होलिल्याण्ड र अब्दुल्लाहको विजयी सुरुआत


होलिल्याण्ड र अब्दुल्लाहको विजयी सुरुआत

नेपालगन्ज २१ माघ : बाँकेको क्रिकेटलाई पुरानो लयमा फर्काउने गरि आयोजना गरिएको नेपालगन्ज मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा अब्दुल्लाह र होलिल्याण्डले विजयी सुरुआत गरेकाछन् ।
नेपालगन्जको मंगलप्रसाद उच्च माविको खेलमैदानमा शनिबारदेखि सुरु भएको उक्त प्रतियोगितामा अब्दुल्लाह लायन्स क्रिकेट क्लब र होलिल्याण्ड महिला टिमले विजयी सुरुआत गरेका हुन् ।

नेपालगन्ज मेयर (पुरुष) तथा उपमेयर(महिला) कप क्रिकेट प्रतियोगिता–२०७९ अन्र्तगत भएको खेलमा अब्दुल्लाह लायन्सले मोर्डन पब्लिक स्कुलाई ४१ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको अब्दुल्लाह लायन्स क्लबले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६९ रन बनाएको थियो । अब्दुल्लाहका लागि मंगल न्यौपानेले सर्वाधिक ४३ रन, हाफिजले ३४ रन, अनिसले १६ रन र साहिलले १५ रन जोडे ।

वलिङ तर्फ मोर्डनका लागि धर्मराज पालले सर्वाधिक ४ विकेट लिए । उनले ३ ओभरमा ३२ रन दिएर ४ विकेट लिन सफल भएका थिए । जवाफमा मोर्डन पब्लिक स्कुलले १८.१ ओभरमा १ सय २८ रन बनाएर अलआउट भएको थियो । मोर्डनका लागि श्याम कनोजियाले एलबीडब्लु आउट हुनु अघि ४० रनको योगदान गरेका थिए । मोर्डनका बालसुन्दर शाहीले २१ रन र सुजित पवारले १५ रनको योगदान गरेका थिए । यता वलिङ तर्फ प्लेयर अफ द म्याच अब्दुल्लाहका अनिसले सर्वाधिक ३ विकेट, निजामुद्धिन र अब्दुल्लाहले २–२ विकेट लिए ।

यसैगरी महिला तर्फको खेल प्राविधिक कारणले १० ओभरमा खेलाइएको थियो । जुन खेलमा सहजै जित निकाल्ने क्रममा होलिल्याण्डले मंगलप्रसाद उच्च माविको टिमलाई एक सय १२ रनको फराकिलो अन्तरले हराउन सफल भयो ।

Kids Festival 2022
kanti aarogya hospital
add

टस जितेर ब्याटिङ गरेको होलिल्याण्डले १० ओभरमा ३ विकेटको नोक्सानीमा १ सय ३५ रन जोडेको थियो । होलिल्याण्डका लागि जेनिशा थापाले सर्वाधिक ३९ रन, रन्जु श्रेष्ठले ३१ रन, अलिना वर्माले अविजित १२ रनको योगदान गरिन् ।

वलिङमा मंगल प्रसादकी उर्वशी शाही र कविता थारुले १–१ विकेट लिन सफल भए । जवाफमा मंगल प्रसादका खेलाडी ८.१ ओभरमा २३ रन बनाएर अलआउट भए ।

मंगलको तर्फबाट कुनै पनि खेलाडीले दोहोरो स्कोर बनाउन सकेनन । मंगलकी निरुता सत्यालले ६ रन र करिश्माले ५ रन बनाईन् । होलिल्याण्डका लागि वुमन अफ द म्याच मनिषा रानाले सर्वाधिक ४ विकेट, बिना थापाले ३ विकेट लिन सफल भईन । शनिबार भएको उद्घाटन खेलमा टस जित्ने टोली मोर्डन पब्लिक र होलिल्याण्डले चाँदीको सिक्का पाएकाछन् ।

बाँके जिल्ला क्रिकेट संघले आयोजनाको गरेको प्रतियोगिताको उद्घाटन नेपालगन्ज उप–महानगरपालिका मेयर प्रशान्त विष्टले ब्याटिङ गर्दै गरेका थिए । उद्घाटन समारोहमा नेपालगन्ज उप–महानगरपालिकाका उपमेयर कमरुद्दिन राई, लुम्बिनी–कर्णाली प्रदेश क्रिकेट संघ अध्यक्ष दुर्गा थापा, आयोजक बाँके जिल्ला क्रिकेट संघ अध्यक्ष सरोवर प्रसाई, नेपाल क्रिकेट संघका पुर्व उपाध्यक्ष बिनोद मैनाली, बाँके जिल्ला क्रिकेट संघका संस्थापक अध्यक्ष राम टन्डन, प्रतियोगिता संयोजक एवम बाँके जिल्ला क्रिकेट संघका उपाध्यक्ष सोफियान खान पठान, प्राविधिक संयोजक मनमोहन लम्साल, बाँके जिल्ला क्रिकेट संघ सदस्य एवम् राष्ट्रिय क्रिकेट टिमका पुर्व छनोट कर्ता सुनिल सिंह हमाल, बाँके जिल्ला क्रिकेट संघका सदस्य मेराज अन्सारी, इरफान खान, वरिष्ठ प्रशिक्षक दिपेन्द्र प्रताव सिंह, जमिल अन्सारी लगायतको उपस्थिती रहेको थियो ।

नेपालगन्ज उप–महानगरपालिकाले मुख्य प्रायोजन गरेको प्रतियोगितामा मेयर (पुरुष) तर्फ २२ र उपमेयर(महिला) तर्फ ६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको पुरुष तर्फ समुह ‘ए’ मा ज्योति स्पोर्टस एकेडेमी (ए), फालकोन स्पोर्टस क्लब, नेपालगन्ज थन्डर, थ्रीस्टार क्रिकेट क्लब, नेपालगन्ज मोडेल एकेडेमी र ज्योति स्पोर्टस एकेडेमी(बी), समुह ‘बी’ मा श्रीचन्द्र मेवालाल स्कुल, भेरी रकर्स, बाँके बारियर्स, जागुर स्पोर्टस क्लब, रनियापुर युवा क्लब रहेका छन् ।

यसैगरी समुह ‘सी’ मा मंगल प्रसाद स्कुल, मोर्डन पब्लिक स्कुल, अब्दुल्लाह लायन क्रिकेट क्लब, सेन्ट थोमस स्कुल, न्यु दर्पण युवा क्लब र समुह ‘डी’ मा नेपालगन्ज किङ, नेपालगन्ज–११ रकर्स, धारा मंगोलियन स्पोर्टस क्लब, बिरता क्रिकेट क्लब, नेपालगन्ज चाम्स र कोहलपुर स्पोर्टस एकेडेमी परेका छन् ।

यसैगरी महिला तर्फको समुह ‘ए’ मा नेपालगन्ज मोडेल एकेडेमी, त्रिभुवन स्कुल र श्री चन्द्र मेवालाल स्कुल तथा समुह ‘बी’ मा होलिल्यान्ड स्कुल, मंगल प्रसाद स्कुल र बाल विद्या स्कुल रहेका छन् । प्रतियोगिताको पुरुष तर्फको विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यसैगरी महिला तर्फको विजेता टिमले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ । प्रतियोगितामा पुरुष र महिला तर्फको प्लेयर अफ सिरिजले ११ हजार रुपैयाँ र प्रत्येक खेलको प्लेयर अफ म्याच बन्ने खेलाडीले नगद १ हजार पाउनेछन् ।

प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट ब्याटर, उत्कृष्ट वलर, उत्कृष्ट फिल्डर र उदयीमान खेलाडीले आर्कषक पुरस्कार पाउनेछन् । प्रतियोगिता आयोजना गर्नको लागि नेपालगन्ज उप–महानगरपालिकाले मेयर कप खुल्ला पुरुष क्रिकेट प्रतियोगिताको लागि ५ लाख र उपमेयर कप महिला क्रिकेट प्रतियोगिताको लागि २ लाख आर्थिक सहयोग गरेको छ । प्रतियोगिता अन्तर्गत आइतबार पुरुष तर्फ नेपालगन्ज मोडेल एकेडेमी र ज्योति स्पोर्टस एकेडेमी(बी) बिच प्रतिस्पर्धा हुनेछ । महिला तर्फ त्रिभुवन स्कुल र श्री चन्द्रमेवा लाल स्कुलबिच प्रतिस्पर्धा हुनेछ ।

थप समाचार

बाँकेको क्रिकेटलाई पुरानै लयमा फर्काउन नेपालगन्जमा मेयर तथा उपमेयर कप