अस्ट्रेलियामा पहिलो पटक ‘ढिडो’ को स्वाद चखाउने रेस्टुरेन्ट व्यवसायी राजमानको निधन


सेतोखरी सेतोखरी   आइतबार, भदौ २३, २०८१
अस्ट्रेलियामा पहिलो पटक ‘ढिडो’ को स्वाद चखाउने रेस्टुरेन्ट व्यवसायी राजमानको निधन

सिड्नी २३ भदौ : अस्ट्रेलियामा पहिलो पटक ‘ढिडो’ को स्वाद चखाउने रेस्टुरेन्ट व्यवसायी राजमान थकालीको निधन भएकोछ ।

अस्ट्रेलियाको नेपाली समाजमा रेष्टुरेन्ट व्यवसायीको रूपमा चिरपरिचित ५० वर्षिय थकालीको शनिबार उपचारको क्रममा सिड्नीमा निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

स्वर्गीय थकाली लामो समयदेखि फोक्सोको रोगबाट पिडीत थिए । उनका श्रीमती र दुई छोरा छन् । 

नेपालबाट २८ वर्षअघि अस्ट्रेलिया पढ्न गएका राजमान थकाली सिड्नीको मुग्लान रेष्टुरेन्टका सञ्चालक तथा सहारा क्लव अस्ट्रेलियाका संस्थापक समेत हुन् । 

उनी १९९६ मा अध्यनका लागि अस्ट्रेलिया गएका थिए । उनी सन् २०११ देखि रेष्टुरेन्ट व्यवसायमा लागेका थिए ।

सिड्नीको टाउनहल र रक्डेलमा उनको रेष्टुरेन्ट छ । अस्ट्रेलियामा पहिलो पटक ‘ढिडो’ को स्वाद चखाउने रेस्टुरेन्ट व्यवसायीका रूपमा पनि चिनिन्थे थकाली । 

उनी भन्ने गर्थे– ‘खाना बेचेर घाटा लाग्दैन ।’ उनले १६ वर्षको अनुभवपछि आफै रेष्टुरेन्ट व्यवसायमा लागेका थिए । यसैबीच, उनको निधनमा अस्ट्रेलियामा रहेका नेपालीहरुले गहिरो शोक व्यक्त गरेका छन् ।