बृहत शान्ति सम्झौताको स्मरणमा दीप प्रज्वलन


बृहत शान्ति सम्झौताको स्मरणमा दीप प्रज्वलन

नेपालगन्ज ६ मंसिर : नेपालगन्ज म्याराथन आयोजक क्रियटिभ ह्याण्ड्सले सरोकारवालाहरुको सहभागितामा नेपालगन्जको विपी चोक र कोहलपुर चौराहमा दीप प्रज्वलन गरि बृहत शान्ति सम्झौताको स्मरण गरिएको हो ।

नेपालगन्ज म्याराथनका संरक्षक सदस्य केशरबहादुर आले र राष्ट्रिय खेलकुद परिषदका सदस्य एलबी क्षेत्रीले कोहलपुर चौराहमा दीप प्रज्वलन गरी शान्ति प्रक्रियाको सम्झना गरे । नेपालगन्जको बीपी चोकमा म्याराथन संरक्षक सदस्य सन्तोष खड्काले दीप प्रज्वलन आरम्भ गरेका थिए ।

बृहत शान्ति सम्झौताको सम्झनामा हरेक मंसिर ५ गतेलाई स्मरण गर्दै नेपालगन्ज म्याराथन हरेक मंसिरको पहिलो शनिवार आयोजना गरिंदै आएको छ । आमनिर्वाचनका कारण यसवर्ष भने आठौं नेपालगन्ज म्याराथन मंसिर २४ गते शनिबार हुँदैछ ।

‘शान्ति सद्भाव र एकता, राष्ट्र निर्माणमा हाम्रो प्रतिवद्धता’ मुल नाराका साथ आायोजना हुने आठौं धारा नेपालगन्ज म्याराथनमा २०२२ को तयारी तिब्र पारिएको छ । मंसिर ५ गते सोमबार नेपालगन्ज स्थित बीपी चोक र कोहलपुर चौराहमा दीप प्रज्वलन गरिएको जानकारी दिंदै नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टिएस ठकुरीले यसवर्ष दुई दिने कार्यक्रमसहित म्याराथनलाई महोत्सवमय बनाइने बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

आयोजकका अनुसार, धारा नेपालगन्ज म्याराथनको अघिल्लो दिन नगरपालिका परिसरमा एक्स्पो रहनेछ । त्यसका लागि स्थानीय संघसंस्थालाई आह्वान गरिएको बताइएको छ । नेपालगन्ज उपमहानगरपालिका अगाडि सुरु/समापन गेट रहने आठौं धारा नेपालगन्ज म्याराथन जानकी गाउँपालिकाको केही स्थान छुँदै कोहलपुर नगरपालिकादेखि उत्तरतर्फ बानियाभारसम्म पुगेर पुन सोही रुटमा फर्किएर बीपी चोकस्थित फिनिसिङ प्वाइन्टमा सम्पन्न हुनेछ ।

लामो दुरीका धावकलाई उत्साह थप्न सम्पुर्ण जिल्लावासीलाई आआफ्नो तहबाट सहभागिता जनाउन आग्रह गरिएको छ । सहभागिता एवं सक्रियताका आधारमा व्यक्ति एवं संघसंस्थालाई सरप्राइज पुरस्कार तथा सम्मानपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा हुने आठौं धारा नेपालगन्ज म्यराथनलाई केएल दुगड ग्रुपले मुख्य प्रायोजन गरेको छ । नेपालगन्ज म्याराथनलाई वर्षेनी स्तरीय बनाउँदै राष्ट्रियस्तरको भव्य प्रतियोगिताका रुपमा स्थापित गर्ने आयोजक टिमको परिकल्पना रहेको आयोजक क्रियटिभ ह्याण्डस्का अध्यक्षसमेत रहेका संस्थापक ठकुरीले बताए ।

आठौं नेपालगन्ज म्याराथनको विजेताले एक लाख पचास हजार नगदबाट पुरस्कृत हुने भएका छन् । यसवर्षबाट नगद राशीमा वृद्धि गरेको आयोजकले शीर्ष आठ धावकलाई नगदबाट पुरस्कृत गर्ने जनाएको छ ।