नेपालगन्जका ११० जनामा दादुरा, दिनहुँ १८ संक्रमित भेटिन्छन्

बिरामीसँग अस्पतालले शुल्क लिएपछि स्वास्थ्यकर्मीले आक्रोश पोखे, विद्यालयहरुमा विदा लम्बाइयो


नेपालगन्जका ११० जनामा दादुरा, दिनहुँ १८ संक्रमित भेटिन्छन्

File Photo

नेपालगन्ज २७ पुष : नेपालगन्जमा दादुराको प्रकोप दैनिक रुपमा फैलिँदै गएको छ । दैनिक १८ जना बढी संक्रमित फेला परेपछि यतिबेला नेपालगन्जमा दादुरा संक्रमित बालबालिकाकको संख्या ११० पुगेको छ । जसमध्ये एक जनाको मृत्यु भइसकेको छ भने दुई जना उपचाररत छन् ।

दादुरा संक्रमित दुई जना बालबालिकाको उपचारका लागि भेरी अस्पतालमा भर्ना भएकाछन् । यही पुष २५ र २६ गते गरी दुई जना बालबालिकाका अस्पताल भर्ना भएका हुन् । बाँकी बालबालिकाहरु घरमै आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएकोछ ।

विशेषगरि नेपालगन्जको दश वटा वडामा दादुराका संक्रमित फेला परेका छन् । सबैभन्दा धेरै वडा नम्बर– ८ मा २९ जना संक्रमित फेला परेका छन् । वडा नम्बर– ७ मा २८, वडा नम्बर–११ मा २१, वडा नम्बर–५ मा १५ जना संक्रमित भेटिएका छन् । बाँकेको खजुरामा दुई जना संक्रमित भएका छन् ।

स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठका अनुसार फेला परेका दादुरका संक्रमित ५० प्रतिशत बालबालिकाको स्वास्थ्य अवस्थामा सुधार भइसकेको छ ।

Kids Festival 2022
kanti aarogya hospital

कुल बिरामी ११० मध्ये ७० प्रतिशत अर्थात् ७७ जना बालबालिकाले दादुराविरुद्ध खोपको मात्रा पुरा नगरेको पाइएको उनले बताए । दादुरा रुबेला विरुद्धको खोप शिशु जन्मेको ९ र १५ महिना गरी दुई मात्रा लगाउनुपर्दछ । यी बालबालिकाहरुले १३ प्रकारका खोपमध्ये सबै खोप लगाएको तर, दादुरा–रुबेलाविरुद्धको दोस्रो मात्रा भने नलगाएको पाइएको हो ।

‘दादुराको खोपको दुई मात्रा पुरा गर्नुपर्ने हुन्छ । तर, ७० प्रतिशत बालबालिकाको दादुरा रुबेला विरुद्ध खोपको दोस्रो मात्रा पुरा नगरेको पाइयो,’ उनले भने ।

खोपको मात्रा पुरा नहुनुसँगै जनचेतनाको कमी र कुपोषणका कारण पनि दादुरा फैलिएको हुन सक्ने उनको अनुमान छ । जिल्लामा दादुरा किन र कसरी फैलियो भन्ने बारेमा छलफल भइरहेको पनि उनले बताए ।

बिरामीसँग अस्पतालले शुल्क लिएपछि स्वास्थ्यकर्मीले आक्रोश पोख

भेरी अस्पतालमा उपचार भइरहेका बिरामीसँग अस्पतालले शुल्क लिएपछि वडाबाट उपचारका लागि सिफारिस गरी पठाएका स्वास्थ्यकर्मीले आक्रोश पोखेका छन् । निःशुल्क उपचार हुन्छ भन्दै दादुरा संक्रमितको खोजपडतालमा निस्केका स्वास्थ्यकर्मीले अस्पतालले बिरामीसँग पैसा लिइदिएपछि काम गर्न अप्ठेरो भएको बताएका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले संक्रमण फैलिएको नेपालगन्जमा संक्रमितलाई भेरी अस्पतालले निःशुल्क उपचार गर्नुपर्नेमा शुल्क लिएर काम गर्न अप्ठेरो पारेको बताए ।

नेपालगन्जमा संक्रमितको संख्या बढ्दै गएपछि दादुराविरुद्धको खोप अभियान चलाइएको छ । संक्रमण देखिएका वडाका ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाइएको छ ।

खोप नलगाएका बालबालिकाहरु दादुराबाट बढी प्रभावित भएको भेटिएपछि बाँकेमा पुष २२ गतेदेखि दादुरा रुबेला विशेष खोप अभियान सञ्चालन भएको छ । गत पाँच दिनमा त्यहाँ ३ हजार ९३२ जना बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाइएको श्रेष्ठले जानकारी दिए ।

बाँके जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिसकेकोछ । पूर्ण खोपयुक्त जिल्लामा दादुरा रोगको प्रकोप बढेपछि स्वास्थ्य मन्त्रालयले पनि नेपालगन्जमा देखिएको दादुराप्रति चासो देखाएको छ । स्वास्थ्य सेवा विभागको टोली नेपालगन्ज आएको छ ।

विद्यालयहरुमा विदा लम्बाइयो

दादुरा–रुबेला फैलिएपछि नेपालगन्जका विद्यालयहरुमा विदा लम्ब्याइएको छ । अत्याधिक चिसो बढेपछि पुस २४, २४ र २६ गते विद्यालयहरुमा विदा दिएको नेपालगन्ज उपमहानगरपालिकाले दादुरा–रुबेला संक्रमण बढ्दै जाँदा थप दुई दिन विदा लम्ब्याएको हो ।

शिक्षा महाशाखा प्रमुख उपसचिव गोर्खबहादुर थापाले आज एक सूचना निकालेर पूर्व निर्धारित परीक्षाहरुलाई असर नपर्ने गरी पुस २८ र २९ गते उपमहानगरपालिकाभित्र सञ्चालित सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरुमा सार्वजनिक विदा दिइएको उल्लेख गरेका छन् । पुस २३ गते शनिवार, २७ गते पृथ्वी जयन्ती, पुस ३० गते शनिवार तथा माघ १ र २ गते लुम्बिनी प्रदेश सरकारले माघीको विदा दिने भएकाले नेपालगञ्जका विद्यालय १० दिन बन्द हुने भएका छन् ।

थप समाचार

पूर्ण खोपयुक्त बाँकेमा दादुराको प्रकोप, एक जनाको मृत्यु हुँदा ७८ संक्रमित