नेपालगन्ज २८ मंसिर : मानवसेवा आश्रमको भवन निर्माण एवंम अक्षय कोष स्थापनार्थ आयोजना हुने ‘नेपथ्य लाइभ कन्सर्ट’को तयारी पुरा भएकोछ । विगत एक दशकदेखि सहयोगापेक्षी सडकआश्रित मानवहरुको सेवा गर्दै आइरहेको मानवसेवा आश्रमले नेपालगन्जमा नेपथ्य लाइभ कन्सर्ट गर्न लागेको हो ।
नेपालको चर्चित ब्याण्ड नेपथ्य ब्याण्डसँगको सहकार्यमा मानवसेवा आश्रमको भवन निर्माण र आश्रममा आश्रितको स्वास्थ्य उपचार तथा आपतकालिन अक्षयकोष स्थापना गर्नका लागि नेपालगन्जसहित देशका १० शहरहरुमा नेपथ्यको लाइभ कन्सर्ट गरिदैँछ ।
सांगितिक कार्यक्रमको पुर्वसन्ध्यामा नेपालगन्ज रंगशालामा आयोजित पत्रकार सम्मेलनमा आयोजक मानवसेवा आश्रमले तयारी पुरा भएको जनाएको हो ।
नेपथ्य ब्याण्डका चर्चित गायक अमृत गुरुङले बिहीबार (भोली) बेलुका ६ बजेबाट आफ्ना गीतहरु प्रस्तुत गर्नेछन् । सहयोगापेक्षी सडक आश्रित मानवहरुको सेवा गर्दै आइरहेको मानवसेवा आश्रमको भवन निर्माण र आश्रितको स्वास्थ्य उपचारका लागि आपतकालिन अक्षयकोष स्थापनार्थ कन्सर्ट गर्न लागिएको आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताए । गायक गुरुङले मानवता झल्किने र मानवता प्रबद्र्धनमा सहयोग पुग्ने गीतहरु कन्सर्टमा प्रस्तुत गर्ने उनले सुनाए ।
आश्रमले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावक विहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर मानवहरुको उद्धार, उपचार, परामर्श, पारिवारिक पुनर्मिलन, लालनपालन, संरक्षण, मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ ।
पत्रकार सम्मेलनमा कन्सर्ट मुल आयोजक समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठ लगायत विभिन्न समितिका पदाधिकारीले कन्सर्टको तयारीबारे पत्रकारलाई जानकारी गरेका थिए । ‘कन्र्सट निर्धारित समयमा सुरु हुन्छ । ५ बजेभित्र रंगशाला प्रवेश गरिसक्नुपर्छ’ कन्सर्टको सुरक्षा तथा समारोह स्थल ब्यवस्थापन समितिका संयोजक जयनारायण शाहले बताए ।
कन्र्सटको सुरक्षा व्यवस्थापन एकदमै चुस्त राखिएकोछ । शाहले भने–‘दर्शकले कुनैपनि प्रकारका बस्तु रंगशालाभित्र लिन पाउनेछैन । भइपरि आउने स्वास्थ्य समस्याका लागि चिकित्सकसहित आइसियु सुविधायुक्त एम्बुलेन्स स्टाण्डबाई राखिनेछ ।’
दानवीर एवं समाजसेवी जेके सिंहले मानव सेवा आश्रमको भवन निर्माणका लागि डुडुवा गाउँपालिका वडा नम्बर–६ मा जग्गा दान गरेपछि भवन निर्माण प्रक्रिया सुरु हुन लागेको हो ।
सिंगो नेपाल राष्ट्रलाई नै सहयोगापेक्षी सडक आश्रित मानव मुक्त राष्ट्र निर्माण गर्ने महाअभियानसहित मानवसेवा आश्रमले यही बैशाख १ गतेबाट नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर–१० मा घर भाडामा लिएर सेवा सञ्चालन गरिरहेको छ ।
नेपथ्यको ६ जना कलाकारका साथै प्राविधिक र ब्यवस्थापन गरेर ७० जनाको विशाल टिमले उक्त सांगेतिक कार्यक्रम गर्नेछ । पाँच वटा ट्रक र दुई वटा बसहरुमा आइपुगेको उक्त टोलीलाई सोमबारै आयोजक मानवसेवा आश्रमका पदाधिकारीहरुले स्वागत गरेका थिए ।
यसअघि नेपथ्यले बिराटनगर, वीरगन्ज, हेटौंडा र चितवनमा हजारौं दर्शककाबीच भब्य कन्सर्ट प्रस्तुत गरिसकेको छ । नेपथ्य ब्याण्ड नेपाल र विश्वभरि छरिएका नेपाली युवा पुस्तामाझ लोकप्रिय ‘लोक’ संगीत टोली हो ।
यसपटकको महिनादिन लामो नेपाल भ्रमण अन्तर्गत नेपालगन्जमा पाँचौ प्रस्तुती दिन लागेको हो ।
पछिल्लो पटक नेपथ्यले १० वर्षअघि ‘शान्तिको लागि शिक्षा’ अभियान अन्तर्गत आफूलाई नेपालगन्जमा प्रस्तुत गरेको थियो । ब्याण्डले यसपटक पहिलो चोटी नेपालगन्जमा खुला आकाशमुनि ‘भब्य’ मञ्च तयार पारेर कन्सर्ट दिन लागेको हो ।
थप समाचार
नेपथ्य लाइभ कन्सर्टको तयारी तिब्र