पुलिसलाई प्रधानमन्त्री कप उपाधि


पुलिसलाई प्रधानमन्त्री कप उपाधि

उपाधि चुमेपछि पुलिस क्लबसँग सामुहिक तस्बिर खिचाउँदै । सौजन्य तस्विरः समीरमान श्रेष्ठ

नेपालगन्ज:छैठौं प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले उचालेको छ । गतवर्ष उपाधि चुमेको सशस्त्रको एपिएफले यसवर्ष भने उपाधि चुम्न असफल भयो ।

बाँके जिल्ला भलिबल संघको आयोजनामा भएको लिग कम नकआउट प्रतियोगिताको सुरुवातीदेखि नै विजय यात्रा सुरु गरेको पुलिसले एपिएफलाई हराउदै उपाधि जितेकोहो ।

नेपालगन्ज रंगशालाको कबर्डहलमा बुधबार भएको फाईनल खेलमा पुलिसले एपिएफमाथि सहज जित निकालेको छ । सुरुवातबाट एपिएफमाथि नै हावी भएको पुलिसको प्रर्दशन अगाडी एपिएफ निरन्तर टिक्न नसक्दा उपाधिको लक्ष्यबाट चुकेको हो । उपाधि भिड्न्तमा पुलिसले एफिएफमाथी ३–० को सोझो जित निकालेको छ । पुलिसले पहिलो सेटमा २५–१६ सहज जित निकाल्दै राम्रो सुरुवात गरेको थियो । यस्तै दोश्रो र तेश्रो सेटमा पनि पुलिसले २५–१७ र २५–१७ को जित निकाल्दै ३–० को अग्रता बनाएको थियो ।

पुलिस र एपिएफबीचको फाईनल खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको थियो । साविकको उपाधी विजेता एपिएफलाई यसपटक उपाधि जित्न सहज भएन ।

Kids Festival 2022
kanti aarogya hospital

यस्तै बुधबार नै भएको अर्को खेलमा होङ्गवान्जी न्यू डायमण्डलाई तीन शून्यको सोझो सेटमा पराजित गर्दै त्रिभुवन आर्मीले तेस्रो स्थान हात पारेको छ । आर्मीले २५–२१, २५–२० र २५–२० को सेटमा होङ्गवान्जी न्यू डायमण्डलाई पराजित गर्दै तेस्रो भएको हो ।

प्रतियोगितामा वेष्ट प्लेयर प्रहरीकी उषा भण्डारी, वेष्ट स्पाइकर एपीएफकी निरुता ठगुन्ना, वेष्ट ब्लकर आर्मीकी संगम महोतो, वेष्ट सेटर प्रहरीकी कमला पुन, वेष्ट लिब्रो न्यू डायमण्डकी सलिना श्रेष्ठ र वेष्ट सर्वर प्रहरीकी मनिषा चौधरी पुरस्कृत भईन् ।

प्रतियोगिताको विजेता टोली नेपाल पुलिस क्लबले ट्रफी सहित नगद २ लाख रुपैयाँ प्राप्त गरेको छ, भने उपविजेता एपिएफले १ लाख र तेस्रो भएको त्रिभुवन आर्मी क्लबले ५० हजार प्राप्त गरेको छ ।

बाँके जिल्ला भलिबल संघले आयोजना गरेको प्रतियोगिताको विजयी टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश शिलवाल, छैठौं प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता संयोजक तथा प्रदेश सांसद कृष्ण केसी ‘नमुना, नेपालगन्ज उपमहानगरपालिका मेयर डाक्टर धवलसम्शेर राणा, उपमेयर उमा थापामगर, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठ लगायतले पुरस्कार प्रदान गरेका थिए ।

फागुनको १८ गते देखी सुरु भएको प्रतियोगिता पूर्वनिर्धारित कार्यतालिका भन्दा एकदिन अगावै गरिएको थियो ।

यसअघि प्रतियोगितामा भारत, बङ्गलादेश, श्रीलंका र माल्दिभ्सका शीर्ष क्लबका खेलाडीको सहभागिता हुने आयोजकले जनाएको थियो । तर, अन्तिम समयमा आएर विश्वव्यापी संक्रमण बनेको कोरोना भाइरसका कारण ती देशका शीर्ष क्लबका खेलाडीले यसपटक सहभागिता जनाउन नसकेको हो । प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ, होङ्गवान्जी न्यू डायमण्ड एकेडमी र प्रदेश ५ को नेपालगन्ज–६ टिमको सहभागिता रहेको थियो ।

यस्तै आयोजकले आगामी वर्षदेखि प्रतियोगिताको क्षेत्र विस्तार गर्ने बताएको छ । महिला भलिबललाई स्थापित गर्नमा महत्वपूर्ण भूमिका खेलेको प्रधानमन्त्री कप पूर्वप्रधानमन्त्री स्वर्गीय सुशिल कोइरालालको सम्मानमा स्थापना भएको थियो । पिएम कपले नेपालगन्जको पहिचान स्थापित गरेकोले आउने वर्षदेखि यसलाई अझ फराकिलो, व्यवस्थित र भब्यरुपमा आयोजना गर्ने छैठौं प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता संयोजक तथा प्रदेश सांसद कृष्ण केसी ‘नमुना’ले बताईन् ।