एपीएफ र प्रहरीको विजयी शुरुवात

पिएमकप भलिबल शुरु


एपीएफ र प्रहरीको विजयी शुरुवात

नेपालगन्ज: प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन नेपाल एपीएफ क्लव र नेपाल पुलिस क्लबले विजयी शुरुवात गरेका छन् ।

प्रधानमन्त्री कपको छैठौ संस्करणको उद्घाटन खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ३–१ सेटमा स्तब्ध पारेको हो । पाचौं संस्करणको विजेता एपिएफलाई पहिलो सेटमा आर्मी क्लबले २५–२३ ले हराएको थियो ।

पहिलो सेट हारेको एपीएफले त्यसपछि लगातार तीन सेट जित्यो । २७–२५, २५–१७ र २५–२३ ले विजयी हुँदै एपीएफ प्रधानमन्त्री कप ह्याट्रिक गर्ने बाटोमा अघि बढेको छ । जीतसगैं एपीएफकी रेशमा भण्डारी प्लेयर अफ द म्याच घोषित भइन् ।

एपीएफलाई प्रतियोगिताको दावेदार टीमको रुपमा हेरिएको छ । एपीएफले यसअघि दुई पटक प्रधानमन्त्री कप जितिसकेको छ । एपीएफले चालु आर्थिक वर्षमा सात वटा उपाधी जितेको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

पिएम कप अन्र्तगत आईतबारनै भएको अर्को खेलमा नेपाल पुलिस क्लबले होङ्गवान्जी न्यू डायमण्डलाई सोझो सेटमा पराजित गरेको छ । जीतसगैं पुलिसकी मनिषा चौधरी प्लेयर अफ द म्याच घोषित भइन् ।

नेपाल पुलिस २५–१८, २५–१६, २५–७ ले विजयी भयो होङ्गवान्जी न्यू डायमण्डमा प्रतिभा मालीको अभाव खट्कियो । प्रतिभाको स्थानमा १३ वर्षीया रिमा कुँवरले नेतृत्व गरेकीछन् । तर, नेपाली राष्ट्रिय महिला भलिबल टीमका कप्तान अरुणा शाहीसहित सलिना श्रेष्ठले नेपाल पुलिसका कमला पुन, उषा भण्डारी र पुनम चन्द, मनिषा चौधरी, कोपिला उप्रेतीको प्रहारलाई रोक्न सकेनन् ।

बाँके जिल्ला भलिबल संघले आयोजना गरेको प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको छैंठौ संस्करणको ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरेका थिए ।

प्रतियोगितामा पाँच वटा टीमको सहभागिता रहेको छ । एपीएफ, नेपाली सेना, नेपाल पुलिस क्लव, ह्वाङ्गवान्जी न्यू डायमण्ड र ५ नम्बर प्रदेशको नेपालगन्ज–६ ले प्रतिस्पर्धा गर्दैछन् । भारत, बंगलादेश, माल्दिभ्य र श्रीलंका टीम कोरोना भाइरसका कारण आउन नसकेको बाँके जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकुरीले बताए ।

एपीएफमा राष्ट्रिय टीमबाट खेलिरहेका रेशमा भण्डारी, हिरा केसी, निरुता ठगुन्ना, उषा विष्ट लगायतका बलिया खेलाडी छन् । बीच भलिबलतिर लागेकी बिनिता बुढाथोकी टीममा छन् । एपीएफका सरस्वती चौधरी र नेविका चौधरी घाईते भएकाले उनीहरुको यसपटक सहभागिता रहेन ।

यस्तै त्रिभुवन आर्मी क्लबमा तीन जना राष्ट्रिय खेलाडी छन् । सोफिया पुन, सुनिता खड्का र जानकी भण्डारीको प्रस्तुती एपीएफसामु कमजोर रह्यो । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । खेल लिगकम नकआउटका आधारमा हुनेछ । समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा प्रवेश पाउनेछन् ।

फाल्गुन २२ गते सम्म हुने छैठौं संस्करणको प्रधानमन्त्री कप महिला भलिवल प्रतियोगितामा प्रथम हुने टिमले दुई लाख, उपविजेतालाई एक लाख र तृतीय हुने टिमलाई ५० हजार रुपैयाँ पुरस्कार सहित ट्रफी दिने घोषणा गरिएको छ । उक्त प्रतियोगीता २०७० देखि नेपालगन्जबाट शुरूवात गरिएको हो ।

पहिलो संस्करण नेपाल पुलिस क्लब प्रथम, दोस्रो संस्करणमा एपीएफ, तेस्रो र चौथो संस्करणमा रेल्वे कलकत्ता भारत तथा पाचौं सस्करण एपीएफले जितेको थियो ।

राष्ट्रिय टिमका खेलाडीलाई सम्मान

भलिबलका राष्ट्रिय टिमका खेलाडीलाई सम्मान गरिएकोछ । नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागिता जनाउँदा नेपालगन्जलाई कर्मथलो बनाएर राष्ट्रिय टिमबाट खेलेका भलिबल खेलाडीलाई सम्मान गरिएको हो ।

भलिबल खेलाडी रेशम गुरुङ्ग, राकेश श्रीबास्तव, तीर्थमान श्रेष्ठ र राजुराज शाहीलाई सम्मान गरिएको संघ अध्यक्ष ठकुरीले बताए । सो बेला भलिबलको तत्कालिन भेरी अञ्चल टिम प्रथम वा फाईनलमा पुग्ने गर्दथ्यो ।