म्याद गुज्रिएका औषधि विक्री गर्दै कान्ति आरोग्य अस्पताल

मानवीय स्वास्थ्यमाथि गम्भीर खेलवाड, हामीले २१ दिन कारबाही गरेका छौं–औषधि व्यवस्था विभाग


म्याद गुज्रिएका औषधि विक्री गर्दै कान्ति आरोग्य अस्पताल

नेपालगन्ज २७ भदौ : नेपालगन्ज धम्बोझी चोक नजिक रहेको कान्ति आरोग्य अस्पतालको बदमासी र गम्भीर लापरबाही एकपछि अर्को गरि बाहिरीदै आएकोछ । डाक्टर रोमा बोराद्वरा हालै सञ्चालनमा आएको कान्ति आरोग्य अस्पतालले उपचारका नाममा मानवीय स्वास्थ्यमाथी गम्भीर लापरबाही गरिरहेको छ ।

स्वास्थ्य जस्तो संवेदनशील विषयमा नाफा कमाउन उद्दत कान्ति आरोग्य अस्पतालले दिने सेवामाथि प्रश्न उठ्न थालेको छ । अस्पताल र अस्तालद्वारा सञ्चालनमा रहेको कान्ति आरोग्य फर्माका कारण विरामीहरुको जीवन नै जोखिममा परेको पाइएको छ ।

मानव स्वास्थ्यमाथि खेलवाड गर्दै कान्ति आरोग्य अस्पतालद्वारा सञ्चालित कान्ति आरोग्य फर्माले म्याद गुज्रेका औषधिहरु विक्रीमा राखेपछि उसका कर्तुतहरु बाहिरीएका हुन् । कान्ति आरोग्य अस्पतालका त्रुटिहरु एकपछि अर्को गर्दै देखिन थालेपछि बाहिर नआएको म्याद गुज्रिएका औषधि विक्रीमा राखेकोमा कारबाहीमा परेको घटना थाहा भएको हो ।

कान्ति आरोग्य फर्माले (औषधि पसल) म्याद नाघेका औषधिहरु विक्रीमा राखेको फेला पारेपछि औषधि ब्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जले कारबाही समेत गरेकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

औषधि ब्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जले कान्ति आरोग्य फर्मामा छापा मारि विक्रीमा राखिएका औषधिमा बढी मूल्य लिएको, म्याद गुज्रिएको र औषधि विक्री गर्दा सम्बन्धित ब्यक्तिको उपस्थिती विनै विक्री गरेको पाइएपछि कारबाही गरेको हो ।

औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जका निमित्त कार्यालय प्रमुख धनबहादुर बोहराले कान्ति आरोग्य फर्मामा गत साउन १ गते छापा हानी म्याद गुज्रिएको औषधि विक्रीमा राखेको लगायत थुप्रै गल्ती गरेको भेटाएपछि कारबाही स्वरुप २१ दिनसम्म उक्त औषधि पसललाई निलम्बन (शिल) गरिएको सेतोखरीलाई जानकारी दिए ।

‘कान्ति आरोग्य फर्माले महंगोमा औषधी विक्री गरेको भन्दै विभागमा बीलसहित निवेदन आयो ।’ औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जका निमित्त कार्यालय प्रमुख धनबहादुरले घटनाबारे जानकारी गराउँदै सेतोखरीसँग भने–‘सामान्य ३०–४० रुपैयाँ पर्ने औषधि तेब्बर बढी मूल्यमा बेचेको पाइएपछि विभागले छापा हान्दा औषधिमा बढी मूल्य लिएको, म्याद गुज्रिएको औषधि विक्रि वितरण गरेको र औषधि विक्री गर्दा सम्बन्धित ब्यक्तिको उपस्थिती विनै विक्री गरेको पाइएपछि कान्ति आरोग्य फर्मालाई कारबाही स्वरुप निलम्बन गरिएको हो ।’

निमित्त कार्यालय प्रमुख धनबहादुरले भने–‘बढि रकम लिएर विक्री गरेको औषधी नै म्याद गुज्रेको पाइयो । महंगोमा औषधि बेचेको निवेदन आयो, तर उक्त औषधिको म्याद नै गुज्रिएको पाइएपछि प्रहरीसहितको टोली गएर छापा हान्दा यस्तो गलत कार्य भेटाएका हौं ।’

‘औषधि जस्तो विषयमा गम्भीर हुनुपर्छ, चिकित्सकहरु पनि यस्ता विषयमा गम्भीर नदेखिएको पाइयो’ निमित्त कार्यालय प्रमुख धनबहादुरले भने–‘विभागले म्याद गुज्रिएका औषधि हटाउन भने पनि गैरजिम्मेवारीरुपमा मानव स्वास्थ्य नै जोखिममा पारि विक्री वितरण गर्नु दण्डनीय हुन्छ ।’

विभागको छापा पश्चात कान्ति आरोग्य फर्मा यही साउन महिनामा २१ दिन निलम्बनमा परेको थियो । २१ दिन निलम्बनमा परेपनि कान्ति आरोग्य अस्पतालले आफ्नो गल्तीलाई सुधार गर्न सकेन ।

गल्ती गरिरहे कारबाही प्रकृया यस्तो छ

कुनैपनि फर्मा(औषधि पसल)ले नेपालमा प्रतिबन्धित औषधी राखे वा अवैधरुपले विक्री वितरण गरेमा बढीमा ६ महिनासम्म निलम्बन गर्नसक्ने विभागसँग अधिकार रहेको छ । विभागको निर्देशन अटेर गरी पटकपटक अवैध कारोबार गरेमा पसल(फर्मा) दर्ता प्रमाण–पत्र सधैंका लागि रद्द गरिने उनले बताए ।

पहिलो पटकका लागि भने सचेत गराउँदै ३० दिनसम्म शिलबन्दी गर्ने प्रावधान रहेको उनले जानकारी दिए । ‘दोश्रो प्रक्रिया अन्तर्गत अदालतमा मुद्दा दायर गरिन्छ’, विभाग निमित्त कार्यालय प्रमुख बोहराले भने, ‘औषधी ऐन २०३५ को दफा १० (क) को बर्खिलाप बिक्री वितरण गर्ने र अटेरी गर्नेलाई अदालतसम्म लैजाने प्रावधान छ ।’

म्याद गुज्रिएको औषधि विक्रीमा राखेका कारण औषधि व्यवस्था विभागको कारबाहीमा परिसकेको कान्ति आरोग्य अस्पतालले गल्ती गर्न छाडेन ।

कान्ति आरोग्य अस्पतालमा सहन नसक्ने गरी पेट दुखेर अस्पताल आएकी बर्दिया राजापुर नगरपालिका वडा नम्बर–८ निवासी ३१ वर्षीया सुमन चौधरीले यतिलामो चिरिएको आलो घाउ सहितको पेट लिएर भदौ २५ गते शनिबार दिउँसो घर फर्किनु पर्यो ।

कान्ति आरोग्य अस्पताल नेपालगन्ज घर भएकी बालरोग बिशेषज्ञ डाक्टर रोमा बोराले सञ्चालन गरेकी हुन् । तल्लो पेटको दाँया भाग दुखेर छटपटाइरहेकी सुमनलाई कान्ति आरोग्य अस्पतालमा डाक्टर बिक्रम बासुकलाले भदौ २१ गते भर्ना गरी सोही दिन नै अप्रेशन गरे । एपेन्डिक्स भएको भन्दै चिकित्सले सुमनको पेट त चिरे तर, १ घण्टा ३० मिनेटसम्म खोज्दा पनि एपेन्डिक्स भेटीएन । डाक्टर बिक्रम नेपाली सेनाका बाहालवाला डाक्टर हुन् ।

पहिलो पटक आमा बन्ने योजना बुन्दै गरेकी उनी चिरिएको पेट लिएर घर फिर्ता भएकीछन् । चिकित्सकको गम्भीर ‘लापरबाही’का कारण कान्ति आरोग्य अस्पताल नेपालगन्जमा भर्ना भएकी सुमनले अनाहकमा सास्ती भोग्नु परेको हो ।

थप समाचार

कान्ति आरोग्य अस्पतालमा विरामीको पेट चिरियो, एपेन्डिक्स भेटिएन