त्रिदेशीय एकदिवसीय शृंखला खेल्न राष्ट्रिय क्रिकेट टोलीको बिदाइ


त्रिदेशीय एकदिवसीय शृंखला खेल्न राष्ट्रिय क्रिकेट टोलीको बिदाइ

नेपालगन्ज १४ जेठ : अमेरिकामा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय शृंखला खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ ।

शनिबार नेपाल क्रिकेट संघ (क्यान)ले सिरिजका लागि अमेरिकाको टेक्सस जाने नेपाली टोलीलाई बिदाइ गरेको हो ।

नेपाली टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज, क्यानका अध्यक्ष चतुरबहादुर चन्दलगायत पदाधिकारीले बिदाइ गरे । त्यसक्रममा मन्त्री गहतराजले खेलाडीलाई दबाबविहीन भएर खेल्न आग्रह गरे ।

उनले सरकारले नेपाली क्रिकेटलाई चिन्दा क्यानलाई चिन्ने भएकाले क्यानको निर्णयलाई सबैले स्वीकार गर्नुपर्ने धारणा राखे । पछिल्लोपटक क्रिकेटमा देखिएको विवादलाई आफूहरू नै मिलेर समाधान गर्ने र त्यसमा खेलाडीले ध्यान नदिन उनले आग्रह गरे ।

Kids Festival 2022
kanti aarogya hospital
add

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले लिग–२ मा अझै धेरै खेल खेल्न बाँकी रहेकाले धेरै अंक जोड्दै विश्वकप सम्भावनालाई कायम राख्न चाहेको बताए । उनले नेपाली टोली निकै सन्तुलित रहेको र उत्कृष्ट खेल प्रदर्शन गर्ने उल्लेख गरे ।

मुख्य प्रशिक्षक पुबुदु दासानायकेले पछिल्ला दुई–तीन हप्तादेखि निकै कडा मिहिनेत गरिरहेको भन्दै राम्रो नतिजा आउने विश्वास व्यक्त गरे । अहिलेको टोली पनि निकै राम्रो बनेको उनको भनाइ छ ।

शृंखलामा नेपाल, अमेरिका र ओमानबीच प्रतिस्पर्धा हुनेछ । शृंखलाका लागि क्यानले सन्दीपको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको थियो ।

शृंखलाअन्तर्गत नेपालले पहिलो खेल ओमानविरुद्ध खेल्नेछ । नेपाल र ओमानबीचको खेल आउँदो जुन ९ तारिखमा हुनेछ । नेपालले दोस्रो खेल अमेरिकाविरुद्ध जुन ११ मा खेल्नेछ । नेपालले तेस्रो खेल ओमानविरुद्ध जुन १४ र अन्तिम खेल जुन १५ मा अमेरिकाविरुद्ध खेल्ने तालिका छ ।

लिग–२ को अंकतालिकामा नेपाल छैटौँ स्थानमा छ । नेपालले अहिलेसम्म १२ खेल खेलेको छ । ६ जित र ६ खेलमा हार व्यहोरेको छ ।