खेलाडी कुद्ने नेपालगन्ज रंगशालाभित्रै जंगली बँदेल कुदेपछि...


खेलाडी कुद्ने नेपालगन्ज रंगशालाभित्रै जंगली बँदेल कुदेपछि...

नेपालगन्ज २८ मंसिरः नेपालगन्ज रंगशालामा खेलाडीहरुको जमघट हुनुपर्नेमा वन्यजन्तुले बासस्थान बनाएको पाइएकोछ । सुन्दा नै अचम्म लाग्ने घटना नेपालगन्ज रंगशालामा सार्वजनिक भएपछि यतिबेला रंगशालाको व्यवस्थापन तथा संरक्षणप्रति सर्वत्र चिन्ता बढेकोछ ।

नेपालगन्ज रंगशाला वरिपरि घना मानव बस्ती छ । मानिसहरुको चहलपहल हुने उक्त क्षेत्र आसपास वन, जङ्गल त के सामान्य झाडि समेत छैन । रंगशालाको केन्द्रबाट १२–१५ किलोमिटर उत्तरपूर्व लागेपछि मात्र वन क्षेत्र पर्छ । तर, सो क्षेत्रसम्म पुग्न घना मानवबस्ती र बाक्लो चहलपहल छिचोलेर पुग्न सकिन्छ ।

नेपथ्य लाइभ कन्सर्टका लागि मंगलबार सरसफाई गर्ने क्रममा नेपालगन्ज रंगशाला परिसरमै वन्यजन्तु (जंगली बँदेल) फेला परेको हो । उक्त रंगशालामा भोली मंसिर २९ गते नेपथ्य लाइभ कन्सर्ट आयोजना गरिदैँछ ।

नेपाली सेना सहितको टोली सरसफाईमा खटिरहेका बेला रंगशालाको प्याराफिट नजिक झाडीमा लुकेको बँदेल एक्कासी निस्केको थियो । ‘सरसफाईको काम चलिरहेको थियो, बँदेल एक्कासी झाडीबाट दौडियो,’ प्रत्यक्षदर्शीले भने ‘हेर्दा त दाह्रा निस्केको ठुलै बँदेल पो रहेछ, एक जना आर्मीलाई बँदेलले हान्यो, चोट चाही लागेन ।’

Kids Festival 2022
kanti aarogya hospital
add

उक्त बँदेल कहाँबाट र कसरी रंगशालाभित्र प्रवेश गर्यो भन्नेमा ठम्याउनै नसकिएको उनले सुनाए । रंगशालाभित्र मान्छेको चहल पहल भएपछि बिच्किएको बँदेलको उद्धार कार्यका लागि तत्कालै डिभिजन वन कार्यालय बाँकेको टोलीलाई खबर गरिएको थियो ।

खेलकुद विकास समिति नेपालगन्जका कार्यालय प्रमुख महेश चन्दले फोन गरेपछि डिभिजन वन कार्यालयको टोली आएर बँदेल नियन्त्रणमा लिएको हो ।

‘हामीले डिभिजन वन कार्यालयको टोलीलाई बोलाएर जिम्मा लगाएका हौं, पछि वनको टोलीले बँदेललाई के गर्यो थाहा भएन,’ खेलकुद विकास समितिका एक कर्मचारीले भने । यस विषयमा डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत रमेश बुढाथोकीलाई सम्पर्क गर्दा उनको फोन उठेन । प्रत्यक्षदर्शीका अनुसार शान्त ठाउँको खोजीमा बँदेलले लामो समयदेखी नै रंगशालालाई आफ्नो बासस्थान बनाएको हुन सक्ने अनुमान गरिएको छ ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको निहुँमा झण्डै एक अर्व रुपैयाँ बराबरको लागतमा भौतिक संरचना निर्माण भएका थिए । भौतिक संरचना बनेपनि खेलाडीको अनुपस्थितीले गर्दा पछिल्लो समयमा रंगशाला सुनसान बन्ने गरेको छ । रंगशालामा पहिले जस्तो खेलाडीले सहज रुपमा प्रवेश पाउँदैनन् ।

खेलाडीको चहल पहल नहुँदा रंगशालालाई वन्यजन्तुले बासस्थान बनाएको हुनसक्ने विश्लेषण अहिले भइरहेको छ । राष्ट्रिय खेलकुद परिषद, खेलकुदका पदाधिकारी र कर्मचारीको गैरजिम्मेवारीका कारण नेपालगन्ज रंगशाला जीर्ण बन्दै गएको छ । खेलकुदका संरचना संरक्षण र सम्बद्र्धनको अभावले गर्दा सरकारको लगानी खेर गइरहेको खेलाडीहरु बताउँछन् ।