नगरप्रमुख आचार्यको घोषणाः मेयर कपको बजेट दोब्बरले वृद्धि गर्ने, सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार !


नगरप्रमुख आचार्यको घोषणाः मेयर कपको बजेट दोब्बरले वृद्धि गर्ने, सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार !

नेपालगन्ज ८ पुष : ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने नाराका साथ छैठौं नगरस्तरीय मेयर कप रनिङ शिल्ड प्रतियोगिता तथा पन्ध्रौं पालिका स्तरीय रास्ट्रपति रनिङ्गशिल्ड छनोट खेलकुद प्रतियोगिता शुक्रबारदेखि कोहलपुरमा सुरु भएको छ ।

कोहलपुर नगरपालिकाको आयोजना तथा कृष्ण माबि कौशिलानगरको सञ्चालन तथा व्यवस्थापनमा प्रतियोगिता सुरु भएको हो ।

नगर प्रमुख पूर्णप्रसाद आचार्यको सभापतित्वमा भएको प्रतियोगिताको एक कार्यक्रमकाबीच जिल्ला समन्वय समितिका संयोजक ज्ञानेन्द्र चौधरीले उद्घाटन गरेका हुन् ।

नगर खेलकुद विकास समितिका अध्यक्ष बुद्धिबहादुर थापाको मन्तव्यबाट सुरु भएको प्रतियोगिता उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख आचार्यले सर्वोत्कृष्ट खेलाडीलाई ब्यक्तिगत रुपमा ५१ हजार दिने घोषणा गरे ।

Kids Festival 2022
kanti aarogya hospital

खेलकुदप्रति बिद्यार्थीहरुलाई प्रोत्साहन गर्न ब्यक्तिगतरुपमै भएपनि उनले ५१ हजार दिने घोषणा गरेका हुन् । मेयर कपलाई अझ भव्यता दिन आगामी बजेटलाई दोब्बर पारिने पनि उनले घोषणा गरे ।

‘मेयरकप प्रतियोगितालाई भव्यता दिन र खेलाडीहरुको प्रोत्साहनका लागि आगामी वर्षदेखि बजेटलाई दोब्बर वृद्धि गरिने छ’ उनले भने–‘यो पटकको प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई म ब्यक्तिगत रुपमा ५१ हजार दिने घोषणा गर्दछु ।’

उनले खेलकुदका माध्यमबाट कोहलपुरलाई राष्ट्रसम्म चिनाउने गरि खेलाडीहरु उत्पादन गर्नतर्फ स्थानीय सरकारले पहल गर्ने बताए ।

यस्तै जिल्ला समन्वय समिति बाँकेका संयोजक ज्ञानेन्द्र चौधरीले यस्ता प्रतियोगिताले बिद्यार्थीहरुमा स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गर्ने बताए ।

उनले खेलकुदका माध्यमबाट बालबालिकाहरुमा हुने अतिरिक्त प्रतिभाको उजागर हुने बिश्वास व्यक्त गरे ।

प्रतियोगितामा कोहलपुरका सामुदायीक र संस्थागत ३७ बिद्यालयका एक हजार एक सयबढी सहभागी छन् । प्रतियोगिता उद्घाटन समारोहमा कोहलपुर नगरपालिकाका नगरउपप्रमुख संगित सुवेदी, प्रशासकीय अधिकृत टीकाराम ढकाल, वडा अध्यक्षहरु, विभिन्न राजनीतिक दलका नेताहरु लगायतको सहभागिता रहेको थियो ।

प्रतियोगिता उद्घाटन समारोहमा विभिन्न बिधालयबाट मार्च पास तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो ।