महाआरतीमा राजापरिवार सहभागि हुँदै, भव्य तयारी


महाआरतीमा राजापरिवार सहभागि हुँदै, भव्य तयारी

File Photo

नेपालगन्ज १७ वैशाख : पश्चिम नेपालको एक महिने भ्रमणका लागि नेपालगन्ज आएका राजा ज्ञानेन्द्र शाहसहित राजपरिवार बागेश्वरी मन्दिरमा हुने महाआरतीमा सहभागि हुँदैछन् ।

पश्चिम नेपालकै प्रशिद्ध मन्दिर नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा सुरु भएको साप्ताहिक ‘महाआरती’मा राजपरिवारको सहभागिता हुने भएकोछ । बागेश्वरी मन्दिरमा गरिने साप्ताहिक महाआरतीमा सहभागी हुने भएपछि त्यसको भब्य तयारी गरिएको छ ।

महाआरतीमा राजा ज्ञानेन्द्र शाह, रानी कोमल शाह, छोरी प्रेरणा र बुहारी हिमानी शाह लगायतको सहभागिता रहनेछ । महाआरतीको शुभसाईत सोमबार बेलुका ६ः३७ बजे रहेकोछ । सोअघि राजा र राजपरिवार सदस्यले बागेश्वरी मन्दिरमा विशेष पूजाअर्चना गर्ने कार्यतालिका तय गरिएकोछ ।

महाआरतीमा राजपरिवारको सहभागिता हुने भएपछि महाआरती स्थल र बागेश्वरी मन्दिर सरसफाई गरिनुका साथै सिंगारिएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

नेपालगन्जको बागेश्वरी मन्दिरमा केही महिनादेखि हरेक सोमबार महाआरती गर्ने गरिदैँ आएको छ । महाआरतीमा दिन प्रतिदिन भक्तजनको घुँइचो लागिरहेको छ । पश्चिम नेपालको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा बाह्य तथा आन्तरिक पर्यटकको सधै“ भीड हुने गर्दछ । हरेक सोमबार महाआरती हुने भएपछि भक्तजनहरू स्वस्फूर्त आउने गरेका छन् ।

महाआरतीमा तीन जना पण्डितले चारै दिशातर्फ फर्किएर आरतीका विधि पूरा गर्ने र सन्ध्या आरतीपछि भजन कीर्तन पनि गर्ने गरिएको छ ।

महाआरतीमा सहभागी हुँदा पितृमोक्षका साथै मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ । ‘वेष्टर्न ट्राभल मार्ट’को अवसरमा गत माघ १५ गतेदेखि साप्ताहिक रूपमा बागेश्वरी मन्दिरमा महाआरती सुरु गरिएको हो ।

ट्राभल एजेन्ट्स एशोसिएशन अफ नेपाल (नाट्टा) बाँकेका अध्यक्ष श्रीराम सिग्देलकै अथक प्रयास र समन्वयमा महाआरतीले पूर्णता पाएको हो । बागेश्वरी मन्दिरमा प्रत्येक सोमबार हुने महाआरतीले धार्मिक पर्यटक प्रवद्र्धनमा सघाउ पुगेको नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले बताए ।

राजाको यही वैशाख २० गते नेपालगन्जको रामलिला मैदानमा नागरिक अभिनन्दन गरिदैँछ । राजा ज्ञानेन्द्रको नागरिक अभिनन्दनलाई भव्य बनाउन नेपालगन्जमा तयारी तिव्र पारिएको राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटाले जानकारी दिए । उनका अनुसार ५० हजार बढिको सहभागितामा राजाको नेपालगन्जमा भब्य नागरिक अभिनन्दन गरिनेछ । यसका लागि राप्रपाका महामन्त्री एवं प्रतिनिधिसभाका सांसद डाक्टर धवल शमशेर राणाको संयोजकत्वमा पाँच हजार एक सदस्यीय मूल समिति र १४ वटा उपसमिति बनाइएको छ ।

शुक्रबार बेलुकी बुद्ध एयरको जहाजबाट रानी कोमल शाह, छोरी प्रेरणा र बुहारी हिमानी शाहसँग उनी नेपालगन्ज आएका हुन् । राजा ज्ञानेन्द्र यतिबेला नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१८ भुजईगाँउस्थित होटल सोल्टिमा बसेकाछन् । पश्चिम नेपालको एक महिने भ्रमण राजा ज्ञानेन्द्रले यही होटलबाट पुरा गर्नेछन् ।

थप समाचार

नेपालगन्ज आएसँगै राजा ज्ञानेन्द्रको ब्यस्तता बढ्यो

एक महिने पश्चिम नेपालको भ्रमणका लागि राजा ज्ञानेन्द्र शुक्रबार नेपालगन्ज आउदैँ

बागेश्वरीमा हुने महाआरतीमा राजा ज्ञानेन्द्रसहित राजपरिवार सहभागि हुदैँ