०७४ साल चैतमा एकदिवसीय मान्यता पाएको नेपाल वरियतामा समावेश हुने खेल संख्या नपुगेका कारण रोकिएको थियो । एकदिवसीय वरियतामा नेपाली खेलाडी भने यसअघि नै समावेश हुँदै आएका थिए ।
आईसीसीले गएको जुन १ देखि नै लागू हुने गरी नेपालसहित स्कटल्याण्ड, नेदरल्याण्ड्स र युएईलाई उदाउँदा टिमको रुपमा वरियतामा राख्ने निर्णय गरेको थियो । यी चार देशलाई सहभागी गराउनका लागि आईसीसीले टेस्ट मान्यता प्राप्त शीर्ष १२ टिमको वरियतालाई विस्तार गरेको हो ।
तर आवश्यक ६ खेल नपुगेका कारण नेपाल र नेदरल्याण्ड्स वरियतामा समावेश भएका थिएनन् । नेदरल्याण्ड्सको भने खेल संख्या अझै पुगेको छैन ।
नेदरल्याण्ड्सले २०१७ मा सकिएको आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको उपाधि जितेर एक दिवसीय मान्यता पाएको थियो । यस्तै स्कटल्याण्ड, नेपाल र युएईले आईसीसी क्रिकेट विश्वकप छनोट, २०१८ मा शीर्ष तीनमा पर्न सफल एशोेसिएट राष्ट्रको रुपमा एक दिवसीय मान्यता पाएका थिए ।
कसरी पुग्यो नेपालको १० खेल ?
गएको असारमा नेदरल्याण्ड्ससँग दुई खेलको एकदिवसीय सिरिज १–१ को बराबरी गरेको नेपालले अहिले युएईसँग तीन खेलको सिरिज २–१ ले जितेको हो ।
दुई सिरिजमा गरेर ५ खेल खेलेको नेपालले एसिया कप छनोटमा युएईसँग खेलेको खेल पनि एकदिवसीय मान्यता प्राप्त खेल नै हो । यस्तै आईसीसी क्रिकेट विश्वकप छनोटमा एकदिवसीय मान्यता पाएपछि सातौँ स्थानका लागि नेदरल्याण्ड्ससँग भएको प्ले अफ खेल पनि एकदिवसीय नै मानिएको थियो ।
यी सबै जोड्दा ७ खेल पुगे पनि आईसीसी वरियतामा नेपालको खेल संख्या १० उल्लेख गरिएको छ । बाँकी तीन खेल कुन हुन त ?
क्रिकेट वेबसाइट क्रिकइन्फोका वरिष्ठ पत्रकार पिटर डेला पेन्नाका अनुसार ‘विश्वकप छनोटमा नेपालले एकदिवसीय मान्यता पाएका देशसँग खेलेका खेलेलाई अंक गणनाको एउटा आधारका रुपमा समावेश गरिएको हो ।’
उनकै भनाइअनुसार विश्वकप छनोटमा नेपालले एकदिवसीय मान्यता प्राप्त जिम्बावे, स्कटल्याण्ड र अफगानिस्तानसँग खेलेका खेललाई पनि समावेश गरिएका कारण १० खेल पुगेको हो ।
यसरी आउँछ वरियताका लागि अंक
आईसीसीको नियमअनुसार वरियतामा नयाँ थपिएका नेपालसहितका चार देशको वरियता क्रमले तालिकामा पहिलेदेखि नै रहेका टेस्ट मान्यता प्राप्त १२ देशको वरियतामा भने कुनै असर गर्ने छैन ।
वरियता तालिकामा खेल, प्राप्त अंक र रेटिङ अंक राखिएको हुन्छ । कुन देश अघि भन्ने मुख्य रेटिङका आधारमा छुटिन्छ ।
उदाहरणका लागि १० औँ स्थानमा रहेको अफगानिस्तानको अंक २ हजार ३ सय ९४ छ । ११ औँ स्थानमा रहेको जिम्बावेको अंक २ हजार ४ सय ९७ छ । अफगानिस्तान जिम्बावेभन्दा अघि हुनुको कारण उसको रेटिङ ६७ छ भने जिम्बावेको ५२ मात्र छ ।
पछिल्लो खेलको नतिजामा बढी अंक प्राप्त हुने गरेकाले खेल संख्या र अंकका आधारमा रेटिङमा भिन्नता हुने गरेको हो ।
रेटिङमा आफूभन्दा ४० अंकले अघि रहेको टिमलाई हराउन सकेमा अंक बढ्ने गर्दछ । हारेका खेलले अंक घट्नेछ भने जितेका खेलमा अंक बढ्नेछ । खेल बराबरी भएमा भने टिमको स्थानका आधारमा अंक बढ्ने या घट्ने हुन्छ ।
यसरी वरियताका लागि टिमको जम्मा अंकलाई खेल संख्याले भागा गरेर रेटिङ अंक दिइने गरिन्छ । यसैले १ सय ५२ अंक रहेको नेपालको खेल संख्या १० ले भागा गर्दा आउने १५ नै रेटिङ अंक बनेको हो ।
वरियताको १५ औँ स्थानमा रहेको नेपालको १० खेलमा १ सय ५२ अंक र १५ रेटिङ छ । १४ औँ स्थानमा रहेको युएईको १७ खेलमा २ सय ६३ अंक र १५ रेटिङ नै छ । १३ औँ स्थानमा रहेको स्कटल्याण्डको १६ खेलमा ५ सय ३५ अंक र ३३ रेटिङ छ ।
मान्यता प्राप्त देशले एक अर्काविरुद्ध खेल्ने हरेक खेलबाट टिमले वरियताका लागि चाहिने अंक पाउने छन् । जसमा सन् २०१५ को मे १ देखि ३० अप्रिल २०१७ सम्मका खेलको अंक भार ५० प्रतिशत र सन् २०१७ को मे १ यताका खेलको अंक भार १०० प्रतिशत हुने आईसीसीले जनाएको छ ।



भेरी अस्पतालभित्र कसरी भएको थियो आक्रमण ? (सेतोखरी एक्सक्लुसिभ भिडियो )
गायक रवि ओडको स्वर तथा शब्दमा ‘टुटी सक्यो मुटु’ सार्वजनिक
अदितीको रोमान्स