मोबाइल एपमै उत्पादन देखाएर बेच्दै किसान


मोबाइल एपमै उत्पादन देखाएर बेच्दै किसान

नेपालगन्ज २९ असार : दुई वर्षअघि नेपाल कृषक समूह जयसपुर बाँकेका कृषकले उत्पादन गरेका १,२०० क्विन्टल बन्दाकोबी विक्री नभएर कुहिएको थियो । अहिले त्यस्तो समस्या छैन । समूहमा आबद्ध ५० जना कृषकले फलाएका तरकारी कृषि पथ नामक मोबाइल एपमार्फत् प्रदर्शन गरेर विक्री गरिरहेको समूहका अध्यक्ष असलम राई बताउँछन् ।

‘हाम्रो कुनै पनि उत्पादन जस्तै खेतमा तरकारी फल्यो भने त्यसको फोटो खिचेर कृषि पथमा राख्दिन्छौँ, मूल्य र परिणाम पनि त्यसैमा हुन्छ’, उनले भने । ‘तरकारीको गुणस्तर हेरी अर्डर गर्छन् अनि गाडी पनि पठाइदिन्छन् । ताजा तरकारी टिपेर हामी पठाइदिन्छौँ, पैसा पनि त्यही एपमार्फत् ब्याङ्क खातामा आउँछ ।’

बढ्दै छन् प्रयोगकर्ता

Kids Festival 2022
kanti aarogya hospital
add

तरकारीसँगै अब खसी, बोका पनि मोबाइल एपमार्फत् विक्री गर्न लागेको पनि असलमले बताए । मुस्लिम समुदायको ईद उल–अ¬ज्हा र हिन्दूहरूको बडादशैँलाई ध्यानमा राखी समूहमार्फत् करिब २५० वटा खसी तयार भइसकेको बताउँदै उनले विक्री गर्ने खसीका फोटो एपमा राखेर बेच्ने उनले सुनाए ।

बाँके जिल्लाबाट प्रयोगमा ल्याइएको कृषि पथ एप अहिले कपिलवस्तु, रूपन्देही, नवलपरासी र बर्दियाका २,३०० जनाले प्रयोग गरिरहेको बताइएको छ ।

यो एपमार्फत् विशेषगरी कृषक, व्यापारी, एग्रोभेट र उपभोक्ताले लाभ लिइरहेको तथा हालसम्म एक करोड ७५ लाख रुपैयाँको कारोबार भइसकेको घरेलु तथा साना उद्योग महासङ्घ बाँकेले जनाएको छ ।
बाँके हवलदारपुरस्थित कृषि हाटबजारमा तरकारी व्यवसाय गर्दै आएकी प्रमिता राई पनि हिजोआज मोबाइल एपमार्फत् तरकारी मगाएर उपभोक्तालाई विक्री गरिरहेको बताउँछिन् ।

महिला कृषक

पहिले किसानका खेतमा गएर तरकारी खरिद गर्नुपर्ने बाध्यता रहे पनि अहिले एपमै हेरेर मगाउँदा सबैथरीका तरकारी किसान आफैँले ल्याइदिने गरेको उनले बताइन् । ‘पसलमा तरकारी सकिनासाथ कृषि पथ एप खोल्छु त्यसैबाट छानीछानी तरकारी मगाउँछु, नजिकैको गाउँबाट आफूले चाहे जस्तै तरकारी आइपुग्छ,’ उनले भनिन् ।

यो एप प्रयोगमा आएपछि कृषकले तरकारी टिपेर धेरै समयसम्म राख्न नपर्ने र उपभोक्ताले पनि ताजा तरकारी खान पाइहेको उनी बताउँछिन् ।  घरेलु तथा साना उद्योग महासङ्घ बाँकेका अनुसनर लकडाउनका बेला अधिकांश किसानले उत्पादन गरेका तरकारी विक्री नभएर कुहिएको समस्यालाई ध्यानमा राख्दै केयर नेपालले एपको विकास हो ।

एप प्रयोग गर्ने तरिकाबारे महासङ्घमा आबद्ध कृषक समूह तथा व्यवसायीलाई केयर नेपालले तालिम दिएपछि प्रयोगमा आएको हो ।

खसी, बोका, हाँस, कुखुरा, माछा, तरकारी लगायतका आफ्ना उत्पादन एपमार्फत् उपभोक्ताबीच प्रदर्शन गर्न र विक्री गर्न सहज भएको उनीहरू बताउँछन् ।

बर्दियाको बढैयाताल गाउँपालिका–६ मैनपेखरकी संजिता चौधरीले यस वर्ष आफ्नो समूहले एपमार्फत् आलु, बोडी र बेमौसमी गाजर बेचेर लाखौँ रुपैयाँको कारोबार गरेको बताइन् ।

अनुमानभन्दा फरक

‘शुरूमा आफूले उत्पादन गरेका तरकारीको फोटो एपमा राख्दा कसले पो हेर्ला जस्तो लागेको थियो, पछि सबै तरकारी एपमार्फत् नै अर्डर आएर बेच्यौँ,’ उनले भनिन् । ‘यो एप प्रयोग गर्न इन्टरनेट चलाउनेलाई खासै अप्ठेरो छैन, निरक्षर किसानलाई मात्र अप्ठेरो लाग्न सक्छ ।’

कृषि मौसमसम्बन्धी पूर्वानुमान, कषि प्रविधिको ज्ञान तथा अनलाइन बजारीकरणको विशेषता रहेको यो एपले ठूलो योगदान पु¥याउन सक्ने केयर नेपालका विपद् जोखिम न्यूनीकरण तथा मानवीय सहयोग कार्यक्रमका संयोजक नीलकण्ठ पाण्डे बताउँछन् ।

किसान आफैँले अपलोड गरेर बजारीकरण गर्न सक्ने माध्यम भएकाले उपयोगी देखिएको उनले बताए । तर, अहिले धेरै किसानबीच प्रयोगमा ल्याउन केही चुनौतीहरू रहेको पाण्डे बताउँछन् ।

उनले भने, ‘यसको व्यापक प्रयोगमा त्यति धेरै समस्या त होइन । सबै किसान एन्ड्रोइड मोबाइल र इन्टरनेटको पहुँचमा रहन सके प्रयोग विधि र प्रक्रिया अझ विकास गर्न सकिन्छ ।’

एप प्रयोगमा आएसँगै हाटबजारसम्म तरकारी बोकेर जाने गरेका कतिपय किसानले घरबाटै विक्री गर्न थालेका छन्, भने खेतमा गएर खरिद गर्ने व्यवसायीका पसलमै किसानले उत्पादन पु¥याइदिने गरेका छन् ।

एपमार्फत् कृषक, व्यवसायी र उपभोक्ताबीच सीधा सम्पर्क हुने भएकाले बिचौलियाबाट मुक्त भएको कृषकहरू बताउँछन् । एप प्रयोगबाट बजार भाउबारे जानकारी लिन पनि सहज भएको उनीहरूको अनुभव छ ।

तरकारी अभावको समयमा प्रतिस्पर्धा गरेर बजार भाउभन्दा बढी मूल्यमा व्यवसायीको अर्डर आउने भएकाले किसानलाई फाइदा हुने गरेको घरेलु तथा साना उद्योग महासङ्घ बाँकेकी अध्यक्ष मधु खड्का बताउँछिन् ।

यसमा सहज पहुँचका लागि बाँकेमा दशवटा कृषि सहकारीलाई समेटेर निःशुल्क कल सेन्टरको व्यवस्था पनि गरिएको उनले बताइन् ।