२६ बेडमा ६३ संक्रमित, डेण्टल अस्पतालमा कोरोना संक्रमित कोचाकोच


२६ बेडमा ६३ संक्रमित, डेण्टल अस्पतालमा कोरोना संक्रमित कोचाकोच

कोरोना संक्रमित रहेका नेपालगन्ज खजुरारोड स्थित लायन्स डेण्टल अस्पताल । तस्विरः दामोदर भण्डारी/ सेतोखरी

नेपालगन्ज: बाँकेको नरैनापुरबाट मङ्गलबार राती ल्याइ नेपालगन्जको लायन्स डेण्टल अस्पतालमा राखिएका कोरोना संक्रमितहरुलाई बुधबारपनि अन्यत्र सार्ने काम भएन ।

जिल्ला प्रहरी कार्यालय बाँकेको छेउमै अवस्थित लायन्स डेण्टल अस्पतालमा ६३ जना नरैनापुरका कोरोना संक्रमित राखिएकोछ । लायन्स डेण्टल अस्पतालमा २६ जना कोरोना संक्रमित राख्ने बेड भएपनि ६३ जना राखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्शन नरेश श्रेष्ठले बताए । बुधबार थपिएका बाँके नरैनापुरका ५ जनालाई समेत नेपालगन्ज खजुरा रोेड स्थित लायन्स डेण्टल अस्पतालमा राखिएको छ ।

यस लायन्स डेण्टल अस्पताललाई आइसोलेसन भनिएकोछ तर, भौतिक पूर्वाधार भने स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार छैन । ६३ जना संक्रमितहरुका लागि जम्मा दुई वटा शौचालय छ । संक्रमितहरुलाई शौचालय जान पालो समेत पाउन कठिन भएकोछ । उनीहरुको हेरचाहका लागि स्वास्थ्यकर्मीको समेत व्यवस्था छैन ।

क्षमता भन्दा दोब्बर बढि कोरोना संक्रमितहरुलाई कोचाकोच गरि एउटै भवनमा राखिएकोछ । बुधबार २६ जना बाहेक बढिलाई बाँकेको पिपरी स्थित कृषि विकास तालिम केन्द्रमा सार्ने भनिएपनि बाँके प्रशासनले स्थानान्तरण गर्न सकेन ।

नेपालगन्ज उपमहागनरपालिका वडा नम्बर १ का वडाअध्यक्ष प्रमोद रिजालले संक्रमितहरुलाई २६ जनाको बेडमा ६३ जना कोचेर राख्नु एकदमै दुखद् कुरा भएको बताए ।

वडाअध्यक्ष रिजालले स्थानीय बासिन्दाहरुले विरोध गरिरहेको जनाउँदै आफूलाई आफ्नै वडा परेकाले सम्हाल्न गाह्रो भएको जनाए । उनले भने ‘त्यसै त स्थानीय बासिन्दाले विरोध गरिरहेका थिए । सम्झाईबुझाई गरेर रोकिएको हो । स्थानीय बासिन्दाहरुले भनिरहेकाछन् ठिक छ संक्रमितहरुलाई राख्नु तर, जति क्षमता हो त्यती नै राख्नुस् बाँकीलाई अन्यत्र सार्नु प¥यो । होइन भने हामी आन्दोलनमा उत्रन्छौं ।’

स्थानीय बासिन्दाहरुले संक्रमितहरुलाई राखेकोमा विरोध गरेका छैनन् की भाग्न सक्ने भएकाले वरिपरि सुरक्षा ब्यवस्था कडा पार्न, जथाभाबि थुक्न नदिन, राम्रो खानपानको व्यवस्था मिलाउन समेत माग गरेकाछन् ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्शेर राणाले दमकल लगेर लायन्स डेण्टल अस्पताल भित्र र बाहिर सेनिटाइजर छर्किएको र दिनको चार पटक खानाको राम्रो व्यवस्था मिलाएको जानकारी दिए ।