बाँकेमा खडेरीले धानको बीउ सुक्यो, रोपाइँ प्रभावित हुने


बाँकेमा खडेरीले धानको बीउ सुक्यो, रोपाइँ प्रभावित हुने

नेपालगन्ज ३० जेठ : गतबर्ष ढिलैगरि धान रोपेका बाँकेका किसान यसवर्ष पनि उही समस्या दोहोरिने भएपछि चिन्तित बनेकाछन् । सिचाइको प्रचुर उपलब्धता विना आकाशे पानीको भरमा खेती गर्ने बाँकेका किसानलाई पछिल्लोपटक बढ्दै गएको गर्मीले निरास बनाएकोछ ।

बाँकेका किसानलाई धानको बीउ (ब्याड) राख्ने चटारोले छपक्कै छोपेको बेला पानी पर्नुको साटो गर्मी बढ्दै गएपछि यस वर्ष धान उत्पादनमा कमी आउने किसानको आँकल छ ।

लामो समयदेखिको खडेरी र तापक्रम वृद्धिका कारण बाँकेमा बर्खेबाली प्रभावित भएको छ । यतिबेला धमाधम धानको बीउ राख्ने बेला भए पनि वर्षा र उचित सिँचाईको अभावका कारण कृषकले बीउ राख्न नपाएका हुन् ।

विगतका वर्षमा जिल्लाका अधिकांश क्षेत्रमा अहिलेसम्म धानको बीउ राखि सकिन्थ्यो । तर, यस वर्ष भने धानको बीउ राख्न सकिएको छैन । उपलब्ध सिचाँईको प्रयोग गरेर राखिएको धानको बीउ प्रचण्ड गर्मीका कारण सुक्न थालेकोछ । खेत चिरा पर्न थालेकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

लामो समयदेखि वर्षा नभएका कारण जेनतेन गरि राखिएको धानको बीउ सुक्न थालेको छ भने मकैलगायत खेतबारीमा लगाएका अन्य गेडागुडी खेतीसमेत ओइलाउन थालेको छ ।

सिँचाइको सुविधा भएका ठाउँमा समेत खोलानाला सुकेका कारण समयमै बीउ राख्न र रोपाइँ गर्न समस्या भएको राप्तीसोनारी–५ का हरि चौधरीले बताए । यस वर्ष समयमै रोपाइँ गर्न नपाइने भयो । पछिल्ला केही दिनयता तापक्रमसमेत ह्वात्तै बढेका कारण लगाएका बालीनालीसमेत ओइलाउँदै गएको उनले बताए ।

बाँके बैजनाथ गाउँपालिकाका टिटिहिरियाका किसान चन्द्रबहादुर आलेले यतीवेला आफूहरुलाई ब्याड राख्ने, खेत खनजोत गर्ने कामको चटारो भएको बताए । धानको बीउ राख्ने बेला पानी उपलब्ध हुन नसक्नुले पानीको अभावमा धान खेती प्रभावित हुने आले बताउँछन् ।

बाँकेको मुख्य बाली धान भए पनि सिँचाइको प्रयाप्त सुविधा नभएपछि अधिकांश किसानहरु आकासे पानीको भरमा खेती गर्दै आएका छन् । त्यसो त सिँचाइ सुविधा भएका केही किसानहरुले धानको ब्याड यसअघि राखिसकेका छन् । भने सिचाईको व्यवस्था भएका बाँकेका केही गाँउपालिकाका किसानले रोपाईँको तयारी गरिरहेका छन् ।

बाँकेका केही सिमित जग्गामा मात्रै बोरिङको पानी र सतह सिँचाइमार्फत रोपाइँ हुने गरेको छ । हामीले डिप बोरिङबाट पानी तानेर धानको ब्याड राखेका छौं । अब रोप्नका लागि खेतबारी खनजोत गरिरहेका छौं,’ सैनिककी किसान संगिता शाहीले भनिन्, ‘मनसुन समयमै सुरु नभएपछि धानको बीउ सुक्न थालेकोछ । खेतको जमिन समेत चिरा परेकोछ ।’

कृषि ज्ञान केन्द्र बाँकेले लामो समयदेखि वर्षा नहुँदा बाँकेमा धानको ब्याड नै राख्न नपाएको जनाएको छ । मौसम सक्रिय नभएसम्म रोपाइँ गर्न नपाउने भएपछि कृषक समस्यामा परेका छन् ।

बाँकेमा धान रोपाइँ हुने कुल ३६ हजार ५०० हेक्टर खेतीयोग्य जमिन छ । गतवर्ष पनि सोही क्षेत्रफल खेतमा धान खेती गरिएको थियो । अहिले पनि सबै क्षेत्रफलमा धान खेती हुने अनुमान रहेको केन्द्रले जनाएकोछ ।

यो महिनाको अन्त्य वा असार महिनाको पहिलो सातासम्म मनसुन सक्रिय भएमा उत्पादनमा भने असर नहुने र रोपाइँ गरिसकेपछि साउन र भदौमा समेत निरन्तर वर्षा भएमा धान, कोदो, मकै लगायतका उत्पादन राम्रो हुने केन्द्रको भनाईछ ।