बाँकेको खजुरामा गरिदै जुडो प्रतियोगिता र कोचिङ सेमिनार 


सेतोखरी सेतोखरी   सोमबार, चैत २६, २०८०
बाँकेको खजुरामा गरिदै जुडो प्रतियोगिता र कोचिङ सेमिनार 

नेपालगन्ज २६ चैत्र : बाँकेको खजुरा गाउँपालिकामा तीन दिने पालिका स्तरीय जुडो प्रतियोगिता तथा प्रथम लुम्बिनी प्रदेशस्तरीय जुडो कोचिङ सेमिनार हुनेभएकोछ । नेपालगन्जमा सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । प्रतियोगिता यही चैत्र २७ गतेदेखी चैत्र २९ गतेसम्म चल्नेछ ।

मंगोलियन जुडो क्लबले खजुरा गाउँपालिकाको सहयोगमा गर्ने प्रतियोगिता तथा सेमिनारलाई दुई चरणमा विभाजन गरिएको छ । पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष विजय गुरुङले पहिलो दिन २७ गते खजुरा गाउँपालिकाका जुडो खेलाडीको सहभागितामा प्रतियोगिता हुने जानकारी दिए ।

उनका अनुसार पहिलो दिनको विजयी प्रतियोगीलाई प्रथम, द्धितीय र तृर्तियलाई पुरस्कार प्रदान गरिनेछ । यस्तै दोस्रो चरणमा चैत २८ र २९ गते प्रथम लुम्बिनी प्रदेश स्तरीय जुडो कोचिङ सेमिनार हुनेछ । यसमा बाँकेसहित बर्दिया, दाङ, रुपन्देही र प्यूठानबाट खेलाडी सहभागी हुने तय भएको प्रचार–प्रसार संयोजक बिक्रम बुढाक्षेत्रीले बताए ।

उक्त प्रतियोगितामा ६ जना प्रशिक्षकसहित ७५ जना खेलाडी सहभागि हुनेछन् । राष्ट्र र स्वास्थ्यका लागि खेलकुद नाराका साथ क्लबले खजुरालाई जुडोको हब बनाउन लागि परेको जनाइएको छ । युवा तथा बालबालिका लागूऔषधको चंगुलमा फसिरहेको अवस्थामा उनीहरुलाई खेलतर्फ आकर्षित गर्ने क्लबको लक्ष्य रहेको समेत अध्यक्ष गुरुङले बताए । 

Kids Festival 2022
kanti aarogya hospital

संघका उपाध्यक्ष नकुल खत्रीले खेलाडीहरुको आय आर्जनको स्रोत सुनिश्चित नभएका कारण विदेश पलाएन हुनुपर्ने बाध्यता आएको बताए । उनले खेलप्रति युवाको आकर्षण कम हुँदै गएको र सबै क्षेत्रमा खेलाडीको संख्या घट्दो क्रममा रहेको बताए ।

क्लबले २०६६ सालमा पहिलो पटक खजुरामा हालको लुम्बिनी प्रदेशका जिल्लालाई समेटने गरी प्रथम जुनियर जुडो प्रतियोगिता आयोजना गरेको थियो, भने २०७९ सालमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई समेटेर दोस्रो जिल्ला स्तरीय जुनियर जुडो प्रतियोगिता सञ्चालन गरेको थियो ।