पत्रकार महासंघ बाँकेले स्वेच्छिक सदस्यता त्याग्नेलाई सम्मानसहित बिदाई गर्ने


पत्रकार महासंघ बाँकेले स्वेच्छिक सदस्यता त्याग्नेलाई सम्मानसहित बिदाई गर्ने

नेपालगन्ज ७ जेठ : नेपाल पत्रकार महासंघ बाँके शाखाले स्वेच्छिक रूपमा महासंघको सदस्यता त्याग गर्ने सदस्यहरूलाई सम्मानसहित बिदाई गर्ने भएकोछ ।

पत्रकार महासंघमा पत्रकारभन्दा गैरपत्रकारहरूको संख्या बढ्दै गएको र नेतृत्वमा उनीहरू नै हावी हुने गरेको गुनासो बढिरहेका बेला नेपाल पत्रकार महासंघले सदस्यता शुद्धिकरण अभियान सुरू गरेको छ ।

महासंघको सोही अभियान अन्तर्गत बाँके शाखाबाट सदस्यता लिएका तर, हाल पत्रकारिता पेसामा नरहेका सदस्यहरूलाई स्वेच्छिक रुपमा सदस्यता त्याग गर्न आग्रह गरिने महासंघ बाँके शाखा अध्यक्ष दामोदर भण्डारी बताउँछन् ।

बाँके शाखामा हालसम्म ३२३ जनाले सदस्यता लिएकाछन् । यसरी सदस्यता लिनेहरुमध्ये ठूलो संख्याका सदस्यहरु हाल पत्रकारिता पेशामा नरहेको, सदस्यता प्राप्त गरेकाहरु सरकारी जागिरे रहेको, केही सकृय राजनीतिमा लागेको रहेकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

यसरी पत्रकारिता पेशामा नरहेकाले स्वेच्छिक रुपमा सदस्यता त्याग गरेमा उनीहरुलाई महासंघले सम्मानसहित विदाई गर्ने महासंघ बाँके शाखा अध्यक्ष भण्डारी बताउँछन् ।

अध्यक्ष भण्डारीले महासंघका सदस्यता शुद्धिकरण अभियान अन्तरगत हाल पत्रकारिता क्षेत्रमा क्रियाशिल नभएका र अन्य पेसालाई मूल पेसा बनाएकाहरुले लिखित निवेदन दिएर स्वघोषणा गर्न आग्रह गरिएको जानकारी दिए ।

उनले मुल पेसा पत्रकारिता नभएकाहरू पनि सदस्य भइराख्दा संस्थाको गरिमामाथि नै प्रश्न उठिरहेका बेला सदस्यता त्यागको स्वघोषणा गर्नेहरूको अभियानले पत्रकारिता क्षेत्रलाई थप विश्वसनीय बनाउन सघाउ पुग्ने बताए ।

जिल्लामा शुद्धीकरणका लागि शुद्धीकरण एवं सदस्यता विवरण संकलन समिति गठन गर्दै शाखामा आवद्ध सबै सदस्यको व्यक्तिगत विवरण संकलन गरिरहेकोले मापदण्डभित्र नपर्ने अन्य सदस्यहरूले पनि आफैंले सदस्यता त्याग गर्न उनको सुझाव छ ।

महासंघले जारी गरेको सदस्यता शुद्धीकरण मापदण्ड निर्देशिकामा जनप्रतिनिधि, निजामती तथा अन्य जुनसुकै सरकारी निकायको स्थायी, अस्थायी, करार सेवामा कार्यरत (मिडियासँग सम्बन्धित सरकारी र संस्थानबाहेक) तथा गैरसरकारी संस्था (सहकारी, बैंक, फाइनान्सलगायत अन्य संघ संस्था) मा पूर्णकालीन काम गर्नेको सदस्यता नवीकरण नहुने र नयाँ सदस्यता पनि प्राप्ति नहुने उल्लेख छ ।

त्यसैगरी मापदण्डमा महासंघको सदस्यता लिएका तर, कहिलेकाहिँ मात्र पत्रकारिता गर्नेको समेत सदस्यता नवीकरण नहुने उल्लेख छ ।

यता बाँकेमा पत्रकारभन्दा गैरपत्रकारहरूको संख्या बढ्दै गएको र यसले ब्यवसायीक पत्रकारिता, पत्रकार र महासंघको गरीमामाथि आँच आउने काम भएकाले भोट बैंकका लागि मात्र सदस्यता संख्या नबढाउन भन्दै यही जेठ ४ गते पत्रकार महासंघ बाँकेका अध्यक्ष भण्डारीलाई नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, प्रेस चौतारीका अध्यक्ष दुर्गा रोकाय, प्रगतिशिल पत्रकार संघका जिल्ला संयोजक तिलक गाउँले र समाजवादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्माले ध्यानाकर्षण पत्र समेत बुझाएका छन् ।

उनीहरु पत्रकार सुद्धिकरण, क्रियाशील पत्रकारहरुले सहज रुपमा सदस्यता प्राप्त गर्ने वातावरण निर्माण गरिनुपर्ने लागायतका माग राखेकाछन् ।

यसैबीच, नेपाल पत्रकार महासंघ बाँके शाखाले नयाँ सदस्यता आवेदन खुला गरेको छ ।

महासंघ बाँकेको शुक्रबार बसेको कार्यसमिति बैठकले केन्द्रको परिपत्र अनुसार नयाँ सदस्यता आवेदन खुला गर्ने निर्णय गरेसँगै सदस्यता आवेदन खुला गरेको हो ।

महासंघ बाँकेले नयाँ सदस्यता लिन ईच्छुक पत्रकारलाई ७ दिनभित्र आवेदन दिन आग्रह गर्दै सूचना सार्वजनिक समेत गरेको छ । पत्रकार महासंघको विधान अनुसार नयाँ सदस्यताका लागि १८ वर्ष उमेर पुगेका जिल्लामा क्रियाशिल पत्रकारहरुले आवेदन दिन सक्नेछन् । नयाँ सदस्यता आवेदन यही जेठ १२ गतेभित्र पेश गर्नुपर्ने महासंघ बाँकेले जनाएको छ ।

नयाँ सदस्यता आवेदन पेश गर्ने पत्रकारले महासंघको वेबसाईट www.fnjnepal.org.np बाट आवेदन फारम डाउनलोड गरी भर्नुपर्नेछ ।

सो आवेदन फारमसँगै नेपाली नागरिकताको प्रतिलिपि, कार्यरत सञ्चारमाध्यमको नियुक्ती पत्रको प्रतिलिपि, कार्यरत संस्थाको सिफारीस पत्र, हालसालै खिचेको पासपोर्ट साइजको दुई प्रति फोटो, विगत दुई वर्षदेखि पत्रकारितामा क्रियाशील रहेको विवरण खुल्ने प्रमाण सहितको सामाग्रीसहित आवेदन शुल्क एक हजार पेश गर्नुपर्ने महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले जानकारी दिए ।

थप समाचार

पत्रकार महासंघ बाँकेको सदस्यताका लागि आवेदन माग

गैरपत्रकारलाई सदस्य बनाएर ल्याउन खोजियो, आन्दोलन गर्ने चेतावनी

गैर पत्रकारको सदस्यता र स्थानान्तरण रोक्न प्रेस युनियनको दवाव