लागुऔषधको दलदलमा युवती : पुर्नस्थापनामा बसेका ६० प्रतिशतमात्रै सफल


लागुऔषधको दलदलमा युवती : पुर्नस्थापनामा बसेका ६० प्रतिशतमात्रै सफल

नेपालगन्ज १३ असार : नेपालगन्जमा अहिले २१ जना युवती लागुऔषधको दलदलबाट उम्किने प्रयासमा छन् । महंगो शुल्क तिरेर उनीहरू उपचार तथा पुनर्स्थापना केन्द्रबाट उपचार लिइरहेका छन् । नेपालगन्जमा थुप्रै युवती अझै कुलतमै छन् ।

लहलहै र बाध्यतामा परेर लागुऔषधको दलदलमा भाँसिन पुगेका उनीहरू उम्किन सकेका छैनन् । पढेलेखेका, उच्च घरानाका युवती पनि कुलतमा फसेको पाइएको छ ।

बाँकेमा २० वटा उपचार तथा पुनर्स्थापना केन्द्र छन् । चालु आर्थिक वर्षको असार ७ गतेसम्ममा ८ सय ८७ जनाले उपचार सेवा लिएका छन् । त्यसमा ९३ जना महिला थिए । उपचार लिएकामध्ये ५ सय ७५ जना डिस्चार्ज भइसकेका छन् । डिस्चार्ज हुनेमा ७२ जना महिला छन् । अहिले ३ सय १२ जनाको उपचार भइरहेको छ । त्यसमा २१ जना महिला छन् ।

लागुऔषध कारोबारमा पनि महिला अगाडि नै छन् । सेवन नगर्नेहरू पनि छिटो पैसा कमाउने लोभले कारोबारमा लागेको पाइएको छ । लागुऔषध ओसारपसार गरिदिने वा सम्पर्कस्थल बनेर कारोबारमा सघाउने गरेको पाइन्छ ।
पहाडी जिल्लाका महिलाले चरेश, अफिम बोकेर नेपालगन्ज झर्नु र यहाँका रैथाने मधेसी महिला वा पहाडी युवतीले कारोबार गर्नुलाई नौलो मानिने गरेको छैन ।

Kids Festival 2022
kanti aarogya hospital

अर्थ जुटाउन सक्ने परिवारले आफ्ना सन्तानलाई सुधार्न पुनर्स्थापना केन्द्रमा राख्ने गर्दछन् । पुनर्स्थापना केन्द्रमा बसेर फर्किएका ठूलो संख्या फेरि पूरानै बाटोमा हिँडेको भेटिएका छन् । सहरा पुनर्स्थापना केन्द्रका सञ्चालक अभिराज क्षेत्रीले पुनर्स्थापना केन्द्रको उपचारमा बसेका ६० प्रतिशतमात्रै सफल भएको बताए ।

पुनर्स्थापना केन्द्रमा बसेर निस्किएपछि फलोअपमा नआएका, कोर्स नसिध्याई निस्किका, पारिवारिक एकीकरण अभाव वा आर्थिक अभावले ४० प्रतिशत उपचारबाट फर्किएका व्यक्ति पुनः प्रयोगकर्ता भएको क्षेत्रीको बुझाइ छ ।

नेपालमा बर्सेनि १२ प्रतिशत नयाँ प्रयोगकर्ता थपिने तथ्यांक छ । नेपालगन्जमा योभन्दा बढी रहेको सम्बद्धहरू बताउँछन् । प्रहरी, लागुऔषधी नियन्त्रण ब्यूरोले बाँकेमा दैनिक नै लागुऔषध कारोबारी पक्राउ गर्ने गर्दछ ।

नेपालगन्ज कारागारमा ७ सय ५३ जना थुनुवा रहँदा आधाजसो लागुऔषधका कैदीबन्दी रहेका छन् । जिल्ला प्रहरी वा मातहतका प्रहरी कार्यालयको थुनुवा कक्षमा लागुऔषधका थुनुवा अधिक छन् ।

थप समाचार

बाँकेमा लागुऔषध मुद्दामा १८५ जना पक्राउ, ट्याब्लेटको कारोबार बढ्यो