मब क्याम्पसको विवाद समाधान, विद्यार्थी संगठन निर्वाचनको तयारीमा जुटे

स्ववियु निर्वाचनको माग गर्दै नेविसंघको धर्ना


मब क्याम्पसको विवाद समाधान, विद्यार्थी संगठन निर्वाचनको तयारीमा जुटे

नेपालगन्ज १ चैत्र : विद्यार्थीको नाम लिष्ट सार्वजनिक गरेको विषयलाई लिएर विवाद भएपछि नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा रोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)निर्वाचन प्रक्रिया शुरु हुने भएकोछ । विद्यार्थी संगठनबीचको बिबाद हल गरेर निर्वाचन प्रक्रिया अगाडी बढाउने सहमति भएसंगै अब महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा स्ववियु निर्वाचन हुने भएको छ ।

बुधबार बेलुका क्याम्पस प्रशासन तथा विद्यार्थी संगठनबीच स्ववियु निर्वाचन गराउने सहमति भएको हो । गत फागुन २७ गतेदेखि अखिल छैटौँ, अनेरास्ववियु, अखिल क्रान्तिकारी (बहुमत), समाजवादी विद्यार्थी युनियन, नेपाल समाजवादी विद्यार्थी युनियन, अखिल क्रान्तिकारी (पवन कार्की), अखिल क्रान्तिकारी, अखिल क्रान्तिकारी बैद्य, विद्यार्थी एकता मञ्चले विद्यार्थीको नाम लिष्ट सार्वजनिक गरेको विषयलाई लिएर तालाबन्दी गरेका थिए ।

उनीहरुले उम्मेदवारी दर्ता गर्ने सचिवालय र क्याम्पस प्रमुखको कोठामा तालाबन्दी गरेका थिए । ९ विद्यार्थी संगठनले तालाबन्दी गरेपछि उम्मेदवारी दिन पुगेका काँग्रेस, एमाले निकट विद्यार्थी निर्वाचन प्रक्रियामै पुग्न पाएका थिएनन् ।

विवाद समाधान भएसंगै आगामी चैत्र ८ गते महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन हुनेछ । यसअघि स्ववियु निर्वाचन चैत्र ५ गतेलाई तोकिएको थियो । चैत्र ३ गते नोमिनेसन दर्ता हुनेछ । महेन्द्र बहुमुखी क्याम्पसमा हुने निर्वाचनका लागि ४ हजार १ सय २२ जना मतदाता छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

स्ववियुको निर्वाचनलाई लिएर महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जसहित देशभरका ११ वटा त्रिविका आङ्गिक क्याम्पसमा विवाद छ । काठमाडौंका आरआर, त्रिचन्द्र, विश्वभाषा, पाटन संयुक्त, र नेपाल कमर्स क्याम्पसमा स्ववियुको निर्वाचन कार्य तालिका अनुसार अघि बढ्न सकेको छैन । 

त्यसैगरी उपत्यका बाहिर कञ्चनपुरको सिद्धनाथ बहुमुखी, बाँकेको महेन्द्र बहुमुखी, पाल्पाको त्रिभुवन बहुमुखी, बागलुङको धौलागिरि बहुमुखी, पोखराको पृथ्वीनारायण बहुमुखी र चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया रोकिएको छ । तर, विवाद समाधान भएसंगै बाँकेको नेपालगन्ज स्थित महेन्द्र बहुमुखी क्याम्पस चैत्र ८ गतेका लागि निर्वाचन गर्ने तयारी भएको हो ।

देशभर स्ववियु निर्वाचन आगामी चैत ५ गते हुँदैछ । कार्यतालिका अनुसार चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ ।

शनिवार समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी नामावली दाखिला र प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशन गर्ने काम भएको थियो । तर, नेपालगन्जसहित ८ वटा क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिन पुगेको थियो ।

अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने छन् ।

स्ववियु निर्वाचन निर्देशिकामा निर्वाचन स्थगित भए त्यसको ३० दिनभित्र निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यकारी व्यवस्था छ । ३० दिनभित्र निर्वाचनको दिन तोक्ने अधिकार क्याम्पस प्रमुखलाई दिइएको छ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा चैत ३ गते त्रिभुवन विश्वविद्यालयमा चैत ५ गते, नेपाल संस्कृत विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा चैत ८ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तय भएको छ ।

स्ववियु निर्वाचनको माग गर्दै नेविसंघको धर्ना

नेपाल विद्यार्थी संघ, महेन्द्र बहुमुखी क्याम्पस ईकाइ कमिटीले बुधबार विद्यार्थी सङ्गठनबीच उत्पन्न विवाद समाधान गरि स्ववियु निर्वाचनको प्रक्रिया सुरु गर्न माग गर्दै धर्ना दिएको थियो ।

नेविसंघ, महेन्द्र बहुमुखी क्याम्पस ईकाइ कमिटीका विद्यार्थी नेता जिवनराज सुवेदीका अनुसार स्ववियु निर्वाचन अविलम्ब सुरु गर्न माग राख्दै क्याम्पस हाताभित्र एक घण्टा धर्ना दिएको बताए ।

‘१४ वर्षपछि हुन लागेको स्ववियु निर्वाचन विथोल्न खोज्नु दुर्भाग्य हो । निर्वाचन हुने हो कि होइन भन्नेमै अलमल थियो’ सुवेदीले भने–‘विवाद समाधान भएर स्ववियु निर्वाचनको मिति तोकिएको छ । यसले हामी विद्यार्थीमा उत्साह थपेकोछ ।’

‘स्ववियु निर्वाचनलाई आम विद्यार्थीको उत्सवको रूपमा लिइन्छ । स्ववियुले विद्यार्थीका समस्यालाई क्याम्पसको प्रशासनिक तहसम्म पु¥याउने र नीतिगत रूपमै समाधान गर्ने सेतुको काम गर्छ ।’ उनले अगाडी थपे–‘१४ वर्षपछि राजनीतिक चेतनाका साथै विद्यार्थीले आफ्नो अधिकार प्रयोग गर्न पाउनेछन् ।’

थप समाचार

महेन्द्र बहुमुखी क्याम्पससहित ८ क्याम्पसको स्ववियु निर्वाचन रोकियो

स्ववियु निर्वाचन : यस्ता छन् विद्यार्थीका एजेण्डा

स्ववियु निर्वाचनमा आचारसंहिता : रंगरोगन र पोस्टर टाँस्न नपाइने

स्ववियु निर्वाचन : आज मनोनयनपत्र वितरण

स्ववियु निर्वाचनमा सत्तारुढ दलका विद्यार्थीबीच सहकार्य

स्ववियु निर्वाचन : देशभरका क्याम्पसमा निर्वाचन समिति गठन

स्ववियु निर्वाचन : देशभरिका क्याम्पसमा विद्यार्थी सङ्गठन दर्ता