भारतमाथि नेपालको ऐतिहासिक जित

नेपाल पाँचौ पटक फाइनलमा पुग्दा भारत पहिलो पटक फाइनल पुग्न सकेन


भारतमाथि नेपालको ऐतिहासिक जित

नेपालगन्ज ३१ भदौ : भारतमाथि ऐतिहासिक जित हात पार्दै नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।

शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतमाथि १–० को जित हात पारेको हो । महिला साफ च्याम्पियनसिपको इतिहासमा नेपालले भारतलाई हराएको यो नै पहिलो पटक हो ।

हजारौं समर्थकको बीचमा नेपाललाई जिताउन रश्मीकुमारी घिसिङले निर्णायक गोल गरिन् । पहिलो हाफको अन्तिम मिनेटमा प्रिती राईको पासमा उनले निर्णायक गोल गरिन् ।

यसअघि प्रिति राईले ३३ औं मिनेटमा डी बक्स बाहिरबाट हानेको भली प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

पहिलो हाफमा अग्रता लिएपछि दोश्रो हाफमा नेपालले सुरुवातदेखि नै भारतमाथि दबाब बनाउन थाल्यो । ५० मिनेटमा अनिता केसीको कर्नरमा अमृता जैशीले बक्स भित्रबाट हानेको हेडर भारतकी गोलकिपर अदिती चौहानले पञ्च गर्दै बाहिर फालिन् ।

६४ मिनेटमा प्रिति राईले बक्स भित्रबाट गरेको प्रहार पोष्ट नजिकैबाट बाहिरिँदा नेपालले अग्रता दोब्बर बनाउने अवसर गुमायो ।

पाँच पटकको बिजेता भारतले पनि दोश्रो हाफमा गोलका लागि केही अवसर बनाए पनि फिनिसिङ गर्न सकेन ।

समूह चरणमा भुटानलाई ४–० र श्रीलंकालाई ६–० ले हराउँदा नेपालको डिफेन्स र गोलकिपिङ खासै टेष्ट भएको थिएन । तर, भारत विरुद्ध भने नेपालको डिफेण्डर र गोलकिपरले कडा मिहिनेत प¥यो । कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले राम्रो बचाउ गरिन् ।

दोस्रो हाफमा गोल नथेपनि नेपाली खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई खेलमा फर्किने अवसर दिएन । अब नेपालले उपाधिका लागि बंगलादेशसँग सोमबार खेल्नेछ ।

नेपाल फाइनलमा पुगेको यो सहित पाँचौं पटक हो । नेपाल पाँचौ पटक फाइनलमा पुग्दा भारत पहिलो पटक फाइनल पुग्न सकेन । यसअघि चार पटक नै नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।

२०१६ मा कुमार थापा प्रशिक्षक रहेकै बेला नेपाल सेमिफाइनलमा पराजित भएको थियो । त्यसपछि पहिलो पटक महिला टोलीको प्रशिक्षक बन्ने अवसर पाएका थापाले भारतसँग मिठो बदला पनि लिएका छन् ।

नेपालले पहिलो हाफको इन्ज्युरी समयमा अग्रता लिएको थियो । घिसिङले गोल गर्दै नेपाललाई अघि बढाइन् । उनले प्रिती राईको क्रसलाई पेनाल्टी क्षेत्रभित्र संयमित भएर नियन्त्रणमा लिँदै गोल गरिन् ।