अग्रिम हाजिरी गर्ने भेरीका डाक्टर नागलाई ४८ घण्टाभित्र मन्त्रालयमा उपस्थित हुन आदेश


अग्रिम हाजिरी गर्ने भेरीका डाक्टर नागलाई ४८ घण्टाभित्र मन्त्रालयमा उपस्थित हुन आदेश

नेपालगन्ज २२ असार : अग्रिम रुपमा सरकारी अस्पतालमा हाजिर गर्दै निजीमा गएर काम गर्ने भेरी अस्पतालका डाक्टरमाथि कारबाही अगाडि बढेको छ ।

भेरी अस्पताल नेपालगन्जमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर सुरेशकुमार नागले अग्रिम हाजिर गर्दै निजीमा काम गरेको फेला परेपछि कारबाही प्रक्रिया अगाडि बढाइएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डाक्टर नागलाई ४८ घण्टाभित्र मन्त्रालयमा उपस्थित हुन आदेशसहितको पत्र पठाएको छ । मन्त्रालयले बुधबार डाक्टर नागलाई मन्त्रालयमा उपस्थित हुन पत्र काटेको हो ।

मन्त्रालयमा आएपछि उनीमाथि स्पष्टीकरणसहित अन्य कारबाही प्रक्रिया अगाडि बढाउने तयारी मन्त्रालयले गरेको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

डाक्टर नाग असार २० गते सोमबार अस्पतालमा पुगेर असार २९ गतेसम्मको हाजिरी गरेर गएको प्रमाणसहित जिल्ला प्रशासन कार्यालय र मन्त्रालयमा कारबाहीका लागि माग गर्दै पत्र पठाइएको थियो ।

सोमबार (असार २० गते) अस्पताल पुगेर २९ गतेसम्मको अग्रिम हाजिरी गरेको पाइएपछि अस्पताल विकास समितिले जिल्ला प्रशासन कार्यालय, बाँकेमा कारबाहीका लागि लेखि पठाएको हो । त्यसको बोधार्थ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाइएको थियो ।

डाक्टर नागले अस्पतालमा आफ्नो ड्युटी पूरा नगरेको भन्दै यसअघि पनि अस्पताल विकास समितिले २०७८ साल साउन २२ गते कारबाहीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र काटेको थियो । तर, त्यसको सुनुवाइ भएन ।

डाक्टर नागलाई अहिलेसम्म पनि कारबाहीको प्रक्रिया अघि बढ्न नसकेको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद कुमार धितालले जानकारी दिए ।

नेपालगन्जको पासाङल्हामु मार्गमा डाक्टर नागको आफ्नै वैष्णवी अस्पताल सञ्चालनमा रहेको छ ।

वरिष्ठ डाक्टरहरुले नै अटेर गर्ने र आफ्ना नीजि अस्पतालमा मात्र ध्यान दिँदा अस्पतालमा उपचार गर्न आउने सर्वसाधरणले सास्ती खेप्नु परेको अस्पताल विकास समितिको ठम्याई छ । राज्यको सेवा सुविधा लिएर गैरजिम्मेवार काम गर्नु गलत भएको भन्दै यस्ता अटेरी गर्ने जो कोही कर्मचारीलाई कारबाही गर्न अस्पताल विकास समिति पछि नहट्ने समितिका अध्यक्ष धितालले बताए ।

भेरी अस्पताल नेपालगन्जका वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर सुरेशकुमार नागले अग्रीम हाजिर गरेर आफुले गल्ती गरेको स्विकारि सकेकाछन् ।

उनले आफुले जानाजान यस्तो गल्ती नगरेको भन्दै भुलबस भएको दावि गरेकाछन् । ‘जेठ महिना ठानेर हाजिर गरेको थिए, त्यतिबेलै मैले क्षमा मागेको पनि हो, अहिले पनि भन्छु मेरो त्यो गल्ती हो ।’
डाक्टर नाग २०५९ साल भदौदेखि भेरी अस्पतालमा कार्यरत छन् । उनी १० औं तहका डाक्टर हुन् ।

भेरी अस्पताल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको रिफरल सेन्टरको रुपमा रहेको छ । यहाँका सबैजसो वरिष्ठ डाक्टरको कि त अस्पताल छ, अस्पताल नभएकाहरु क्लिनिकमा ड्यूटी गर्ने गर्छन् । भेरी अस्पतालको ड्युटी समयमा पनि प्रायः बसेको पाइँदैन ।

थप समाचार

अग्रिम हाजिरी गर्ने भेरीका डाक्टर नागलाई कारबाहीको सिफारिस