रनिङ शिल्डमा पदक जित्ने खेलाडीलाई बैजनाथ गाउँपालिकाको सम्मान


रनिङ शिल्डमा पदक जित्ने खेलाडीलाई बैजनाथ गाउँपालिकाको सम्मान

बाँके (बैजनाथ) ४ चैत्र: जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा छनोट भई पदक जित्ने खेलाडीलाई सम्मान गरिएको छ ।

बैजनाथ गाउँपालिकाको प्रतिनिधित्व हुने गरी हालै सम्पन्न रनिङ शिल्डमा विभिन्न खेलमा खेलाडीले पदक जितेका थिए । बैजनाथ गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा सम्मान गरिएको हो ।

गाउँपालिकामा शनिबार आयोजित कार्यक्रममा रनिङ शिल्डमा पहिलो पदक जित्ने खेलाडीलाई प्रतिब्यक्ती १० हजार रुपैयाँ, दोस्रो पदक जित्ने खेलाडीलाई पोशाक र सम्मान पत्र, तेस्रो पदक जित्ने खेलाडीलाई प्रमाणपत्र तथा विधागत खेल प्रशिक्षकलाई प्रमाणपत्र सहित सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी एवम् गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही, विशिष्ट अतिथी एवम् गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय, बैजनाथ गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष महाबिर थारु लगायतले सम्मान गरेका हुन् ।

Care City
kanti aarogya hospital
Health Care Clinic Nepalgunj

उक्त कार्यक्रममा सटफुट खेलमा पहिलो हुने छात्रा एलिसा बस्नेत, तेक्वान्दोमा पहिलो हुने सुरबिर चौधरी, करातेमा पहिलो हुने प्रेमबहादुर रम्तेल, करातेमा पहिलो हुने बबिता बिक, करातेमा दोस्रो हुने अञ्जना थारु, करातेमै दोस्रो हुने सिमाना बाठा, तेक्वान्दोमा दोस्रो हुने उमा कुमारी क्षेत्री लगायतलाई सम्मान गरिएको थियो ।

यस्तै प्रशिक्षक जनक केसी, सुरेन्द्र दाहाल, अर्जुन योगी र पवन धिताल तथा उपचारमा सहयोग पुर्याउने राजाराम शर्मा लगायतलाई पनि सम्मान गरियो । रनिङ शिल्डमा बैजनाथ १५ सय मिटर दौडमा तेस्रो, भलिबल(छात्र)मा तेस्रो, कबडी (छात्र र छात्रा)मा बैजनाथ गाउँपालिका तेस्रो भएको थियो ।

उक्त कार्यक्रममा वडा नम्बर ५ का वडाअध्यक्ष देवबहादुर रावत, वडा नम्बर ७ का वडाअध्यक्ष दिनेशकुमार थारु लगायत अतिथीको पनि उपस्थिती रहेको थियो ।