त्रिभुवन चोक क्षेत्रमा नेपालगन्जिया परिकार ब्राण्डिङ्ग, जेठ दोस्रो हप्तादेखि ‘स्ट्रीट फुडलेन’ कार्यान्वयन हुने


त्रिभुवन चोक क्षेत्रमा नेपालगन्जिया परिकार ब्राण्डिङ्ग, जेठ दोस्रो हप्तादेखि ‘स्ट्रीट फुडलेन’ कार्यान्वयन हुने

नेपालगन्ज २८ वैशाख : पश्चिम नेपालको प्रमुख औद्योगिक तथा ब्यापारिक नगरी नेपालगन्जको मुख्यबजार, त्रिभुवन चोकलाई केन्द्र बनाएर नेपालगन्जका परम्परागत परिकारका मौलिक स्वादको बजारीकरणका लागि फुडलेन बनाउन लागिएको छ ।

नेपालगन्जमा मौलिक स्वादको बजार लगाउने अवधारणालाई कार्यान्वयनका लागि ‘फुडलेन’का परिकल्पनाकार तथा नेपाल एशोसियसन अफ टुर एण्ड ट्रार्भल एजेन्टस् (नाट्टा) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देल आगामी जेठ दोस्रो सातादेखि यसको सुरुवात गर्न लागेको जानकारी दिए ।

‘आगामी जेठ १२ गतेदेखि नेपालगन्जको त्रिभुवन चोकमा फुडलेनको सुरुआत गर्ने हाम्रो तयारी छ,’ फुडलेनको अवधारणा अघि सारेका नाट्टा बाँकेका अध्यक्ष सिग्देलले भने, ‘यसका लागि आवश्यक सबै तयारीमा हामी जुटेका छौं, उद्योगी, व्यवसायी, प्रशासन तथा जनप्रतिनिधिहरु सबैले हातेमालो गरिरहेकाछन् ।’

स्थानीय परिकारलाई एकै ठाउँबाट ब्यवस्थित रुपले बिक्री गर्ने उद्देश्यले नाट्टा बाँकेको अग्रसरतामा त्रिभुवन चोक क्षेत्रको पूर्वी तथा पश्चिम लाईनमा ‘स्ट्रीट फुडलेन’ बनाउन लागिएको हो ।

Kids Festival 2022
kanti aarogya hospital

यसका लागि सरोकारवाला पक्षसँग विभिन्न चरणमा छलफल समेत भएकोछ । उक्त छलफलमा सहभागि सम्वद्धहरुले यस क्षेत्रको आर्थिक अवस्थालाई माथी उठाउन ‘स्ट्रीट फुडलेन’ कोशेढुङ्गा सावित हुने भन्दै छिटै सञ्चालन गर्न पहल गरेकाछन् ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले यहाँका स्थानीय परिकारलाई एकैठाउँमा ब्यवस्थित रुपले बिक्री गर्नका लागि ‘स्ट्रीट फुडलेन’ बनाउन आवश्यक देखिएको भन्दै नाट्टा बाँकेले ल्याएको अवधारणालाई उपमहानगरपालिकाले सहर्ष रुपमा स्वीकार गरी कार्यान्वयनको चरणमा लागेको मेयर विष्टले सुनाए ।

तत्कालका लागि त्रिभुवन चोक क्षेत्रमा ‘स्ट्रीट फुडलेन’ बनाउने योजना अनुसार उपमहानगरपालिकाले शान्ति सुरक्षाका सवालमा स्थानीय प्रहरी प्रशासनसँग छलफल अगाडी बढाइसकेको बताए ।

‘स्ट्रीट फुडलेन’ बाट उत्पादन हुने फोहोर ब्यवस्थापन, शौचालयको ब्यवस्था, ‘स्ट्रीट लाईट जडान गर्ने जिम्मा उपमहानगरपालिकाको भएको र यसमा स्थानीय ब्यवसायीले पनि साथ दिनुपर्ने उनको धारणा छ । फुडलेन बनाउने विषयमा सरोकारवालाबीच पटक पटक छलफल हुँदै आएको छ ।

नेपालगन्ज फुडलेन व्यवस्थापन समितिका संयोजक समेत रहेका यसका परिकल्पनाकार सिग्देलले नेपालगन्जको आर्थिक अवस्था माथी उठाउन ‘स्ट्रीट फुडलेन’ बनाउन आवश्यक रहेको बताए ।

‘नेपालगन्जमा बिक्री भइरहेका स्थानीय खानेकुरालाई ब्यवस्थित तरिकाले स्ट्रीट फुडलेनमा पस्किन्छौं, स्वास्थ्य मापदण्ड अपनाएर राती अबेरसम्म आफ्ना परिकार बेच्न सक्यौं भने यहाँको स्थानीय परिकारको राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तर सम्म प्रचार–प्रसार हुन्छ,’ उनले भने ।

नेपालगन्जका विभिन्न अस्पतालमा भर्ना भएका करिव एक हजार बेडका बिरामी र तिनका कुरुवा, दिवाकालिन सेवाका बसमा रातको समयमा नेपालगन्ज आईपुग्ने यात्रु र यहाँका क्यासिनोमा आउने भारतीय पर्यटकले रातको समयमा पनि स्ट्रीट फुडलेनमा स्थानीय परिकार खान पाउने हुँदा आर्थिक अवस्था माथी उठ्ने सिग्देलको विश्वास छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष एवम् उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य अब्दुल वाहिद मन्सुरीले नेपालगन्जको स्थानीय परिकारको प्रचार भएपनि ब्यवस्थित हुन नसकेको भन्दै स्ट्रीट फुडलेन बनाएपछि यसले नेपालगन्जको पहिचानसंगै आर्थिक क्षेत्रमा सुधार ल्याउने बताए ।

‘बाहिरका मान्छे आएपछि नेपालगन्जको स्थानीय परिकार खान खोज्छ, त्यसका लागि त्रिभुवन चोकमा धाउँछन्, तपाईहरुले बेचिरहेको परिकारलाई ब्यवस्थित, हाइजेनिक, स्वस्थ र सफा मात्रै बनाउन खोजिएको हो,’ उनको भनाईछ ।

नेपालगन्जका स्थानीय समेत रहेका सामाजिक क्षेत्रको सवालमा दख्खल दिने वरिष्ठ पत्रकार हेमन्त कर्माचार्यले स्ट्रिट फुडले यहाँको मौलिक स्वादलाई देशभरमा चर्चित गराउँदै नेपालगन्जको पहिचान स्थापित गर्ने यसका साथसाथै निम्न वर्गीय व्यवसायीहरुको ब्यापार ब्यवसायमा समेत थप सघाउ पुग्ने बताए । उनले स्थानीय मौलिक परिकारको बजारले नेपालगन्जको पहिचानसँगै आर्थिक प्रगतिमा पनि सघाउ पुग्ने विश्वास ब्यक्त गरे ।

स्ट्रिट फुड लेन निर्माणका लागि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–८ का वडाअध्यक्ष रजनीश वाजपेयी र वडा नम्बर–११ का नन्दकिशोर कश्यपले पनि स्ट्रीट फुडलेनको महत्व र आवश्यकतालाई मध्यनजर गर्दै सोही अनुरुप लागि परेको बताउँछन् ।

अधिकांस ब्यवसायीहरु स्ट्रीट फुडलेन बन्ने भएपछि आफुहरुको ब्यापार, ब्यवसाय बढ्नेमा आशावादी देखिन्छन् ।

थप समाचार

नेपालगन्जिया परिकार ब्राण्डिङ्ग गर्न त्रिभुवन चोक क्षेत्रमा ‘स्ट्रीट फुड लेन’ बनाइने

यी हुन् ‘नेपालगन्जीया’ खानाका परिकार