सिड्नीको सपिङ मलमा छुरा प्रहारबाट ५ जनाको मृत्यु


सेतोखरी सेतोखरी   शनिबार, वैशाख १, २०८१
सिड्नीको सपिङ मलमा छुरा प्रहारबाट ५ जनाको मृत्यु

सिड्नीको वेस्टफिल्ड सपिङ सेन्टर बाहिरको भीड । तस्वीर :रिक राइक्रोफ्ट/एपी

सिड्नी (अस्ट्रेलिया) १ वैशाखः अस्ट्रेलियाको सिड्नीस्थित एक व्यावसायिक भवनभित्र मानिसहरूलाई आतंकित पार्ने गरी छुरा प्रहार भएको छ। उक्त घटनामा कम्तीमा पाँच जनाको मृत्यु भएको प्रहरी र स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रधानमन्त्री एन्थोनी अल्वानिजले पनि सपिङ मल (किनमेल केन्द्र)मा भएको आक्रमणमा ‘केही व्यक्ति हताहत भएको’ पुष्टि गरेको सञ्चारमाध्यम एएफपीले जनाएको छ ।

त्यहाँ एक नौ महिनाको बच्चासहित कैयौँलाई छुरा प्रहार गरिएको प्रत्यक्षदर्शीले बताएका छन् । बोन्डी जंक्सनस्थित वेस्टफिल्ड मलभित्र आक्रमणको घटनासँगै मानिसको भागाभाग भएको थियो ।

प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिई व्यापक कारबाही गरेको छ । न्यू साउथ वेल्स एम्बुलेन्स सेवाले आक्रमणकारी ठानिएका एक जना व्यक्ति प्रहरी कारबाहीमा मारिएको जनाएको छ । 

Kids Festival 2022
kanti aarogya hospital

प्रहरीले स्थानीय समयअनुसार अपराह्न ४ बज्नै लाग्दा एक व्यक्तिलाई गोली हानिएपछि अवस्था संवेदनशील बनेको जनाएको छ । आक्रमणका घटना जारी रहेको भन्दै सर्वसाधारणलाई उक्त क्षेत्रतर्फ जान रोक लगाइएको छ ।

घटनास्थलबाट मानिस भागिरहेको देखिने खालका तस्वीर तथा भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । घटनास्थल क्षेत्रमा दर्जनौँ एम्बुलेन्स र प्रहरीका गाडी रहेका सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्वीरमा देखिन्छ । भिडियोमा एक जना पुरुषले ठूलो खालको चक्कु लिएर आक्रमण गर्न खोजेको पनि देखिन्छ । -उकालो डटकमबाट