कपिलबस्तुमा १६, रुपन्देहीमा ६ र बर्दियामा १ जना थपिए
File Photo
नेपालगन्ज: प्रस्तावित लुम्बिनी प्रदेशमा एकैदिन २३ जना नयाँ संक्रमित भेटिएकाछन् । योसगैं नेपालमा कोरोना भाइरस संक्रमित संख्या १ सय ३४ पुगेको छ ।
सोमबार बेलुका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूचनाअनुसार नेपालमा एकैदिन २४ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । जसमा प्रस्तावित लुम्बिनी प्रदेशका बर्दिया, कपिलवस्तु र रुपन्देहीमा २३ जना संक्रमित फेला परेका हुन् ।
मन्त्रालयका अनुसार सोमबार बेलुका मात्रै कपिलवस्तुमा ६ जना, रुपन्देहीमा ६ जना र बर्दियामा १ गरी १३ जना नयाँ संक्रमित थपिएका छन् ।
उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले जानकारी दिए ।
जसमध्ये पछिल्लो पटक प्रस्तावित लुम्बिनी प्रदेशको बर्दिया जिल्लामा पहिलोपटक कोरोना भाइरस संक्रमित भेटिएको हो । बर्दिया राजापुर नगरपालिका–५ जयपुर कि ११ वर्षकी बालिकामा कोरोना संक्रमण पुष्टि भएकोछ ।
यस्तै सोमबार बेलुका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार कपिलवस्तुको यशोधरा गाउँपालिका– ८ र बुद्धभूमि नगरपालिका–७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
यसअघि सोमबार बिहान मात्रै कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रण देखिएको थियो । योसगैं कपिलवस्तुमा मात्र सोमबार १६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु यशोधरा गाउँपालिका ५ र बुद्धभूमी नगरपालिकाको ७ र १० वडा का १० जना पुरुषहरुमा कोरोना संक्रमण देखिएको हो ।
मन्त्रालयका सहप्रवक्ता डाक्टर अधिकारीका अनुसार १० जनामध्ये ९ जना १८ देखि ३४ वर्षीय पुरुषहरु छन्, भने एक जनाको भनेर उमेर खुलेको छैन ।
रुपन्देहीमा यसअघि एक जनामा संक्रमित देखिएकोमा सोमबार साँझ ६ जना थपिएको हो । सोमबार साँझ थपिएकोमा रुपन्देहीको सम्मरीमाइ गाउँपालिका–७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका–६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
यसबीच नेपालमा हालसम्म कोरोना संक्रमण भएका मध्ये ३३ जना निको भएर घर गएका छन् । आईतबार एकैदिन दुई जना कोरोना संक्रमित निको भएपछि नेपालमा कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या ३३ पुगेको हो ।
हालसम्म नेपालमा कोरोना भाइरस संक्रमण देखिएका ब्यक्तिहरुमध्ये कसैको पनि मृत्यु भएको छैन । सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उपचारार्थ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ ।