भेरी अस्पतालका लेखाअधिकृत सहित १५ जनालाई कैद सजायको फैसला


भेरी अस्पतालका लेखाअधिकृत सहित १५ जनालाई कैद सजायको फैसला

File Photo

नेपालगन्ज १० फागुन : भेरी अस्पताल नेपालगन्जका कम्प्युटर अपरेटर अरुणराज खनालसहित १५ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरिएकोछ । कोरोना भाइरस टेस्ट गर्ने मेशिन लगाएत विभिन्न मेडिकल उपकरण खरिदमा अनियमितता भएपछि (भेरी अस्पतालका लेखाअधिकृत सहित ४ कर्मचारी निलम्बित) अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कमिशनको रकम घुससहित पक्राउ परेका उनीहरुलाई विशेष अदालतले दोषि ठहर गरेको हो ।

विशेष अदालतले घुस लिने कर्मचारीसँगै घुस दिनेलाईसमेत भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै सजाय सुनाएको छ । भेरी अस्पतालका कम्प्युटर अपरेटर अरुणराजसमेतका १५ जनालाई प्रतिवादी बनाउँदै दायर भएको मुद्दामा सोमबार विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यद्वय यमुना भट्टराई र खुसीप्रसाद थारूको इजलासले यस्तो आदेश दिएको हो ।

कम्प्युटर अपरेटर खनालसमेतका १५ जनालाई प्रतिवादी बनाउँदै अख्तियारले २२ असोज ०७७ मा घुस मुद्दा दायर गरेको थियो । यस मुद्दामा अनुसन्धानका क्रममा ११ जनाले घुस लिएको र चारजनाले घुस दिएको भेटिएको थियो । त्यसपछि अख्तियारले ११ जनाविरुद्ध मात्र भ्रष्टाचार मुद्दा दायर गरेको थियो । तर, विशेषले भेरी अस्पतालका कर्मचारीलाई घुस उपलब्ध गराउने सबैलाई भ्रष्टाचार मुद्दा ठहर गर्दै सजाय सुनाएको हो ।

विशेषको आदेशअनुसार कर्मचारीलाई घुस दिने नेपाल स्टोरकी सञ्चालक पूर्णिमा भण्डारीलाई ४५ हजार रुपैयाँ जरिवाना र तीन महिना कैद तथा कमला इन्टरनेसनलका सञ्चालक दिपेन्द्र अग्रवाललाई ३६ हजार रुपैयाँ जरिवाना र तीन महिना कैद हुने भएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

यसैगरी, अब्दुल अली अन्सारीलाई ५६ हजार बिगो तथा पंकजकुमार श्रेष्ठलाई ६१ हजार रुपैयाँ जरिवाना हुने फैसलामा उल्लेख छ । उनीहरू दुवैजनालाई चार–चार महिना कैदको सजाय सुनाइएको छ । ज्ञानबहादु ओलीलाई पनि उति नै कैद तथा ९६ हजार रुपैयाँ जरिवाना तोकिएको छ । यसैगरी, साहित हुसेन हलुवाइलाई २० हजार रुपैयाँ जरिवाना तथा एक महिना कैद सजाय सुनाइएको छ ।

अदालतले बरामदी मुचुल्का, अनुसन्धानका क्रममा भएको साबिती बयान, अरुण खनालले गुगल ड्राइभमा सुरक्षित राखेको कमिसनको विवरण, अदालतलमा गरेको बकपत्रलगायतलाई प्रमाण मान्दै यस्तो फैसला भएको हो ।अस्पतालमा कार्यरत कम्प्युटर अपरेटर खनालको कार्यकक्षबाट १६ लाख १३ हजार नौ सय ७५ रुपैयाँबराबरको रकम र चेक बरामद भएपछि छानबिन सुरु भएको थियो ।

खनालले विभिन्न फर्म तथा पसलबाट उक्त रकम कमिसनबापत लिएको अख्तियारको अनुसन्धानले देखाएको थियो । कम्प्युटर अपरेटर खनालसहित उक्त अस्पतालका लेखा अधिकृत माधवप्रसाद आचार्य, लेखापाल इन्द्रबहादुर खत्री र सहलेखापाल प्रेमबहादुर खत्रीलाई प्रतिवादी बनाइएको थियो ।

उनीहरूले आर्थिक वर्ष ०७६/७७ का लागि भन्दै विभिन्न फर्म तथा पसलहरूबाट १९ लाख १३ हजार ७० रुपैयाँ घुस लिएको अनुसन्धानका क्रममा देखिएको थियो । विशेष अदालतले दुई वर्षपछि फैसला दिँदै अख्तियारको मागदाबी रहेको कुल १७ लाख ८० हजार चार सय ७५ रुपैयाँलाई चार भाग लगाई बिगो तथा जरिवाना तोकेको छ ।

विशेषका अनुसार उनीहरू चारैजनालाई जनही चार लाख ४५ हजार एक सय १८ रुपैयाँ बिगोबमोजिम जरिवाना तथा तीनैजनालाई सात–सात महिना कैद हुने फैसला भएको छ यस्तै, राजेन्द्रकुमार सोनीलाई ९९ हजार ६ सय रुपैयाँ जरिवाना तथा चार महिना कैद सजाय सुनाइएको छ ।

फैसलाअनुसार कमालुद्दिन मुकेरीलाई ६ महिना कैद र एक लाख ६१ हजार रुपैयाँ जरिवाना तोकिएको छ भने अवनिशकुमार अग्रवाललाई ६ महिना कैद एक लाख १८ हजार ६ सय रुपैयाँ जरिवाना तोकिएको छ । सुदीप रिजाल र इजामुद्दिन खाँलाई ६०–६० हजार जरिवाना र चार–चार महिना कैद हुने सजाय सुनाइएको छ ।

थप समाचार

भेरी अस्पतालका लेखाअधिकृत सहित ४ कर्मचारी निलम्बित