बाँकेको विद्युत समस्याप्रति गम्भीर छु, छिटै समाधान हुन्छ : कार्यकारी निर्देशक कुलमान

विद्युत समस्या समाधान गर्न काँग्रेस बाँकेद्वारा ध्यानाकर्षण


बाँकेको विद्युत समस्याप्रति गम्भीर छु, छिटै समाधान हुन्छ : कार्यकारी निर्देशक कुलमान

नेपालगन्ज ५ असार : नेपाली काँग्रेस बाँकेले जिल्लामा देखिएको विद्युत अनियमितताका सम्बन्धमा नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएको छ ।

काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल नेतृत्वको टोलीले आईतबार काठमाण्डौं पुगेर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई विद्युत अनियमिताका सम्बन्धमा ध्यानाकर्षण गराएको हो ।

सभापति गौडेलद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा चर्को गर्मीको समयमा बाँकेबासीले झेल्दै आएको विद्युत समस्या समाधानका लागि गम्भीर बनिदिन आग्रह गरिएको छ ।

विद्युत समस्या समाधानका लागि तत्काल पहल गर्न ध्यानाकर्षण गराइएको टोलीमा सहभागी काँग्रेस बाँकेका कोषाध्यक्ष यज्ञबहादुर बस्नेतले सेतोखरीलाई जानकारी दिए ।

ध्यानाकर्षण पत्र बुझ्दै कार्यकारी निर्देशक घिसिङले बाँकेले झेलिरहेको विद्युत समस्या समाधानका लागि आफू गम्भीर रहेको र छिट्टै समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको बस्नेतले जानकारी दिए ।

काँग्रेसले बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘लामो समयदेखि देखिँदै आएको विद्युत आपूर्तिको समस्यालाई नजरअन्दाज गर्दै नागरिक अधिकार नै कुण्ठित गर्ने गरी सरोकारवाला निकायबाट भइहरहेको गैरजिम्मेवारपूर्ण व्यवहारप्रति नेपाली काँग्रेस बाँकेको गम्भीर ध्यानाकर्षण भएको छ ।’

ध्यानाकर्षण पत्र बुझाउन काँग्रेस बाँकेका सभापति गौडेलसहित कोषाध्यक्ष बस्नेत, जिल्ला सदस्य मनप्रसाद अचार्य र काँग्रेस नेता एवम् नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य चक्र अधिकारी नेपाल विद्युत प्राधिकरण पुगेका थिए ।

लामो समयदेखी देखिदै आएको बिद्युत आपुर्तिको समस्या समाधान गर्न माग गर्दै नेपाली काँग्रेसले असार १ गते बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई ज्ञापन पत्र बुझाएको थियो ।

काँग्रेस केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी र जिल्ला सभापति नारायणप्रसाद गौडेलले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी खत्रीलाई ज्ञापन पत्र बुझाएका थिए ।

सो बेला बिद्युत आपुर्तिको समस्यालाई नजरअन्दाज गर्दै नागरिक अधिकार नै कुण्ठित गर्ने गरी सरोकारवाला निकायबाट भइरहेको गैरजिम्मेवारपूर्ण ब्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको काँग्रेस बाँकेले जनाएको थियो ।

ज्ञापन पत्र बुझिसकेपछि प्रजिअ खत्रीले नेपालगन्जको बिद्युत समस्याका विषयमा आफुले बिद्युत प्राधिकरणका जिम्मेवार अधिकारीसँग समन्वय गर्ने काम गरिरहेको र पुनः गर्ने प्रतिवद्धता जनाएका थिए ।

यस्तै यसअघि पनि बाँके जिल्लामा देखिएको विद्युत अनियमितताको समस्यालाई लिएर नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई विद्युत अनियमिताका सम्बन्धमा ध्यानाकर्षण गराएको थियो ।

थप समाचार

नेपालगन्जको विद्युत समस्या समाधानका लागि मेयर विष्टले गरे कुलमानसँग पहल

काँग्रेस बाँकेले भन्यो विद्युत समस्या समाधान गर