सन्दीपलाई ७ दिन हिरासतमा राख्न अनुमती, ‘म निर्दोष छु’


सन्दीपलाई ७ दिन हिरासतमा राख्न अनुमती, ‘म निर्दोष छु’

नेपालगन्ज २४ असोज : नेपाली क्रिकेट टिमका कप्तान रहेका सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न नेपाल प्रहरीलाई अनुमति दिएको छ ।

अदालतले असोज २० गतेदेखि लागू हुने गरी २७ गतेसम्मका लागि म्याद थप गरेको उनका कानून व्यवसायी अधिवक्ता सरोजकृष्ण घिमिरेले बताए ।

गत बिहीबार कतारको दोहा हुँदै सन्दीप नेपाल फर्किएका थिए । त्रिभुवन विमानस्थलबाटै उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । दशैँ विदा सकिएलगत्तै सोमबार अदालत खुलेपछि प्रहरीले लामिछानेलाई अदालतमा पेस गरेको हो ।

प्रहरीले उनलाई म्याद थपका लागि अदालत लगेको थियो । इजलासमा लामिछानेले आफू निर्दोष रहेको दावी गरेका छन् । उनले आफूले जबरजस्ती करणी नगरेको र सहमतिमै भएकाले दोषी भन्न नमिल्ने जिकिर गरेका छन् ।
क्रिकेट खेल्न केन्या पुगेका लामिछानेविरुद्ध गत भदौ २१ गते एक युवतीले जबरजस्ती करणीको जाहेरी प्रहरीसमक्ष दिएकी थिइन् ।

Kids Festival 2022
kanti aarogya hospital

त्यसलगत्तै सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । सन्दीप भने क्यारेबियन लिग खेल्न गएका थिए । पटक पटक आफू नेपाल फर्किने बताएर नफर्किएपछि प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरेको थियो । त्यसपछि भने उनी गत बिहीबार नेपाल फर्किएका थिए ।