नवौं राष्ट्रिय खेलकुद सम्पन्न, दशौं कर्णालीमा

लुम्बिनी प्रदेश नवौं स्थानमा


नवौं राष्ट्रिय खेलकुद सम्पन्न, दशौं कर्णालीमा

नेपालगन्ज ३ कार्तिक : नेपाली खेलकुदको महाहकुम्भ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ सम्पन्न भएकोछ । गण्डकी प्रदेशको राजधानी पोखरा रंगशालामा आयोजित नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता बिहीबार सम्पन्न भएको हो ।

‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराको साथ आयोजना भएको नवौं प्रधानमन्त्री शेर बहादुर देउवाको उपस्थितिमा समापन भएको हो । समापनमा दशौं संस्करणको राष्ट्रिय खेलकुदको आयोजक कर्णाली प्रदेशलाई झण्डा हस्तान्तरण गरिएको थियो । दशौं संस्करणको राष्ट्रिय खेलकुद २०८१ सालको मंसिरमा आयोजना हुनेछ ।

समापनमा टिम च्याम्पियन बनेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ट्रफी प्रदान गरिएको थियो । उपाधिसँगै आर्मीले १० लाख रुपियाँ बराबरको रनिङ ट्रफी जितेको छ ।

पदक तालिकाका शीर्षस्थानमा रहँदै च्याम्पियन बनेको आर्मीले एक सय ७२ स्वर्ण, एक सय १० रजत र ८९ कांस्य सहित कूल तीन सय ७१ पदक जितेको हो । आर्मीले राष्ट्रिय खेलकुदमा ह्याट्रिक समेत गरेको छ । आर्मी यसअघि सातौँ र आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि च्याम्पियन बनेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

३६ खेलमा कूल तीन सय ९६ स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा ६५ स्वर्ण ७२ रजत र ८२ कांस्य सहित दुई सय १९ पदक सहित सशस्त्र प्रहरी बलको एपीएफ क्लब दोस्रो, ६१ स्वर्ण ६१ रजत र ७३ कांस्य पदक सहित एक सय ९५ पदक सहित नेपाल पुलिस क्लब तेस्रो भएको छ ।

घरेलु मैदानको सदुपयोग गर्दै गण्डकी प्रदेश चौथो तथा प्रदेशहरू मध्ये पहिलो हुन सफल भयो । बागमती प्रदेशलाई पछि पार्दै गण्डकीले ३२ स्वर्ण, ३१ रजत ५७ कांस्य सहित एक सय २० पदक सहित समग्रमा चौथो भएको हो । बागमती प्रदेशले २४ स्वर्ण ४७ रजत र ७४ कांस्य पदकसहित एक सय ४५ पदक सहित पाँचौँ स्थानमा रहेको छ ।

प्रदेश १ ले १० स्वर्ण २३ रजत र ५० कांस्य पदक सहित छैटौँ भएको छ । १० स्वर्ण, १० रजत ४३ कांस्य पदकसहित सुदूरपश्चिम प्रदेश सातौँ, एनआरएनए १० स्वर्ण नौ, रजत सात कांस्य पदकसहित आठौँ, ६ स्वर्ण २२ रजत र ४० कांस्य पदकसहित लुम्बिनी प्रदेश नवौं स्थानमा रहेको छ ।

यसैगरी मधेश प्रदेश दशौँ स्थानमा र कर्णाली प्रदेश अन्तिम तथा एघारौँ स्थानमा रहेको छ । मदेश प्रदेशले पाँच स्वर्ण आठ रजत र २६ कांस्य पदक जितेको छ । कर्णाली प्रदेशले दुई स्वर्ण, चार रजत र १२ कांस्य पदक जितेको छ ।

यसअघि सुरुमा चार सय चार स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने घोषणा गरिए पनि प्याराग्लाइडिङ, पौडी र आर्चरीमा दुई दुई तथा स्क्वास र सफ्टेनिसमा एक एक स्वर्ण पदकको खेल स्थगित भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको प्राविधिक समितिले जनाएको छ ।

प्रतियोगितामा समावेश ३६ खेलहरू गण्डकी प्रदेशका आठ जिल्लामा सञ्चालन भएको थियो । सुटिङ र पुरुष क्रिकेट खेल भने काठमाडौंमा खेलाइएको थियो । पुरुष क्रिकेट एक महिना अघि नै सम्पन्न भएको थियो ।
नवौंमा ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । जसमा खेलाडीले ३ सय ९७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।