बाँकेका ‘सतप्रतिशत’ बालबालिकाले लगाए कोभिड विरुद्धको खोप, नेपालगन्जको कभरेज ९६.६ प्रतिशत

लक्ष्यभन्दा १७८७ बढि बालबालिकाले खोप लगाए


बाँकेका ‘सतप्रतिशत’ बालबालिकाले लगाए कोभिड विरुद्धको खोप, नेपालगन्जको कभरेज ९६.६ प्रतिशत

File Photo

नेपालगन्ज १८ असार : बाँकेमा ‘सतप्रतिशत’ बालबालिकाले कोभिड–१९ विरुद्धको ‘फाइजर–बायोएनटेक’ खोप लगाएका छन् । स्वास्थ्य कार्यालय बाँकेका खोप फोकलपर्शन नरेश श्रेष्ठका अनुसार असार ९ गतेदेखि १५ गतेसम्म सञ्चालन भएको खोप अभियानमा बाँकेका सतप्रतिशत बालबालिकाले खोप लगाएका हुन् ।

बाँकेका आठवटै पालिकामा रहेका लक्षित सतप्रतिशत बालबालिकाले उक्त खोप लगाएका हुन् । यो कुल खोप प्रगति १०२.३ प्रतिशत हो ।

खोप अभियान अन्र्तगत बाँकेका ७६ हजार २३९ जनालाई खोप लगाउने लक्ष्य लिइएको थियो तर, ४ दिनको खोप अभियानले बाँकेका ८७ प्रतिशत अर्थात ६६ हजार ३२३ जना बालबालिकाले मात्र खोप लगाएपछि थप दुईदिन समय अवधि थपिएको थियो ।

यसअघि असार ९ गते सञ्चालित कोभिड–१९ विरुद्धको ‘फाइजर–बायोएनटेक’ खोप अभियानमा पहिलो दिन २३ हजार १२६ जना, दोस्रो दिन २३ हजार ३४३, तेस्रो दिन ९ हजार २ र चौथो दिन ११ हजार ९४७ जना गरि कुल बाँकेका ६६ हजार ३२३ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय बाँकेले जनाएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

बाँकेसहित २७ जिल्लामा गत असार ९ गतेबाट ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड–१९ विरुद्धको ‘फाइजर–बायोएनटेक’ खोप लगाउने अभियान चलेको थियो ।

‘यो खोप सेवा असार १२ गतेसम्म भनिएकोमा आवश्यक छुट बस्तीका बालबालिकाहरुलाई लक्षित गर्दै आवश्यकता अनुसार समय थप गरि असार १५ गतेसम्म स्थानीय तहले तोकेको खोप केन्द्रमार्फत खोप अभियान सञ्चालन भएको थियो’ फोकल पर्शन श्रेष्ठले जानकारी दिए ।

५ वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड विरुद्धको फाइजर–बायोएनटेक खोप अभियान बाँकेका ८ पालिकाकामा एकैपटक सञ्चालनमा ल्याइएको थियो । जसका लागि जिल्लाका ५ सय ८ स्थानमा खोप केन्द्र राखिएको थियो । यसअघि बाँकेमा १२ वर्ष उमेर समूहभन्दा माथिका व्यक्तिलाई खोप लगाउने अभियान चलेको थियो ।

खोप अभियान अन्र्तगत बाँकेको राप्तीसोनारी गाउँपालिकामा ९ हजार ३५७ जना लक्षित संख्या थियो । यहाँ कुल ८ हजार २३७ जनाले खोप लगाएकाछन् । जुन खोप प्रगति ८८ प्रतिशत रहेकोछ ।

कोहलपुर नगरपालिकामा लक्षित संख्या १० हजार ३९१ रहेको थियो । यहाँ कुल १६ हजार ८५३ जनाले खोप लगाएकाछन् । यहाँ खोप प्रगति १६२ प्रतिशत छ ।

यस्तै बैजनाथ गाउँपालिकामा ८ हजार ३४५ लक्ष्य रहेकोमा यहाँ ९ हजार ९९७ जनाले खोप लगाएकाछन् । यहाँ खोप प्रगति १२० प्रतिशत छ । खजुरा गाउँपालिकामा ८ हजार २२४ लक्ष्य थियो । यहाँका ८ हजार ४९८ जना बालबालिकाले खोप लगाएकाछन् । खजुराको खोप प्रगति १०३ प्रतिशत रहेकोछ ।

जानकी गाउँपालिकामा ६ हजार ३७२ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेकोमा ४ हजार २७१ जना बालबालिकाले खोप लगाएकाछन् । यहाँ खोप प्रगति ६७ प्रतिशत छ ।

यसैगरि नेपालगन्ज उपमहानगरपालिकामा २० हजार २३१ लक्ष्य थियो । यहाँ १९ हजार ५४४ जनाले खोप लगाएकाछन् । नेपालगन्जको खोप प्रगति ९६.६ प्रतिशत रहेकोछ । डुडुवा गाउँपालिकामा ६९८८ लक्ष्य थियो । यहाँ ५ हजार ६२३ जना बालबालिकाले खोप लगाएकाछन् । डुडुवाको खोप प्रगति ८०.५ प्रतिशत रहेकोछ ।

नरैनापुर गाउँपालिकामा ६ हजार ३३२ जनालाई खोप लगाउने लक्ष्य लिइएकोमा यहाँ ५ हजार ३ जनाले खोप लगाएकाछन् । यहाँ खोप प्रगति ७९ प्रतिशत रहेकोछ ।

खोप अवधिभर कुल २३ जनामा सामान्य र ३ जनामा कडा खाले लक्षण पाइएको थियो । जसमा राप्तीसोनारीमा ५ जना सामान्य र १ जनामा कडा, कोहलपुरमा ३ जनामा समान्य र एक जनामा कडा तथा नेपालगन्जमा एकएक जनामा कडा र सामान्य लक्षण पाइएको थियो ।

यस्तै बैजनाथमा २, खजुरामा ३, जानकीमा १, डुडुवामा ४ र नरैनापुरमा ३ जनामा सामान्य लक्षण भेटिएको थियो । बालबालिकालाई खोप लगाएपछि समस्या देखिए तत्काल उपचारका लागि ‘एड्रिलाइन’ इन्जेक्सनसमेत खोप केन्द्रमा राखिएको थियो ।

स्वास्थ्य कार्यालय बाँकेले अहिले फाइजर खोपको पहिलो मात्रा लिएका बालबालिकाहरुको दोस्रो डोजका लागि पुनः सूचना जारी गर्ने जनाएकोछ ।

थप समाचार

बाँकेमा कोभिड–१९ विरुद्धको ‘फाइजर–बायोएनटेक’ खोप ८७ प्रतिशतले लगाए