कर्णालीको गेटवे नेपालगन्जमा ‘वेष्टर्न ट्राभल मार्ट’: पश्चिम नेपाल चिनाउने प्रयास

वेष्टर्न ट्राभल मार्टले पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने विश्वास : डा. धवल


कर्णालीको गेटवे नेपालगन्जमा ‘वेष्टर्न ट्राभल मार्ट’: पश्चिम नेपाल चिनाउने प्रयास

नेपालगन्ज १५ माघ : पश्चिम नेपालको पर्यटकीय प्रवेशद्वारका रुपमा रहेको नेपालगन्जमा आईतबारदेखि दोस्रो संस्करणको वेष्टर्न ट्राभल मार्ट सञ्चालनमा आएको छ ।

पश्चिम नेपालका महत्वपूर्ण पर्यटकीय गन्तब्यको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचार–प्रसार र प्रर्वद्धन गर्ने उद्देश्यले उक्त मार्ट सञ्चालनमा आएको हो । पश्चिम नेपालको पर्यटकीय क्षेत्रको ‘गेटवे’ का रुपमा परिचित नेपालगन्जमा दोस्रोपटक ‘वेष्टर्न ट्राभल मार्ट’ सञ्चालन गरिएको हो ।

नेपाल पर्यटन बोर्ड र नाट्टा बाँके च्याप्टरको संयुक्त आयोजना तथा नेपालगन्ज उपमहानगरपालिका, पर्यटन प्रर्वद्धन मञ्च बाँके, होटल एशोसिएसन अफ नेपाल (हान) बाँके, होटेल ब्यवसायी संघ बाँके लगायत संघ संस्थाको सहकार्यमा मार्ट सञ्चालनमा ल्याइएको हो । उक्त मार्टको कार्यक्रमका प्रमुख अतिथी एवम् बाँके क्षेत्र नम्बर–२ का प्रतिनिधि सभाका सांसद डाक्टर धवलसम्शेर राणाले उद्घाटन गरे ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै यस्ता मार्टले पश्चिम नेपालको पर्यटन प्रर्वद्धनमा टेवा पुर्याउने विश्वास गरेका छन् । नेपालको पर्यटकीय क्षेत्रमा घुम्न र समय विताउन छिमेकी देश भारतका पर्यटकलाई सहज हुने भन्दै उनीहरुका लागि सही र उपयुक्त गन्तब्य नेपाल रहेको उनले सुनाए । ‘सबैभन्दा नजिक रहेका भारतीय पर्यटक नेपालमा आएर सस्तो र सहज रुपमा घुम्न सक्नु हुन्छ, उहाँहरु मात्रै आएपनि नेपालका लागि पर्याप्त हुन्छ,’ उनले भने ।

Kids Festival 2022
kanti aarogya hospital

नाट्टा बाँके च्याप्टरका अध्यक्ष एवम् कार्यक्रम संयोजक श्रीराम सिग्देलका अनुसार वेष्टर्न ट्राभल मार्ट यही माघ १७ गतेसम्म सञ्चालन हुनेछ । मार्टले पर्यटन ब्यवसायीको ब्यवसायिक विकास, विस्तार र अन्तराष्ट्रिय स्रोत बजारका टुर अपरेटर एवम् पर्यटन व्यवसायीसँग व्यवसायिक सम्बन्ध स्थापित गर्ने विश्वास लिइएको उनले बताएका छन् ।

उक्त मार्टमा ट्राभल एजेन्ट्स एशोसिएसन अफ इण्डिया (टाइ) बाट कार्यकारी निकाय समेत ७५ जना भारतीय बजारमा बजारीकरण गर्न भारतीय सिमावर्ती शहरका ४० जना टुर अपरेटर र आन्तरिक पर्यटन ब्यवसायीहरु करिव ३ सय जना महत्वपूर्ण ब्यक्तित्वको सहभागिता रहेको आयोजकले जनाएको छ ।

काठमाडौं उपत्यका लगायत सातै प्रदेशका पर्यटन ब्यवसायीहरुको ठुलो भेला तथा सम्मेलन भई स्थानीय सँस्कृती, टुर प्याकेज र लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भेगमा पर्यटक आकर्षण गर्ने मुख्य उद्देश्यका साथ मार्ट सञ्चालन गरिएको बताइएको छ ।

मार्टमा सहभागी भारतीय टुर अपरेटर र नेपालका पर्यटन ब्यवसायी समेतको सहभागितामा पहिलो पटक नेपालगन्जबाट बुद्ध एयरमार्फत कैलाश मानसरोवर दुरदर्शन गराउने लागिएको छ । सिग्देलले भने, ‘पश्चिम नेपालको प्रमुख पर्यटकीय गन्तव्य तथा ठुलो बजारका रुपमा स्थापित नेपालगन्ज मात्र नभई सिंगो नेपालको पर्यटकीय क्षेत्रका लागि नै कोषेढुंगाका रुपमा स्थापित हुनेमा विश्वास लिएका छौं ।’

ट्राभल मार्ट आयोजनाले पश्चिम नेपालका पर्यटकीय गन्तव्य तथा गतिविधीको प्रचार–प्रसार हुन गई कैलाश मानसरोवर दुरदर्शन समेतका लागि माउन्टेन फ्लाइट नेपालगन्जबाट सुरुवात गराई पर्यटक आगमन संख्या बढ्न जाने पर्यटन ब्यवसायीको अपेक्षा रहेको छ ।

ट्राभल मार्टमा क्रममा कर्णाली नदीमा र्याफ्टिङ, बाँके तथा बर्दिया राष्ट्रिय निकुञ्जभित्र जंगल सफारी, स्थानीय साँस्कृतिक झाँकीहरुको अवलोकन गराउनुका साथै नेपालगन्जका होटेल तथा क्यासिनोहरुको भ्रमण गराई प्रत्यक्ष अनुभव प्रदान गरिने आयोजकले जनाएको छ ।

यसअघि गतवर्ष सम्पन्न ‘वेष्टर्न ट्राभल मार्ट’को पहिलो संस्करणको लोपोन्मुख जाति राउटे समुदायका मुखिया सुर्यनारायण शाहीले गरेका थिए ।