सांकेतिक तस्विर
नेपालगन्ज ३१ जेठ : पछिल्लो १० महिनामा मात्रै १,२२५ जनाले नेपाली नागरिकता त्याग गरेको गृह मन्त्रालयले जनाएको छ। गत साउनमा सुरु भएको यो आर्थिक वर्षको १० महिनामा देशभरिका जिल्ला प्रशासन कार्यालयहरूबाट नागरिकता त्याग गर्नेहरूको सङ्ख्या अघिल्लो वर्षको भन्दा पाँच गुणाले बढी छ । अघिल्लो आर्थिक वर्ष नेपाली नागरिकता त्याग गर्ने २३७ जना थिए ।
नेपालमा श्रम र आप्रवासनको अध्ययन गर्दै आएका जीवन बानियाँ नेपालबाट बर्सेनि ठूलो सङ्ख्यामा मानिसहरू बाहिरिने क्रम तत्काल रोकिने सम्भावना नदेखिएको बताउँछन् । ‘जुन तरिकाले हाम्रो बजेट बनिरहेको छ । आर्थिक वृद्धि नै ४ अङ्क हाराहारीको मात्रै छ । ऋण र अनुदानमा हाम्रा परियोजना निर्भर छन् त्यस कारण केही समय लाग्छ एक दशकमा पनि गाह्रै होला जस्तो लाग्छ मलाई,’ बानियाँ भन्छन् ।
नेपालले वार्षिक एक लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राख्ने गरेको भए पनि अन्तर्राष्ट्रिय श्रम सङ्गठनको एक अध्ययनले वार्षिक पाँच लाख युवाहरू श्रम बजारमा आउने गरेको देखाएको छ । ‘हामीसँग जति युवाहरू श्रम बजारमा छन् त्यति रोजगारी हाम्रो श्रम बजारमा नहुनु नै प्रमुख कारण हो,’ युवाहरू बिदेसिनुको कारणबारे बानियाँ भन्छन् ।
बानियाँका अनुसार नेपालमा रोजगारी भए पनि जीविकोपार्जनका लागि पर्याप्त नभएका कारण पनि मानिसहरू विदेशिनेक्रम देखिन्छ । ‘कतिपय ठाउँमा तलब कम हुँदा पनि सामाजिक सुरक्षा राम्रो हुँदा मानिसहरू बिदेसिने क्रम अलि कम हुन्छ । तर, हाम्रोमा त्यसको पनि अभाव छ,’ उनी भन्छन् ।
नेपाली समाजले विदेशमा जाने कुरालाई पछिल्लो समय सामाजिक प्रतिष्ठाको विषय पनि बनाएको बानियाँको भनाई छ । ‘पछिल्लो समय युरोप, अमेरिका र अस्ट्रेलिया जाने विषय सामाजिक प्रतिष्ठाको विषय बनेर आयो त्यसलाई परिवारले पनि प्रतिष्ठा ठान्ने अवस्था भयो,’ उनी भन्छन्।
यो पनि पढ्नुहास् १० महिनामै १२२५ जनाले त्यागे नेपाली नागरिकता
‘हामीले गरेको अध्ययनहरूमा छिमेकबाट पनि गएको छ, साथी पनि गएको छ त्यसकारण म पनि जानुपर्छ भनेर पनि मानिसहरू विदेश गइरहेको देखिन्छ ।’ आप्रवासनबारे अध्ययन गरिरहेका बानियाँ ‘नेपालमै केही हुन्छ भन्ने आशा मानिसहरूले गुमाउँदै गएका कारण पनि बिदेसिने क्रम बढेको’ बताउँछन् ।
गन्तव्य देशहरूको नीतिमा पनि यसले फरक पार्ने विज्ञहरूको भनाई छ । नेपालबाट स्थायी बसोबासका लागि खाडी राष्ट्र, चीन, कोरिया भन्दा युरोप, अमेरिका, क्यानडा र अस्ट्रेलिया जाने क्रम धेरै देखिएको बानियाँ बताउँछन् ।
‘गन्तव्य देशहरूमा सिर्जना हुने अवसर, भिसा नीतिले पनि भूमिका खेल्छ,’ उनी भन्छन् ।
नेपालका जिम्मेवार निकायहरूले मानिसहरू देश छोडेर बाहिरिने क्रम रोक्नका लागि आवश्यक रणनीतिहरू बनाउन नसकेको बानियाँको भनाई छ ।
नागरिकता त्याग गर्ने प्रक्रिया के छ ?
नेपाल नागरिकता नियमावलीमा नागरिकता त्याग सम्बन्धी कार्यविधि तोकिएको छ । जस अनुसार नेपालमा भएका नागरिकले जिल्ला प्रशासन कार्यालय र विदेशमा भएकाले नेपाली दूतावास वा महावाणिज्य दूतावासमा निवेदन दिनुपर्ने व्यवस्था छ ।
गृह मन्त्रालयका अनुसार अधिकांश नेपालीहरूले जिल्ला प्रशासन कार्यालयबाटै नागरिकता त्यागको प्रक्रिया अघि बढाउने गरेका छन् । यस्तो निवेदनसँगै आफूले प्राप्त गरेको नेपाली नागरिकताको सक्कलप्रति पनि बुझाउनुपर्छ । प्रमुख जिल्ला अधिकारीले नागरिकता त्याग सम्बन्धी सूचना दर्ता किताबमा राखेपछि नेपाली नागरिकता समाप्त हुने नियम छ ।