राफीको विकासका लागि लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश समेटी नेपालगन्ज फोटो फेस्टिवल, नेपाल इन्डिपेन्डेन्ट फिल्म फेस्टिवल र नेपाली राष्ट्रिय झण्डा महोत्सव गर्दै आएको छ ।
स्थानीय तह निर्वाचनका कारण स्थगित भएको रारा म्याराथनलाई खेलकुद पर्यटन र नेपाली भाषा, संस्कृतिको उद्गम थलो सिंजा(जुम्ला), कर्णाली प्रदेश र सिंगो पश्चिम नेपाल झल्किने गरी भव्यता दिइने अन्तरालकी सञ्चार अधिकृत स्नेहा केसीले बताइन् ।
म्याराथनमा सहकार्य र सहभागिताका लागि अन्तरालले सबैंसँग आग्रह गरेको छ । आयोजकले केही दिनमा रारा म्याराथनको नयाँ कार्यतालिका सार्वजनिक गर्ने तयारीमा जुटेको समेत अन्तरालकी सञ्चार अधिकृत स्नेहाले जानकारी दिइन् ।
यसअघि रारा म्याराथनको सद्भावना दूतमा मिरा राईलाई अनुबन्धित गरिएको थियो । कीर्तिमानी अल्ट्रा म्याराथन धाविका मिरा रारा म्याराथनको सद्भावना दूत(गुडवील एम्वासडर) भएसंगै रारा म्याराथनमा समेत सहभागी हुनेछिन् ।
मिरा राई विश्व एथलेटिक्स जगतमा साहसिक नेपाली ट्रेल तथा स्काई रनरका रुपमा परिचित एथलेट हुन् । दर्जनौं अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि भएर पदक जित्न सफल मिरा सन् २०१७ को ‘नेसनल जोग्रफी एडभेन्चर अफ द एयर’ समेत विजेता हुन् ।
रारा म्याराथनका अध्यक्ष जयनारायण शाहले मिरा राई जस्तो कीर्तिमानी धाविकालाई सद्भावना दूतको रुपमा पाउँदा रारा म्याराथनको उचाई बढेको बताए । उनले भने, ‘मिरा राई जस्तो व्यक्तित्व, जसको जीवनयात्रा सुन्दा दन्त्यकथा जस्तो लाग्छ । उहाँको अनुभव, साहस र अन्तराष्ट्रिय अनुभवबाट नयाँ खेलाडीले धेरै कुरा सिक्नेछन् ।’
थप समाचार
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ