File Photo
नेपालगन्ज २६ जेठ : पश्चिम नेपालमा गर्मी ह्वात्तै बढेकोछ । गर्मीका कारण यसक्षेत्रको जनजिवन प्रभावित बनेकोछ । गर्मी बढेसंगै बाँकेका स्थानीय तहले विद्यालय पठनपाठन बन्द गर्न थालेकाछन् । नेपालगन्ज र खजुरा गाउँपालिकाले भोली शुक्रबारदेखि जेठ ३१ गते मंगलबारसम्म पाँच दिनका लागि विद्यालय बन्द गरेकाछन् ।
गर्मीले आजित बनाएपछि मानिसलाई के गर्ने र कसो गर्ने भन्ने हुन्छ । कहाँ शितल होला, के खाँदा शितल होला भन्ने पिरलो सबैलाई हुन्छ । त्यसैले गर्मीका बेला खाने कुरामा विशेष ध्यान दिनुपर्छ ।
गर्मीको समयमा शरीरमा पानीको कमी हुने अर्थात् डिहाइड्रेसन हुने लगायतका विभिन्न खाले संक्रमण तथा स्वास्थ्य समस्या देखिन सक्छन् । डिहाइड्रेसनको खतरा गर्मी याममा निकै बढि हुने भएकाले आफ्नो खानपिनको आदतमा विशेष ध्यान दिन र जिउको रोगप्रतिरोधी क्षमता बढाइराख्न विशेषज्ञहरुले सल्लाह दिने गरेका छन् ।
गाँजर, गोलभेँडा, पालक, काँक्रो, खरबुजा, मेवा, आँपजस्ता फलफूल खानुपर्छ । गर्मीमा यस्ता मौसमी फल खानु ज्यादै राम्रो हो । यसले एसिडिटीको समस्याबाट पनि छुटकारा दिलाउँछ । यस्ता मौसमी तरकारी र फलफूल खाने गर्नाले शरीर शीतल रहन्छ ।
पोषण विज्ञहरुका अनुसार गर्मीमा मानव शरीरबाट अत्यधिक पसिना निस्कने कारण इलेक्ट्रोलाइट असन्तुलित बन्दछ । त्यसकारण नियमित खानाको अलावा फलफूल तथा सागसब्जी र प्रसस्त सलाद लिनु जरुरी हुन्छ । गर्मी याममा सरीरमा पानीको पर्याप्त आपूर्तिका लागि प्रसस्त पानीको मात्रा हुने सागसब्जी तथा तरकारीहरु जस्तै फर्सी, करेला, लौका, पालुंगो, हरियो सिमीको भोजन गर्नुपर्छ ।
गर्मी याममा खाजाको रुपमा पनि दुध, फलफुल, जुस, टुसा उमारेको गेडागुडी लगायतका परिकार समावेश हुनु आवश्यक हुन्छ । त्यसका साथै बिहानको खानामा दालभात समावेश गर्नु राम्रो हुन्छ ।
बेलुकीको खानामा फाइबरयुक्त सागसब्जी, बन्दा तथा काउली र रोटीको सेवन गर्नु स्वस्थकर हुने र जिउले पचाउन सजिलो हुने बताइन्छ ।
गर्मी याममा डिहाइड्रेसनबाट बच्नका लागि ग्रीन टी अथवा कोल्ड कफीको सेवन पनि लाभदायी हुन्छ । गर्मीको समयमा शरीरको पाचन प्रणालीमा समेत समस्या आउने भएकाले हल्का खाना खानुपर्छ नत्र अपच हुने जोखिम हुन्छ । लामो समयको अन्तरालमा धेरै खानेकुरा खानुभन्दा छिटो छिटो तर थोरै थोरै खानेकुरा खाएमा पचाउन सजिलो हुन्छ ।
त्यस्तै तरबुजा, खरबुजा, कांक्रो, लिची, स्याउ जस्ता मौसमी फलफुल खानुपर्छ, जसले शरीरमा पानीको पर्याप्त आपूर्ति गर्नुका साथै रोग प्रतिरोधी क्षमता पनि बढाउँछ । बजारमा पाइने चिसो पेय पदार्थको साटो दही, उखुको रस, नरिवल पानी तथा लस्सी पिउनु आवश्यक हुन्छ ।
तेलमा तारेका, भुटेका खानेकुराहरु नखानु नै राम्रो हुन्छ । खानेकुरा पकाएर लामो समयसम्म नराख्नुहोस्, छिटै खानुहोस् । बासी खानेकुरा खाँदा रोगको संक्रमण हुने जोखिम हुन्छ ।
थप समाचार