नेपालगन्ज ११ चैत्र : अष्ट्रेलियामा रहेका नेपालीहरुले रंगहरुको पर्व होली उल्लासपूर्वक मनाइएका छन् । फागुन शुक्ल पूर्णिमाका दिन आफन्त, साथीभाइबीच अबिर र रंग खेलेर होली पर्व मनाइन्छ ।
अष्ट्रेलियाको सिड्नी, पर्थ, मेलबर्न लगायतको सहरमा आफूलाई पायक पर्ने स्थान, पार्कमा उपस्थित भएर नेपालीहरुले भब्यताका साथ होली मनाएका हुन् । अष्ट्रेलियाका विभिन्न ठाउँमा रहेका नेपाली युवा र बालबालिकाहरुले एकआपसमा रंग दलेर होली खेले ।
फागु पूर्णिमामा एकापसमा रङ, अबिर दलेर नाचगान पनि गरिन्छ । बूढापाका, युवा र बालबालिका पनि नाचगानमा भाग लिनेगर्छन् ।
नेपाली समूदायका संघ संस्थाले आयोजना गरेका कार्यक्रममा नेपालीहरु रंग अविरले पोतिएका देखिन्थ्ये । बालबालिकादेखि नेपालबाट घुम्न आएका अभिभावकले पनि होली पर्व उत्साहपूर्वक मनाएका छन्।
विशेषतः दुई दिनसम्म मनाइने होली पर्वको पहिलो दिन आज नेपालका पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदैछ । भने फागुन शुक्ल पूर्णिमाका दोस्रो दिन सोमबार भने नेपालको तराईमा मनाइन्छ।
होलीपर्वले समाजमा असमानता र विभेद मेटाउन सांस्कृतिक भूमिका खेलेको जानकार बताउँछन् । होली खेल्दा न जात हेरिन्छ, न धनी–गरिब । पछिल्लो समय सद्भावको प्रतिविम्ब यो पर्व सभ्य र भव्यरुपमा सबै जात, धर्म, समुदायले मनाउन थालेकाछन् ।